६ असार २०८१, बुधवार

आफ्नै देश बिरानो

पुल नबन्दा आफ्नै देश आउजाउ गर्न सक्दैनन् मेचीपारिका नेपाली

१२ वैशाख २०८०, मङ्गलवार
Image

झापा, १२ वैशाख । पूर्वीनाका काँकडभिट्टाबाट १५ किलोमिटर दक्षिण मेची नदीको किनारै किनार गएपछि डेढ सय जनसंख्या रहेको दुईवटा टापु पुगिन्छ । जसलाई ग्वालाबस्ती र सिसौडाँगी भनेर चिनिन्छ ।

नेपाल र भारतको सीमा नदी मानिएको मेची पारिको भू–भागमा रहेको ग्वालाबस्तीमा तीन पुस्तादेखि गाईपालन र खेतीपाती गर्दै आएका यादव समुदायको बाहुल्य छ । नजिकैको सिसौडाँगीमा सन्थाल र राजबंशी समुदायको बाहुल्य छ । 

मेचीनगर नगरपालिकाको वडा नं. १५ मा रहेको दुई टापु वस्तीमा पहिलोपल्ट पुग्नेहरुलाई ती भू–भाग नेपालको हो भन्ने थाहा पाउँदा अनौठो लाग्ने गर्छ । नेपाली नागरिकता र मतदाता परिचय पत्र बोकेका त्यहाँका आदिबासी नेपालीहरु दशगजाको जंगे सीमास्तम्भ रुघेर बसिरहेका सिपाही जस्तो भान हुन्छ ।

कृषि र चिया मजदुरी पेशा गर्दै आएका वस्तीका अधिकांश बासिन्दा दैनिक किनमेलका लागि भारतीय हाटबजार पुग्छन् । बिरामी हुँदा उपचार गर्न र बारीमा फलेको तरकारी बेच्न भारत जान बाध्य स्थानीयबासी आफ्ना बालबालिका पढाउनका लागि समेत भारतीय विद्यालय पठाउँछन् ।

भौगोलिक विकटताका कारण मेची वारिको कालिकाझार, भिन्डीवस्ती र फडानी वस्तीका बासिन्दासँग मेची पारिको वस्तीका बासिन्दाको विरलै आउजाउ हुन्छ । मातृभाषा बोल्न रुचाउने त्यहाँका कतिपयलाई नेपाली भाषा राम्ररी बोल्न आउँदैन ।

मेची नदीले पूर्वी किनारमा अलग्याएको र राज्यले कुनै सुख सुविधा पुर्याउन नसकेको त्यहाँका बासिन्दाले मेची नदीमा पुल बनाउन बिगत ३२ वर्षदेखि एकोहोरो माग राख्दै आए । हरेक चुनावमा पहिलो आश्वासन नै मेचीमा पुल बनाउने हुने गरेको छ । व्यवस्था फेरियो, चुनाव कति आए गए, तर मेची पारिको टापु वस्तीलाई मूल भू–भागसँग जोड्नका लागि राज्यले एउटा झोलुंगे पुल समेत बनाएन ।

वि.सं. २०४८ सालको संसदीय चुनावमा झापा क्षेत्र नं. ३ बाट बिजयी बन्नु भएको राधाकृष्ण मैनालीले भोट माग्न मेची पारिको दुबै बस्तीको घरघरै पुग्दा मेची नदीमा पुल हालिदिने आश्वासन दिएको सम्झिनुहुन्छ ८२ वर्षीय राजेन्द्र यादव । त्यसपछिको अर्को संसदीय चुनावहरुमा बिजयी बन्नु भएको देवीप्रसाद ओझा, नरेन्द्रविक्रम नेम्वाङ, रविन कोइराला र राम कार्कीबाट समेत वस्तीलाई जोड्न मेचीमा झोलुंगे पुल बनाइदिने आश्वासन नै पाएको उहाँ बताउनुहुन्छ ।

“राधाकृष्ण मैनालीले चुनाव जितेर मेचीमा पुल हालिदिन्छु भन्नु भएको थियो,” वयोवृद्ध यादवले भन्नुभयो–“अस्ति भर्खरै विश्वप्रकाश शर्मा पनि भोट माग्न आउँदा पुल नै बनाइदिन्छु भन्नुहुन्थ्यो । खोई अहिलेसम्म बनेको छैन ।” पुल बनाइदिन्छु भनेर भोट माग्ने नेताहरु फर्केर कहिल्यै नआएको यादवले गुनासो गर्नुभयो ।

त्यहाँको मेची नदीमा बर्षौदेखि झोलुंगे पुल बन्ने कुरा कथा जस्तै भएको छ । ग्वालावस्तीमै जन्मे हुर्केका ६४ वर्षीय राजकुमार राया गाउँ छाडेर बसाई हिँड्नु भयो । ग्वालाबस्तीमा राज्यको कुनै सुविधा नपुगेका कारण मेची वारिको कालिकाझार नामक गाउँमा उहाँ सपरिवार बसाई सर्नु भएको हो ।

“नेपालतिर आउने सडक छैन, मेची नदीमा एउटा पुल पनि बन्दैन भने कसरी बस्नु त्यस ठाउँमा ?,” बसाई हिँड्नुको कारण बताउँदै राया भन्नहुन्छ–“आफ्नो बारीमा फलेको सागसब्जी नेपालतिर ल्याउँदा पनि इन्डियाबाट ल्याएको हो भनेर सुरक्षाकर्मीले सोध्छन् ।”

