१३ जेठ २०८१, आइतवार

हाम्रो नेपालमा

जीविकाका लागि सडकमै गीत गाउन बाध्य दृष्टिविहीनहरु

२९ चैत २०७९, बुधवार
Image

झापा, २९ चैत । कक्षा १२ उत्तीर्ण दृष्टिविहीन जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकहरुमा ट्रयाकमा गीत गाएर नगद संकलन गरिरहेको भेटिनुहुन्छ । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उहाँले गाएको गीत सुनेपछि दाताको मन पग्लिन्छ र नगदै सहयोग गर्छन् ।

दृष्टिविहीन रोजिना खातुन पनि उसैगरी सडकमा गीत सुनाएर सहयोग संकलन गरिरहनु भएको छ । चार वर्षको छोरोलाई साथमै लिएर गीत गाउन हिँड्ने रोजिनाले कक्षा ८ सम्मको औपचारिक शिक्षा लिनु भएको छ । आँखाको ज्योति नभए पनि दर्शकलाई मन्त्रमुग्ध पार्न सक्ने उहाँसँग सुरिलो स्वर छ ।

झापाको विर्तामोड, दमक, धुलाबारी, भद्रपुर, चन्द्रगढी, सुरुंगा जस्ता सहरका चोक र गल्लीहरुमा गीत गाएर मागिरहेका दृष्टिविहीनको भिन्नाभिन्नै थुप्रै समूह देख्न पाइन्छ । उनीहरु सबैसँग एउटा सहयोगी हुन्छ । एउटा साउन्ड सिस्टम हुन्छ । एउटा नगद बोक्ने झोला र गीत गाउन चाहिने स्पीकर हुन्छ ।

दृष्टिविहीनहरु गायन प्रतिभा देखाउने रहरले सडकमा कार्यक्रम लिएर गएका होइनन् । पेट पाल्ने अर्को बिकल्प नभएपछि उनीहरु जीविकाकै लागि तातो घाम र बर्खे झरी छिचोल्दै सडकमा दिनभर गाउन बाध्य छन् ।

कचनकबल घर भएका जेठा मुर्मु अहिले ३५ वर्ष पुग्नुभयो । कनकाई माविबाट कक्षा १२ उत्तीर्ण उहाँले संगीतको डिप्लोमा कोर्स पूरा गर्नु भएको छ । गाउने सुरिलो स्वर भएका उहाँ संगीत प्रशिक्षकको रुपमा पनि चिनिनु हुन्छ ।

तर, नियतिले उहाँलाई हातमुख जोड्ने संघर्षको क्रममा सडकमै पुर्यायो । “पढेको पनि हो, संगीत पनि जानेको हो, तर जागिर कतै पाइएन,” मेचीनगरको धुलाबारी चोकमा गीत गाएर माग्दै गर्दा भेटिनु भएको उहाँ भन्नु हुन्छ–“श्रीमती र बालबच्चाहरु यही गीत गाएर पालिरहेको छु ।”

मुर्मु बिगत चार वर्षदेखि पत्नी र नौ वर्षको छोरासँग विर्तामोड–४ मा डेरा बस्दै आउनु भएको छ । पत्नी पनि दृष्टिविहीन नै हुन् । छोरा हाल विर्तामोडकै इडन गार्डेन अंग्रेजी आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेका छन् ।

कोरोना महामारी सुरु हुनभन्दा अघिसम्म मुर्मु सडकमा गीत गाएर माग्न जानु भएको थिएन । काँकरभिट्टाको महिला विकास सहकारी संस्थाको कार्यालयमा सञ्चालित संगीत कक्षामा उहाँ प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । उहाँसँग संगीत सिकेका थुप्रै बालबालिका अहिले राम्रा कलाकार बनिसकेका छन् ।

“लकडाउन सुरु भएपछि जिन्दगीको बेहाल भयो, त्यसअघि नै संगीत कक्षा पनि बन्द भइसकेको थियो,” मुर्मुले सकसका दिनहरु सम्झिदै भन्नुभयो–“परिवारको पेट पाल्न मुस्किलका दिन आएपछि मैले सडकमा गएर गाउने निधो गरेँ । अहिलेसम्म परिवारको भरणपोषण यसैबाट भइरहेको छ ।”

