२५ चैत २०८२, बुधवार

विर्तामोडमा कोशी–बंगाल पर्यटन उत्सव

२५ चैत २०८२, बुधवार
Image

झापा, २५ चैत । कोशी प्रदेशका पर्यटन, बन तथा वातावरण मंत्री भीम पराजुलीले प्रदेश सरकार भारतका सीमावर्ती प्रान्त पश्चिम बंगाल र बिहारका पर्यटकलाई आकर्षित गर्ने प्रबर्धनात्मक कार्यक्रममा अग्रसर रहेको बताउनु भएको छ ।

मंत्री पराजुलीले मंगलवार विर्तामोडमा सुरु भएको दुई दिवसीय कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सवको उद्घाटन गर्दै उक्त जानकारी दिनु भएको हो ।

भारतका ती प्रान्तका बासिन्दासँग नेपालको कैयन सांस्कृतिक परम्पराहरुमा समानता रहेको जनाउँदै उहाँले जनस्तरसम्म आत्मीय रहेको सम्बन्धलाई अब पर्यटन क्षेत्रमा जोड्ने बेला आएको बताउनुभयो ।

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई मुलुकको दीगो आर्थिक विकासको आधारस्तम्भ मानेर मुन्धुमसहित चार वटा पदमार्गको निर्माण गरेको उहाँले जानकारी दिनुभयो । पश्चिम बंगाल र बिहारबाट ठूलो संख्यामा पर्यटक भित्राउन सकिने सम्भावना रहेको मंत्रीले बताउनुभयो ।

कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सवमा नेपालका १८ वटा र भारतका १२ वटा गरी ३० वटा स्टल राखिएका छन् । होटल, घरबास, ट्राभल गाइड, हस्तकला, अर्गानिक खाद्य बस्तु लगायतका स्टलबाट पर्यटकलाई दुबै देशका पर्यटकीय स्थल र त्यहाँको विशेषता बारेमा जानकारी मिल्ने होटल संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिनुभयो ।

उत्सवमा सहभागी हुन भारतको पश्चिम बंगालको व्यावसायिक र सांस्कृतिक टोली यहाँ आएको छ । कलाकारहरुको टोलीले उद्घाटन कार्यक्रममा शास्त्रीय संगीतको भरत नाट्यम शैलीका रोचक नृत्यहरु प्रस्तुत गरेको थियो ।

कार्यक्रममा ताप्लेजुङ र पाँचथर क्षेत्रका चराहरुको खोज अनुसन्धान गरेर चरा ंसंरक्षण अभियन्ता देबेन्द्र खरेलले निर्माण गर्नु भएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

सो अवसरमा मन्तब्य ब्यक्त गर्दै कोशी प्रदेश पर्यटन वर्ष सम्बन्धी निर्देशन समितिका सहसंयोजक भवेश श्रेष्ठ, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा लगायतले पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा निजी क्षेत्रसँग सहकार्य गर्दै आएको भन्दै कोशी प्रदेश सरकारको प्रशंसा गर्नु भएको थियो ।