त्यहाँका बासिन्दासँग नेपाली नागरिकता, जग्गा धनीपूर्जा र नेपाली मतदाता परिचयपत्र छ । तर, नेपालको संघीय, प्रदेश र स्थानीय गरी तीन तहकै सरकारले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र अनुदान लगायतका कुनै पनि सुविधा पुर्याउन सकेको छैन । सरकारले ग्वालाबस्ती र सिसौडाँगीमा स्वास्थ्य विमाको सुविधा पनि पुर्याउन सकेको छैन ।

मेची नदीमा पुल बनिदिए टापु गाउँका बासिन्दालाई नेपालतिरको आउजाउ सहज हुने स्थानीयबासीको अपेक्षा छ । मुलुकमा संघीय गणतन्त्र स्थापना भएयता मेचीनगर नगरपालिकामा दुई कार्यकाल जनप्रतिनिधि निर्वाचित भइसक्दा समेत स्थानीय तहले आफ्नो वडा नं. १५ को अभिन्न अंगको रुपमा रहेका ती गाउँलाई जोड्न झोलुंगे पुल बनाउन सकेनन् । दुईपटककै स्थानीय चुनावमा राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा मेची नदीमा झोलुंगे पुल बनाउने बुँदा लेख्न छुटाएका थिएनन् ।

पुल नबन्दा स्थानीयबासीले शिक्षा, स्वास्थ्य र सुरक्षा जस्तो अति महत्वपूर्ण राज्यको सुविधा उपभोग गर्न पाएका छैनन् । ग्वालाबस्तीका ४२ वर्षीय मोतिलाल यादवले मेची नदीमा पुल नहुँदा स्वदेशमा उपचार पाउनबाट वञ्चित हुनु परेको छ ।

दुई वर्षदेखि मिर्गौलामा समस्या आएपछि ओछ्यानमा थला पर्नुभएको उहाँ पछिल्लो छ महिनादेखि दाहिने हात र खुुट्टा नचल्ने पक्षघातको रोगबाट समेत प्रताडित हुनुहुन्छ । उहाँको गत महिनादेखि बोली समेत बन्द भएको छ । भूगोलले नेपालभित्र परे तापनि सुविधाका हिसाबले नेपाली बन्न नपाएको स्थानीयबासीको गुनासो छ ।

मेची नदीमा पुल बनाइदिए भद्रपुर, धुलाबारी र विर्तामोड गएर आफ्नै देशको स्वास्थ्योपचार सेवा लिन पाउने सपना कहिल्र्य साकार नभएको ग्वालाबस्ती टोल विकास समितिका अध्यक्ष अमूल यादवले बताउनुभयो ।

“भारततिर गयो भने सीमामा खटिएका भारतीय सुरक्षाकर्मीले नेपाली भनेर हेप्छन्,”, उहाँले भन्नुभयो, “नेपालतिर जाउँ भने मेची नदीमा पुल नै छैन । सरकारले सडक समेत बनाइदिएको छैन ।” आफ्नै मुलुकबाट उपेक्षित भएर बस्नुपर्दा पीडाबोध हुने गरेको उहाँले बताउनुभयो ।

बर्खा याममा मेचीमा बाढी आउने हुँदा नेपालसँग ग्वालाबस्तीको सम्पर्क नै विच्छेद हुने गरेको छ भने हिउँद याममा पनि बालुवाको बगर छिचोलेर एम्बुलेन्स पुग्न सक्दैन । नेपालले वेवास्ता गर्ने र भारतले नचिन्ने भएकाले त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर छ । बर्खामा जबर्जस्ती मेची नदी तर्ने प्रयास गर्दा केहीले अकालमा ज्यान समेत गुमाइसकेको स्थानीयबासीको भनाई छ ।

दशगजा नजिक बसोबास गर्दै आएका ग्वालाबस्तीका बासिन्दालाई भारतीय क्षेत्रको बतासी र अधिकारी बजार नजिक पर्दछ । सामान्य उपचार गर्नदेखि दैनिक उपभोग्य सरसामान किन्न समेत त्यहाँका बासिन्दा भारतीय बजार नै पुग्न बाध्य छन् ।

टापु गाउँमा कुनै स्वास्थ्य चौकी छैन । प्रहरी चौकी पनि छैन । एउटा वस्तीमा एक वर्षदेखि आधा वर्ष बिजुली बल्छ भने अर्को वस्ती बाहैमास अँध्यारो हुन्छ । राज्यको उपस्थितिको नाममा ग्वालाबस्तीमा मेची आधारभूत विद्यालय छ । 

राज्यको निशानीको रुपमा रहेको मेची आधारभूत विद्यालय विद्यार्थी र शिक्षक अभावमा बन्द रहेको अभिभावक कुमार राजबंशी बताउनुहुन्छ । कक्षा २ सम्म स्वीकृति पाएको सो विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकाले अहिले बन्द भइसकेको छ । शिक्षक नै विद्यालय आउन छाडेको उहाँले बताउनुभयो ।

“मेचीमा पुल बन्ने हो भने यहाँका बालबालिकाहरु खोला पारि नेपालको विद्यालय र कलेजमा पढ्न पाउँथे,” उहाँ भन्नुहुन्छ–“बाध्य भएर यहाँका विद्यार्थी दशगजा पारि भारतको विद्यालयमा पढ्न जान बाध्य छन् ।”

पुल नहुँदा नेपाली बजारमा स्थानीय उत्पादनहरु विक्रीका लागि लैजान सक्ने अवस्था छैन । आलु, काउली, पर्वल, खरबुजा, बैगुन, करेला, पर्व लगायतका तरकारी उत्पादनका लागि उर्वर ती वस्तीमा अचेल भारततिरकै किसानहरुले जग्गा भाडामा लिएर खेती गर्न थालेका छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।