हरेक विहान डेरामै खाना खाएर उहाँ बाहिर निस्कनु हुन्छ । उहाँलाई सहरका चोक र गल्लीमा पुर्याउने जिम्मा एक जना सहयोगीले लिएका छन् । सिटी रिक्सा वा टेम्पो चढेर उनीहरु बाजाका सामानसहित निर्धारित चोकमा पुग्छन् । ट्रयाकमा मीठा मीठा गीत गुन्गुनाउँदा मुर्मुको वरिपरि झुम्मिने दर्शकले दया र सम्मान दुबै दृष्टिले नगद सहयोग गर्छन् । 

यसरी आर्थिक संकलनका लागि गीत गाउँदै भारतको दार्जीलिङसम्म पुगिसकेको बताउनुहुन्छ उहाँ । मुर्मु र उहाँको अर्को दृष्टिविहीन साथी दिनभरि आर्जेको नगद एकै ठाउँमा हिसाब गर्छन् । सहयोगी समेत उनीहरु चार जनाले आम्दानी बराबर बाँडेर लिने गरेका छन् ।

जेठा मुर्मु कहिलेकाहिँ एक दिनमै रु. दुई हजारसम्म कमाउने गरेको बताउनुहन्छ । आर्जेको यही नगदले डेराको भाडा तिर्ने, बालबच्चाको पढाई खर्च व्यहोर्ने र परिवारको खानपान धान्ने गर्दै आएको उहाँ बताउनु हुन्छ । 

हल्दिबारी घर भएकी २८ वर्षीया दृष्टिविहीन रोजिना खातुनको पारिवारिक कथा दर्दनाक छ । चारवर्ष अघि दृष्टिविहीन पति सुभाष लिम्बुले सौता भित्र्याए । अर्की पत्नी लिएर पति हिँडेपछि दुई नाबालक छोराको सम्पूर्ण जिम्मेवारी रोजिनाको एक्लो काँधमा आयो । 

उहाँको एउटा १२ वर्षको छोरो जुनकिरी आधारभूत विद्यालयमा कक्षा ४ मा पढिरहेको छ भने चार वर्षको अर्को छोरोलाई उनले साथमै लिएर सडकमा गीत गाउन हिँड्ने गर्नु भएको छ । दिनभरि एउटै थलोमा गीत गाउन बस्नु पर्दा चुलबुले छोरो टाढा नजाओस् भनेर उहाँले आफु र छोरालाई कम्मरमा सलले बाँध्ने गर्नु भएको छ । 

“त्यत्तिकै माग्दा कसैले केही दिदैन, पापी पेट भर्नै पर्यो,” विर्तामोडको हिकोला रोडमा गीत गाउँदै गर्दा भेटिनु भएकी उहाँले भन्नु भयो–“गीत गाएर मागेका छौं । कसैले केही जागिर दिदैन । काम पनि गर्नसकिने खालको पाइँदैन । कोठा भाडा तिर्नै पर्यो । दाल चामल किनेर खानै पर्यो । बच्चाको पढाई खर्च दिनै पर्यो ।”

झापाको पहिलो व्याचका एसएलसी उत्तीर्ण दृष्टिविहीन दिपक थापा नेपालमा दृष्टिविहीन र अपांगहरुले आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण नभएको बताउनुहुन्छ ।

“सडकमा मागेर हिँड्नु राम्रो होइन, तर यसो गर्नु दृष्टिविहीनहरुको बाध्यता हो,” विर्तामोड अपांगता स्वावलम्बन संस्थाका अध्यक्ष समेत रहनुभएको थापा भन्नुहुन्छ–“पेट छ, खान मन लागिहाल्छ । घरमा खानेकुरा केही पनि छैन । बाँच्नका लागि बाध्य भएर तातो घाममा पसिनाले निथ्रुक्कै भिजेर दृष्टिविहीन भाइबहिनीहरु गीत गाएर माग्न बाध्य छन् । यो कसैको पनि रहर होइन ।”

