१८ चैत २०८२, बुधवार

मानवसेवा आश्रमद्वारा झापाको तीन स्थानमा ‘आमा सेमिनार’

१८ चैत २०८२, बुधवार
Image

झापा, १८ चैत  मानव सेवा आश्रमले पारिवारिक प्रेम, सामाजिक जिम्मेवारी र अभिभावकहरुप्रति सम्मान प्रकट गर्न झापाको तीन स्थानमा ‘आमा सेमिनार’ सञ्चालन गरेको छ ।

आश्रमले आज मेचीनगर नगरपालिकाको काँकडभिट्टा र बाहुनडाँगीमा विद्यार्थी र समुदाय लक्षित अलग अलग कार्यक्रम गरेको छ भने मंगलवार कनकाई नगरपालिकाको सुरुङ्गामा उक्त कार्यक्रम गरेको थियो ।

‘आमा सेमिनार’मा ठूलो संख्यामा वृद्धवृद्धा, युवा, विद्यार्थी, सामाजिक अभियन्ता, सरकारी निकायका प्रतिनिधि लगायतलाई सहभागी बनाइएको थियो ।

सेमिनारमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले समाजमा मातृस्नेह र पारिवारिक सम्बन्धलाई बलियो बनाउन तनाव व्यवस्थापन, खुशी र परोपकारी भावनाको आवश्यकता रहेको विषयमा उत्प्रेरक मन्तब्य व्यक्त गर्नु भएको थियो ।

उहाँले व्यस्त दैनिकीमा आइपर्ने पारिवारिक र सामाजिक दवाव झेल्न आन्तरिक तयारी नगरेका कारण दिनानुदिन मानसिक समस्याबाट ग्रसित हुनेको संख्या बढिरहेको र त्यसले रोग र आत्महत्या निम्त्याइरहेको धारणा व्यक्त गर्नु भएको थियो ।

आमा र बुवाप्रति सन्तानले हेरचाह र संरक्षण पुर्याउनु पर्नेमा जोड दिदै उहाँले अभिभावक र ज्येष्ठ नागरिकहरुलाई सडकमा वेवारिसे अवस्थामा पुग्न नदिन र उनीहरुप्रति सामाजिक उपेक्षा न्यूनीकरण गर्न ‘आमा सेमिनार’को अवधारणा अघि सारिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

आश्रमले नेपालका १९ जिल्लामा २८ वटा शाखामार्फत सडकमा आश्रित मानिसहरुको उद्धार, उपचार र पुनःस्थापना गरी मुलुकलाई सडकमानव मुक्त बनाउन पहल गरिरहेको जनाएको छ ।

काँकडभिट्टामा आज आयोजित सेमिनारमा सहभागी विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले आमा सेमिनारले ज्येष्ठ नागरिकहरुप्रति समाजमा सहयोगी बन्नुपर्ने जागरण ल्याउन सफल भएको बताउनुभयो ।

आश्रमको १९ औं शाखा झापाको मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन भइरहेको छ । उक्त शाखालाई निःशुल्क जग्गादान प्रदान गर्नु हुने ८१ वर्षीय रामबहादुर प्रधान र उहाँका दुई पत्नीहरु ७७ वर्षीया लक्ष्मी प्रधान र ६० वर्षीया पूर्णमाया प्रधानलाई कार्यक्रममा सम्मान गरिएको थियो ।