२२ कार्तिक २०८२, शुक्रवार

तोडफोडमा संलग्न कार्यकर्तालाई दलहरुले सचेत गराउनु पर्छ : नगरप्रमुख बुढाथोकी

२२ कार्तिक २०८२, शुक्रवार
Image

मेचीनगर, २१ कात्तिक । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्न राजनीतिक दलका कार्यकर्तालाई सम्बद्ध दलले सेचत गराउनु पर्ने बताउनुभएको छ ।

मेचीनगरबाट प्रकाशित बोर्डरल्यान्ड राष्ट्रिय दैनिकको प्रथम वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज त्यस्तो बताउनु भएको हो  ।

‘भदौ २३ र २४ गते जेनजीहरुले तोडफोड गरौं भनेर कहिँकतै भनेका थिएनन्,’ उहाँले भन्नुभयो– ‘धुलाबारी र काँकरभिट्टामा आयोजना भएको जेनजीहरुको विरोध सभा शान्तिपूर्ण नै थिए । त्यहाँ कसैले पनि तोडफोड गरौं भनेका थिएनन् ।’

मेचीनगर नगरपालिका र निजी घरहरुमा भएको आगजनी र तोडफोड अस्वाभाविक रहेको जनाउँदै उहाँले भन्नुभयो– ‘राजनीतिक दलका कार्यकर्ता नै लागेर आगजनी र तोडफोड गरेको रिपोर्ट छ । यो प्रवृत्ति कहिलेसम्म दोहोरिन दिइरहने ?’

उहाँले आगजनी र तोडफोडमा संलग्नको पहिचान गरेर सम्बन्धित दलहरुले नै आफ्ना दोषी कार्यकर्तालाई सचेत गराउन माग गर्नुभयो ।

भदौ २४ गते आन्दोलनको नाममा नगरप्रमुख बुढाथोकीको मेचीनगर–९ स्थित निजी निवास समेत आगजनी र तोडफोड भएको थियो । हाल उहाँ विस्थापित भएर डेरामा बस्दै आउनु भएको छ । 

मेची उद्योग वाणिज्य संघको सभाहलमा पत्रिकाको सञ्चालक समितिको अध्यक्ष भीम कुँवरको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी, मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओली, प्रेस क्लव मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, पत्रकारहरु राजेन्द्र गौतम, सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला लगायतले बोर्डरल्यान्ड दैनिकको प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा पत्रिकाका सञ्चालक ओमप्रकाश खापुङ, सम्पादक झुलन रेग्मी, सम्बद्ध पत्रकार प्रकाश उप्रेती, दिलीप थापा लगायतको उपस्थिति थियो ।

गत वर्षदेखि इटाभट्टामा प्रकाशन कार्यालय स्थापना गरेर बोर्डरल्यान्ड दैनिक नियमित प्रकाशित हुँदै आएको छ । झापा जिल्लाभर वितरण हुँदै आएको पत्रिका मेचीनगरको हालको एक मात्र दैनिक पत्रिका हो ।