रोजगारी नपाएका र विहेवारी पश्चात आर्थिक संकट झेलिरहेका दृष्टिविहीनहरु प्रायः सडकमा गीत गाएर माग्नुपर्ने बाध्यतामा परेको उहाँको भनाई छ । राज्यले दृष्टिविहीनहरुका लागि तालिमको सीमित अवसर प्रदान गरे तापनि तालिम पछि उनीहरुलाई स्वरोजगार बन्न चाहिने पूँजी र बजारको प्रबन्ध नगरेको थापाले गुनासो गर्नुभयो । बेरोजगारी भत्ता राज्यले दिने हो भने कोही पनि माग्न नहिँड्ने उहाँ बताउनुहुन्छ ।

झापा नेत्रहीन संघकी अध्यक्ष यशोदा बराल दृष्टिविहीनको स्वरोजगारीका लागि संघले स्थानीय तह र संस्थाहरुसँग मिलेर विभिन्न तालिम दिलाउने गरेको बताउनुहुन्छ । कनकाई नगरपालिकाले उनीहरुलाई उद्यमी बनाउन बीऊपूँजी समेत दिएको उल्लेख गर्दै अध्यक्ष बरालले विभिन्न शीपमूलक र आयमूलक तालिममा दृष्टिविहीनहरुलाई समावेश गरिदै आएको जानकारी दिनुभयो ।

“तालिम दिएर मात्र नपुग्दोरहेछ, हामीले सिकेको शीपले रोजगारको अवसर पाउनु पर्यो,” उहाँ भन्नुहुन्छ–“हामीले उत्पादन गरेका बस्तुहरुको बजारिकरणमा पनि ठूलो समस्या छ । दृष्टिविहीनले बनाएका अगरबत्ती, फिनेल, जुत्ता चप्पल जस्ता सामान नबिक्ने समस्या पनि छ ।”

नेत्रहीन युवा संघको झापा शाखा अध्यक्ष दिलकुमार राजबंशी सडकमा माग्न विवश दृष्टिविहीनहरुको बढ्दो संख्याले मुलुकमा दृष्टिविहीनहरुको अवस्था नाजुक रहेको सावित हुने बताउनुहुन्छ । “कतिपय साथीहरु सडकमा गीतको माध्यमबाट माग्न गइरहनु भएको छ, यसरी जानु नपरोस् भनेर प्रयास गरिरहेकै छौं,” झापा नेत्रहीन संघको कोषाध्यक्ष समेत रहनु भएको राजबंशी भन्नुहुन्छ–“जेठा मुर्मु जस्तो पढेलेखेको सक्षम साथी पनि सडकमै पुग्न बाध्य हुनुभएको छ । सडकमा पुग्नुपर्ने मूल कारण चाहिँ राज्यको वेवास्ता हो ।”

राज्यले दृष्टिविहीनहरुलाई वर्गीकरण गरी तीन तहको परिचयपत्र प्रदान गर्दै आएको छ । रातो, नीलो र पहेलो रंगको कार्ड उनीहरुले पाउने गरेका छन् । पूर्ण दृष्टिविहीन र अल्पदृष्टि भएका आधारमा राज्यबाट उनीहरुले पाउने मासिक भत्ताले जीविका चलाउन सम्भव छैन । पूर्ण दृष्टिविहीनलाई सरकारले मासिक रु. चार हजार भत्ता दिदै आएको छ । 

कतिपय दृष्टिविहीनहरु अन्तरनिहीत प्रतिभाका कारण राष्ट्रिय व्यक्तित्व समेत बन्नुभएको छ । चर्चित वक्ता तथा साहित्यकार रमेश प्रसाई र प्रसिद्ध गायिका मेनका पौडेल झापा झापा नेत्रहीन संघकै सदस्य हुनुहुन्छ । दुबैले झापामै माध्यमिक तहको शिक्षा र संगीतको अध्ययन पूरा गर्नुभएको हो ।

संघको तथ्यांक अनुसार झापामा ११५ जना संघकै सदस्य रहेका छन् । सदस्यमध्ये पाँच जना स्नातकोत्तर तह उत्तीर्ण, ३० जना स्नातक र अधिकांश एसईई तहका छन् । निरक्षरको संख्या ज्यादै कम छ । संघमा सदस्य नरहेका समेत जोड्ने हो भने झापामा दृष्टिविहीनको संख्या दोब्बर रहेको अनुमान गरिन्छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।