१४ वैशाख २०८१, शुक्रवार

पुस्तक परिचय

सुसेलीको एउटै पुस्तकमा सबै ‘झापाली श्रष्टा’

२५ चैत २०७९, शनिवार
Image

मेचीनगर, २५ चैत । झापामा कति साहित्यकार हुनुहुन्छ ? यसको उत्तर सहज छैन । तर, सुसेली साहित्यिक परिवार (सुसाप)ले २०७७ सालसम्मको समयलाई आधार मानेर एउटा पुस्तक नै प्रकाशित गरेको छ–‘श्रष्टा परिचय अंक’ । जसले झापाली श्रष्टाको परिचयलाई एउटै पुस्तकमा माला जसरी सजाएको छ ।

समयको कथा लेख्ने साहित्यकारकै इतिहास नलेखिनु बिडम्बना हो । बगिरहने समयलाई अक्षरमा उतारेर जीवन्त तुल्याउने सर्जकहरुले कति किताब लेखे र कतिले फुटकर रचना पत्रपत्रिकामा प्रकाशित गरे भन्ने कुनै लेखाजोखा छैन ।

सायद यही विषय खट्किएर होला, सुसेली साहित्यिक परिवारले २०७७ सालमा झापाली श्रष्टाको परिचय पुस्तिका प्रकाशित गर्यो । यसले एउटै किताबमा सबै श्रष्टाको संक्षिप्त परिचय खोज्न चाहनेका लागि सुविधा दिएको छ ।

मेचीनगरमा सक्रिय साहित्यकारको सानो समूहले कविता बाचन श्रृंखलाबाट सुरु गरेको सुसेली यात्रा आज वयस्क भइसकेको छ । वर्षेनी एउटा विशेषांक निकाल्ने र केही श्रष्टालाई पुरस्कृत गर्ने कर्मले संस्थाको गरिमा टाढा टाढासम्म सुवासित हुन थालिसकेको छ ।

सन्दर्भ ‘श्रष्टा परिचय अंक’को हो । सुसेली साहित्यिक परिवारले प्रकाशित गर्ने साहित्यिक पत्रिका हो ‘सुसेली’  र सुसेलीको पनि अठारौं वार्षिक कृति हो ‘श्रष्टा परिचय अंक’ ।

यसमा झापाका १७० जना साहित्यकारको परिचय समेटिएको छ । पुराना पुस्ताका गुरु चुडामणि रेग्मीदेखि नयाँ पुस्ताकी अन्विषा चापागाइँसम्मको छोटो चिनारी पुस्तकमा उल्लेख छ ।

प्रकाशक्यौलीमा साहित्यकार पुण्यप्रसाद खरेलले यो किताब तयार गर्न धेरै पसिना बगाउनु परेको उल्लेख गर्नुभएको छ । ‘कतिपय श्रष्टाहरु बडो हलुङसँग सहयोगी बन्नुभयो भने कतिपय श्रष्टाहरु सिमको किलो नै बन्नुभयो’–खरेलले किताबमै लेख्नुभएको यो भनाईले श्रष्टाको परिचय माग्न र खोज्न हिँड्दाको सास्ती झल्किन्छ ।

पुस्तकमा १७० जनाको परिचय छ । यद्यपि झापामा यति मात्रै साहित्यकार होइनन् । अरु थुप्रैको नाम छुटेको छ भने दिवंगत श्रष्टाको परिचय यसमा समेटिएको छैन । कहिलेदेखिका श्रष्टालाई समेट्ने भन्ने उल्झनले गर्दा दिवंगत श्रष्टाको परिचय समेटिन नसकेको पनि प्रकाशक्यौलीले स्पष्ट पारेको छ ।

झापाका श्रष्टा भनिसकेपछि दिवंगत श्रष्टाको पनि परिचय खोजिनु सुनमा सुगन्ध हुनेथियो । तत्काल स्रोत, साधन र जनशक्तिको सीमितताका कारण क्रियाशील साहित्यकारको परिचय मात्र समेटिए पनि भविष्यमा योजना बनाएरै सुसेलीले दिवंगत श्रष्टाको पनि परिचय प्रकाशित गरोस् । 

परिचयमा श्रष्टाको तस्वीर, कृतिहरु, जन्ममिति, वुवाआमा, जीवनसाथी र सन्तानको नाम, स्थायी ठेगाना, पेशा र सम्पर्क नम्बर सकभर छुटाइएको छैन । यो जानकारी एउटै पुस्तकमा पाइनु खोजकर्ताका लागि ठूलो सुविधा हो ।

किताब प्रकाशित नगरेका श्रष्टालाई पनि परिचयमा समेटिएको छ । को साहित्यकार हो र को होइन भन्ने खुट्याउन प्रकाशकहरुलाई पनि हम्मे परेको रहेछ । कम्तीमा एउटा कृति प्रकाशित गरिसकेको र दर्तावाल पत्रिकामा न्यूनतम् ६ वटा रचना प्रकाशित गरिसकेका श्रष्टालाई साहित्यकारको परिभाषामा समेट्ने गरी मापदण्ड बनाएर साहित्यकार खोजिएको खरेलले बताउनु भएको छ ।