१६ चैत २०८०, शुक्रवार

नक्कली धनीपूर्जा काण्ड

यसरी ठगिए मेची डाडाका स्थानीय

१५ वैशाख २०८०, शुक्रवार
Image

मेचीनगर, १५ वैशाख । छ महिनाअघि धनीपूर्जा प्राप्त गरेकी मेचीनगर–६ स्थित मेची डाडाकी सरस्वती बरालले ढेड महिनाअघि वडा कार्यालयमा एकृकीत सम्पत्ति कर तिर्न जाँदा मात्र आफु ठगिएको थाहा पाइन् ।

घटना ६ महिना अघिको हो । वर्षौँदेखि ३ धुर ऐलानी जग्गामा घर बनाएर बसेकी सरस्वतीले धनीपूर्जा पाएपछि आरामको सास फेरिन । धनीपूर्जा पाएपछि दंग पनि परिन् । धनीपूर्जाका लागि उनले ३५ हजार खर्च गरिन् । 

धनीपूर्जाको मेलोमेसो मिलाईदिने स्थानीय ७५ वर्षीय भुपध्वज दाहाल र सोही ठाउँका ७३ वर्षीय ज्ञानबहादुर गिरी हुन् । उनीहरुले ५० हजारमा धनीपूर्जा ल्याइदिने शर्त राखेका थिए । तर, धनीपूर्जाका लागि सरस्वतीले ३५ हजारमा मात्र कुरा मिलाइन । गिरी र दाहालले कहाँबाट धनीपूर्जा ल्याएर दिए उनलाई थाहा थिएन । 

त्यसको केहि दिनपछि उनीहरुले तिरो (कर) तिरेर ल्याइदिन्छु भनेर फेरि २५ सय मागे । तिरो तिरेर ल्याउने शर्तमा सरस्वतीले २५ सय दिएर पठाएका उनीहरु फेरि फर्किएर आएनन् । उनीहरुले कर तिरेको कागज नल्याएपछि सरस्वती आफै धनीपूर्जा बोकेर कर तिर्न वडा कार्यालय पुगिन् । 

वडामा धनीपूर्जा देखाएर कर तिर्न खोज्दा मात्र उनले थाहा पाइन् । त्यो धनीपूर्जा नक्कली हो भनेर । वडा कार्यालयका कर्मचारीले कम्युटरमा हेर्दा धनीपूर्जामा भएको कित्ता नम्बर फेला पारेनन् । र, अन्तमा नक्कली हो भन्ने प्रमाणित गरिदियोे । सरस्वती एकछिन त वेहोस नै भइन् । छक्कै परिन् । गिरी र दाहालले मलाई फसाए भन्दै रोइकराई गरिन् ।

यो त एउटा प्रतिनिधि पात्र मात्र हुन् । सरस्वती जस्ता ५९ जनाले वडा कार्यालयमा आएर धनीपूर्जा देखाए । ती सबै धनीपूर्जा नक्कली भएको पुष्टि भयो । 

गत चैत १७ गते वडामा गिरी र दाहाल विरुद्ध पीडितहरुले उजुरी दिए । वडाले मिलाउन नसकेपछि सम्बन्धित निकायमा जान वडाध्यक्षले सुझाव दिए । गिरी र दाहाल अस्वस्थ भएका कारण उनका छोराहरुले गाउँमा नै मिलाउन कोशिस गरे तर, सकेनन् । 

गिरी र दाहालले गाउँका करिव ७० जनालाई नक्कली धनीपूर्जा दिएका थिए । उनीहरुले पीडितहरुबाट धनीपूर्जा वापतको कसैलाई ६५ हजार, ५५ हजार, ५२ हजार, ३५ हजार, २५ हजार र १० हजार समेत लिएको बताइएको छ ।

गिरी र दाहालका परिवारले पीडितहरुलाई आधा रकम फिर्ता गरिदिने धनिपूर्जा लिने भनेर यहि बैशाख १० गते गाउँमै छलफल पनि भएको थियो । आधा रकम लिनेमा गाउँलेहरुले सहमति गरेका पनि थिए । तर, फेरि बैशाख २२ गते दिने भनेर म्याद बढाएपछि पीडित मध्यका पाँच जनाले बैशाख ४ गते वडा कार्यालयबाट उजुरी झिके । 

त्यसपछि बैशाख १२ गते गिरी र दाहाल विरुद्ध जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालयमा उजुरी दिए । 

उजुरी दिए लगत्तै गिरी पक्राउ परे । दाहाल केहि दिनदेखि अस्वस्थ भएर घरैमा आराम गरिरहेका छन् ।  पीडितहरुका अनुसार ७० जनाबाट उठाएको पैसा नक्कली धनीपूर्जा बनाएर ल्याइदिने दलाललाई दिएको बुझिएको छ । 

नक्कली धनीपूर्जा बनाएर घरमै ल्याइदिने गिरोहहरु धेरै रहेको शंका पीडितहरुको छ । सोहि ठाउँकी अर्का पीडित मीना खनालले छोरीलाई दिएको एक धुर र आफ्नो समेत गरेर ४ धुर ऐलानी जग्गा थियो । ६५ हजार दिएपछि ६ धुरको धनिपूर्जा बनाएर ल्याइदिएको उनको दावी छ ।

पीडितका अनुसार हामीसँग पैसा बुझ्ने गिरी र दाहाल हुन् । उनीहरुले पैसा कहाँ बुझाए हामीलाई थाहा नभएको बताउछन् । नक्कली धनीपूर्जामा पीडितको फोटो टासेर, सरकारी छाप र हस्ताक्षर किर्ते  गर्ने दलाललाई समेत पक्राउ गर्न पीडितहरुले माग गरेका छन् ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले पीडितहरुबाट नक्कली धनीपूर्जा संकलन गर्ने र पक्राउ परेकाबाट वयान लिने काम गरिरहेको छ ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।