झापा, ३१ भदौ । जेनजी आन्दोलनको दोस्रो दिन प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारीबाट हात उठाएको बेला थियो । भदौ २४ गते दिउँसो मेचीनगर नगरपालिकाको मुख्य प्रशासनिक भवनमा आन्दोलनकारी समूहले कब्जा जमाएका थिए । त्यहाँ तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आफ्नै सुरक्षा नहुने ठानेर भवन परिसरबाट काँकरभिट्टा फर्किएको थियो । आन्दोलनकारीले झोसेको आगोको लप्कामा भवन जलिरहेको थियो । सयौंको संख्यामा रहेका आन्दोलनकारी समूहको हातमा लाठी, तरवार, पेट्रोलको बोतल र सलाइको बट्टा थियो । उनीहरुमा आक्रोश र आवेग थियो । उनीहरु नगरपालिकाभित्रै पसेर कोठा कोठाबाट फर्निचर, कागजपत्र लगायतका सामान बाहिर निकालेर जलाउँदै थिए । हेर्दाहेर्दै नगरको भब्य र सुन्दर भवन दनदनी जलेर खण्डहर बनिरहेको थियो ।
ठिक त्यही बेला, मेचीनगरका नगर प्रहरी र दमकलको टोली भने कर्तब्यनिष्ट बनेर कार्यक्षेत्रमा डटिरहे, भागेनन् । दुई दर्जनको संख्यामा रहेका उनीहरु आन्दोलनकारीसँग भिडिरहे, सामना गरिरहे । आन्दोलनकारीलाई सार्वजनिक सम्पत्ति नजलाउन अनुनय बिनय गरिरहे । आन्दोलनकारीले उनीहरुको आग्रहलाई वेवास्ता गरे । नगरको मुख्य भवन जल्यो । दमकलका कर्मचारीले आगो निभाउन प्रयास गरेका थिए । आन्दोलनकारीले आगो लगाइदिने धम्की दिदै दमकललाई अघि बढ्न दिएनन् ।
त्यत्रो आन्दोलन, त्यत्रो आक्रोश, त्यत्रो आवेग र जे पनि हुनसक्ने प्रतिकूल परिस्थितिसँग जुध्दै नगर प्रहरी र दमकलका कर्मचारीहरुले दमकल, स्वास्थ्य शाखाको भवन, कृषि शाखाको भवन र नगरको सभा हल भने जोगाउन सफल भएका छन् । भिडेर होस् या आन्दोलनकारीलाई सम्झाएर, उनीहरुले नगरपालिकाभित्र रहेको लगभग आधाजति भौतिक संरचना जोगाएका छन् ।
मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगर प्रहरी र दमकलका कर्मचारीहरुको साहसले नै स्वास्थ्य शाखा, कृषि भवन, सभा हल र दमकल जोगिएको बताउनुभयो । उहाँले भन्नुभयो– “ज्यानको बाजी थापेर सार्वजनिक सम्पत्ति जोगाउन उहाँहरुले देखाउनु भएको साहस र वफादारिताको म हृदयदेखि सम्मान गर्दछु ।”
नगरप्रहरी प्रकाश बानियाँले मुख्य भवन जोगाउन आन्दोलनकारीलाई आग्रह गर्दा नमानेपछि स्वास्थ्य, कृषि र सभाहल जोगाउन आफुहरुले बल, बुद्धि र जुक्ति लगाएको बताउनुभयो ।
“कतिलाई सम्झायौं, कतिलाई धपायौं,” उहाँले भन्नुभयो– “नगरप्रहरीको टोलीले हातेमालो गरेर अरु भवनतिर जाने बाटो छेक्यौं । केही आन्दोलनकारीले हाम्रो आग्रहलाई मानेर बाटो छेक्न सघाए । त्यसपछि कृषि, स्वास्थ्य र सभाहल जोगाउन सफल भयौं ।”
आन्दोलनकारीको सामना गर्दै नगरको भौतिक संरचना जोगाउन ज्यानको पर्वाह नगरी खटिनेमा महिला नगरप्रहरी पनि थिए ।