१६ चैत २०८०, शुक्रवार

पाथीभरामा नरिवल फुटाएर पूजा गर्ने चलन फस्टाउँदै

२७ चैत २०७९, सोमवार
Image

विहानको ६:३० बजेको छ । हिउँ परेर जताततै सेताम्य छ । जता हेरे पनि सेतै हिउँ छ । यसो छानातिर हेरेर अन्दाज गर्दा करिब एक फिट बाक्लो हिउँ देखिन्छ । यसरी बाक्लो हिउँ पर्दा समेत घाम लागिरहेको यस्तो दिन दुर्लभ मानिदोरहेछ । हावा अत्यन्तै चिसो चलिरहेकोले मुटु कामिरहेको थियो । त्यति विहानै पनि माता पाथिभराको दर्शन गर्ने मानिसको घुइँचो लागेको थियो । मानिसहरु लामो लाइनमा चीसोको परवाह नगरी लामवद्ध भएका थिए । पाथिभरा देवीलाई पाठी, बोका बलिदिने र पूजा गर्ने प्रचलन रहेको भए तापनि आजभोलि यो प्रचलन विस्तारै कम हुँदै गएको देखियो । आज भोलि पाठी, बोका बलि दिने मानिसहरु छिटपुट रुपमा मात्र आउँदा रहेछन् । अहिले नरिवल फुटाएर पूजा गर्ने चलन फस्टाउँदै रहेछन् । ‘प्रसाद’ लैजाने भक्तजनहरुलाई फूल अक्षता आदि छुट्टै स्थानमा व्यवस्था गरिदिएको रहेछ । आफूलाई आवश्यक भए जति फूल, प्रसाद र अक्षता लिन पाइने रहेछ । माथि उल्लेखित दृश्य ताप्लेजुङ स्थित माता पाथीभरा महाङकाली देवी मन्दिरको हो । 

हामी २०७९ चैत्र ११ गते झापाको काँकरभिट्टाबाट पाथिभरा माताको दर्शन गर्ने उद्देश्य राखी प्रस्थान गर्‍यौं । करिव ९ घण्टा लामो यात्रापछि ताप्लेजुङको फुङलिङ बजार पुगियो । ‘नेपालमा विकास भएन’ भन्ने मानिसहरुको संख्या कम छैन । १०४ बर्षीय राणा शासनको अवधिमा विकासका कुनै कामहरु हुन सकेनन् । त्यो अवधिमा न त कतै बाटो बने न कतै पुल ।  ३० वर्षीय पञ्चायती कालमा महेन्द्र राजमार्गसहित अन्य केही राजमार्गहरु बनेका थिए । त्यसबेला हामी झापाबाट आठराइ सक्रान्ति पुग्न पैदल ५ दिन हिड्नु पथ्र्यो । तमोर नदी गड्तिरको गोरेटो बाटो कति ठाउँमा त डेढ दुई फिट चौडा बाटो समेत थियो । केही गरी त्यहाँबाट खसियो भने तमोर नदीमा विलय हुनुपथ्र्यो । ढाकर बोकेर, कर्कट पाता बोकेर हिड्ने एकमात्र बाटो त्यही थियो । वाध्यता थियो, ज्यानको बाजी राखेर ओहोर दोहोर गर्नुपथ्र्यो । आज झापाबाट आठराइ सक्रान्ति बजार पुग्न मात्र ६ घण्टा लाग्छ ।

त्यसैले विकास भएन भन्नु चाँहि गलत नै हो । सोचे जति भएन होला, भ्रष्टाचार नियन्त्रण भएन होला तर समग्रमा हेर्नुहोस् गाउँ गाउँमा विजुली बत्ती पुगेको छ र नपुगेका ठाउँमा धमाधम पुर्‍याउने काम भइरहेको छ । शुद्ध खानेपानी धेरै ठाउँमा पुगिसकेका छन् भने अन्य ठाउँमा पुर्‍याउने काम भइरहेको छ । गाउँ गाउँमा पक्की सडक पुगेको छ । पुल कल्भर्ट जताततै बनेको छ, बनाउने काम भइरहेको छ । 

