२२ असोज २०८१, मङ्गलवार

नेपाल चिनाउने मेची पारिको विद्यालयमा शिक्षक न विद्यार्थी

१४ वैशाख २०८०, बिहिवार
Image

झापा, १४ वैशाख (रासस) । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजबंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छिन् ।

सडक, सञ्चार, खानेपानी, सुरक्षा लगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर वडा नं. १५ को ग्वालाबस्ती र सिसौडाँगीका दर्जनौं बालबालिका लख्खीले जस्तै दिनहुँ सीमा पार गर्ने चुनौति खेप्दै पढ्नका लागि भारतीय विद्यालय जाने गर्छन् ।

सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाई छाडेर अहिले खेतीपाती र चिया मजदुरीमा लागेका छन् । ग्वालाबस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयमा कक्षा ३ उत्तीर्ण गरेका उनले मेची नदीको बाढीमा कुनबेला बगिएला भन्ने डरले पढाई नै छाडिदिएको बताए ।

डेढ सय जनसंख्या भएको ग्वालाबस्ती र सिसौडाँगी मेची नदी पारिको नेपाली भूभाग हो । जहाँ विकासका कुनै पूर्वाधार पुर्याउन सकिएको छैन । स्थानीयबासीले दशकौंदेखि सडक, पुल, शिक्षा, स्वास्थ्य, सुरक्षा र कृषिमा अनुदान माग गर्दै आएका छन् । तर, उनीहरुको आवाजको सुनुवाई भएको छैन ।

ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीको रुपमा वि.सं. २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो । कुनै समय चार जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ । विद्यालयको दुई वटा ब्लकमध्ये पहिलो ब्लकको एउटा कोठालाई कार्यालय बनाइएको छ । अरु तीन वटा कक्षा कोठा हुन् । चारवटै कोठा बन्द गरेर ताला लगाइएको छ ।

“शिक्षक आउँदैनन्, अनि विद्यार्थी पनि आउन छाडे,” विद्यालयका लागि पाँच कठ्ठा जग्गादान गरेको दाता परिवारका सदस्य कुमार राजबंशीले रासससँग भन्नुभयो–“नियमित विद्यालयमा आउनुहोस् भनेर धेरैपटक शिक्षकलाई सम्झायौं । तर, उहाँहरु मन लागे आउने र नलागे नआउने गर्नुहुन्थ्यो । अहिले त विद्यालय नै बन्द भयो ।”

उहाँका अनुसार सो विद्यालयमा विगतदेखि बाल कक्षा, कक्षा १ र कक्षा २ को मात्र पढाई हुँदै आएको थियो । पढाई नियमित नभएपछि पढिरहेका विद्यार्थीले पनि विद्यालय छाडे । जसमध्ये कोही भारतीय विद्यालयतिर पढ्न गइरहेका छन् भने अधिकांश खेतीपातीतिर लागेको उहाँले जानकारी दिनुभयो ।

विद्यालय चलुञ्जेल हरेक दिन विद्यार्थीले राष्ट्रगान गुञ्जाउँथे । अहिले बन्द रहेको कार्यालय कोठामा बाल कक्षाका विद्यार्थीलाई पकाएर खुवाउने एउटा थोत्रो ग्यास चुलो, प्लास्टिकका भाडाकुडा र एउटा स्टीलको दराज माकुराको जालोभित्र छोपिएको छ । कक्षा कोठामा डेक्स र बेञ्चहरु एउटा पनि छैनन् ।

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति लोकबहादुर दाहालले विद्यार्थीहरु आउन छाडेपछि मेची प्राथमिक विद्यालयको पठनपाठन प्रभावित भएको स्वीकार गर्नुभयो । उहाँले सेवा सुविधा धेरै पाइन्छ भन्दै विद्यार्थीहरु भारतीय स्कूलमा जाने गरेको बताउनुभयो । 

गत वर्षको अभिलेख अनुसार सो विद्यालयमा १६ जना विद्यार्थी पढ्थे । पढाउने एक जना शिक्षक भवराज जोशी काज सरुवा लिएर कालिका आधारभूत विद्यालयमा जानुभयो । अर्का बाल शिक्षक रेवति राजबंशीले शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेर आदर्श माध्यमिक विद्यालयमा जानुभयो । शिक्षा शाखाले विद्यालय नेतृत्वविहीन नहोस् भनेर मेची वारिको कालिका आधारभूत विद्यालयका शिक्षक युवराज ढकाललाई मेची प्राथमिक विद्यालयको प्रधानाध्यापक तोकेको छ । कालिकामा नियमित अध्यापन गराइरहनु भएको ढकाल मेची प्राथमिक विद्यालय जानु हुन्न ।

शिक्षकहरु एकपछि अर्को गर्दै बाहिरिए पछि विद्यालयको सम्पूर्ण रेखदेख कर्मचारी राजेश राजबंशीले गर्दै आउनु भएको थियो । उहाँ पनि मेची वारि भिन्डीबस्तीमा घर भएकाले मेची नदी तरेर नियमित विद्यालय नजाने गरेको स्थानीयको दावी छ ।

वि.सं. २०७० तिर मेची प्राथमिक विद्यालयमा ५० जना विद्यार्थीले पढ्ने गरेको र विकासका कुनै पूर्वाधार नबनेपछि स्थानीयले गाउँ नै छाडेर बसाई हिँड्दा विद्यार्थी घटेको विद्यालयका कर्मचारी राजेश राजबंशीले बताउनुभयो । उहाँले भारतीय सीमा सुरक्षा वल (एसएसबी)को दस्ता विद्यालयमै आएर ‘यो स्कुल नेपालको कि भारतको ?’ भनेर सोध्ने गरेको बताउनुहुन्छ । 

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति दाहालले ग्वालाबस्ती र सिसौडाँगी नेपालकै भूभाग हो भनेर चिनाउन समेत त्यहाँको एकमात्र विद्यालय बन्द गर्न नहुने धारणा व्यक्त गर्नुभयो । बरु विद्यालयलाई कसरी सुविधासम्पन्न बनाउन र विद्यार्थीलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर सोच्नु पर्ने उहाँ बताउनुहुन्छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।