ताप्लेजुङ फुङलिङबाट तल्लो फेदी, काफ्लेपाटी पुग्ने बाटोको स्तरोन्नति भइरहेकाले त्यसतर्फ जान फोर ह्विल गाडी चढ्नु पर्ने रहेछ । सो ठाउँबाट माथिल्लो फेदी जान सिढी निर्माण गरिएको रहेछ । सिढीका दुवैतर्फ रेलिङ निर्माण हुँदै गरेकाले समाएर हिड्न केही सहज भएको छ । सिढीका विभिन्न ठाउँमा फोहोर संकलन गर्न डस्टविन राखिएको छ तर मानिसहरुले डस्टविनको उचित प्रयोग गरेको देखिदैन । फोहोरलाई डस्टविनमा राख्नुको सट्टा बाटोमा यत्रतत्र फ्याँकेको देखिन्छ । हामी नेपालीहरुको चेतना कहिले आउला भन्ने महसुस त्यहाँ मैले गरें । तल्लो फेदी काफ्लेपाटीबाट माथिल्लो फेदी पुग्न करिव २ घण्टा हिड्नु पर्ने रहेछ । त्यहाँ बास बसेर विहान साढे तीन बजे टर्च लाइटको भरमा उकालो लागियो । अघिल्लो दिनसम्म बाटाभरि हिउँ नै हिउँ थियो रे । हाम्रो यात्राको दिन १ किलोमिटर माथिसम्म बाटोमा हिउँ विलाइसकेको रहेछ । 

शरीरमा बाक्लो कपडा, खुट्टामा बाक्लो जुत्ता मोजा लगाएर हिउँमा नचिप्लयोस् भनेर जुत्ता बाहिर पनि जुराफ लगाउनु पर्नेरहेछ । त्यहाँदेखि एक किलोमिटर माथिसम्म सेताम्य हिउँ देखिन्थ्यो र केही मानिसहरुले हिउँमा चिप्लिएर हातखुट्टा भाच्चिएको समेत देखियो भने केही मानिसहरु हिउँसँग रमाउँदै खेलेको, टिकटक बनाएको रोचक दृश्य देख्न पाइन्थ्यो । ज्यादै कठोरसँग हिड्नु पर्ने बाटो । त्यसपछि हिड्नु पर्ने बाटोमाथि ट्रष्ट लगाएकोले बाटोमा हिउँ थिएन र हिड्डुलमा सहज भएको थियो । माथिल्लो फेदीबाट तीन घण्टा उकालो सिढी चढेर गएपछि विहान ६:३० बजे पाथिभरा महाङ्काल देवीको दर्शन गर्ने ठाउँमा पुगियो । अचम्म त के लाग्यो भने अन्य मठ–मन्दिर प्रवेश गर्न आफूले लगाएका जुत्ता खोलेर दर्शन गर्ने नियम छ । तर त्यहाँ कपडाको जुत्ता लगाएर मन्दिर भित्र प्रवेश गर्न पाइने रहेछ । त्यो नियम मलाई चैं सकारात्मक लाग्यो ।  त्यस्तो हिउँमा जुत्ता खोलेर दर्शन गर्नुपर्ने नियम भएको भए दर्शनार्थीलाई अत्यन्तै कठिन हुने थियो  । मन्दिर घुमघाम, धुपबात्ती बालेर देवीको दर्शन र पूजा आजा गर्दा करिब २ घण्टा समय लाग्यो । त्यसपछि फिर्ने क्रममा त्यो दिन फिदिममा रहेको ‘अजिमा होटल’ मा बास बस्यौं । भोलिपल्ट विहान ७:०० बजे गाडीमा चढेर घरतर्फ प्रस्थान गर्‍यौं र बीच बीचमा विभिन्न ठाउँमा रमाइलो गर्दै घुम्दै फिर्दै सहज रुपमा काँकरभिट्टा घरमा आइपुगियो । 

मन्दिर व्यवस्थापन समिति वा सम्बन्धित निकायले अझ बढी सक्रियता देखाएर फुङलिङ ताप्लेजुङदेखि तल्लो फेदी काफ्लेपाटीसम्म छिटो भन्दा छिटो बाटो स्तरोन्नति गर्ने र सो ठाउँ देखि पाथिभरा मन्दिरसम्म दुबैतर्फ रेलिङ र ट्रष्ट लगाई बत्तीको व्यवस्था गर्न सम्पूर्ण पाथिभरा दर्शनार्थीहरुको तर्फबाट अनुरोध छ । यसो गर्न सकेमा दर्शनार्थीहरुलाई दर्शन गर्न केही सहज हुनेछ र  यो यात्रा स्मरण पाथिभरा दर्शनका लागि जाने जो कोहीलाई पनि सहयोगी होस् भन्ने अभिप्रायले प्रस्तुत गरेको हुँ । 

                                                 मेचीनगर—६, काँकरभिट्टा, झापा

 


लेखकको बारेमा
Image
नरेन्द्रप्रकाश सिटौला

उहाँ सामाजिक अभियान्ता हुनुहुन्छ