११ मंसिर २०८२, बुधवार

झापामा तीन सयभन्दा बढी बालबालिकामा अजिटम

११ मंसिर २०८२, बुधवार
Image

झापा, १० मङ्सिर । जिल्लामा ३८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । जसमध्ये तीन सयभन्दा बढी बालावालिका रहेका छन् ।

अझै धेरै संख्यामा अटिजम प्रभावितहरु हुनसक्ने भएकाले खोजी अभियान भइरहेको करुणा फाउन्डेसनका झापा संयोजक निश्छल घिमिरेले बताउनुभयो । उहाँले २५४ जना बालक, ८२ जना बालिका र ४५ जना अन्य उमेर समूहमा अटिजमको समस्या देखिएको बताउनुभयो । 

“थप खोजी कार्य जारी छ, अझै बढी हुने सम्भावना छ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका विपन्न परिवारमा कसैको पहुँच पुगेकै छैन । कतिपय अभिभावक आफ्ना छोराछोरीको समस्या बारे खुल्न चाहँदैनन् ।”

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनको त्रिपक्षीय सम्झौता अनुसार झापा जिल्लाको १५ वटै पालिकामा गत बर्षदेखि अटिजम भएकाको पहिचान गर्ने र उनीहरुलाई स्वास्थ्य, शिक्षालगायत सरकारको मूल प्रवाहीकरणमा जोड्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा पहिचान भएका १३ हजार ८६३ जना अपाङ्गता भएका व्यक्तिमध्ये ३८१ जना वालवालिकामा अजिटमको समस्या रहेको बताउनुभयो । प्रदेश सरकारले पाँच बर्ष अगाडिदेखि अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सुरु गरेको थियो । जस अन्तर्गत सुरुवाती चरणमा प्रदेशका इलाम, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, पाँचथर, संखुवासभा जिल्लामा कार्यक्रम सञ्चालन गरिएको थियो । 

कार्यक्रमको सफल सञ्चालनको प्रारम्भिक चरण पूरा गरेर ती जिल्लाबाट दातृ संस्था फाउन्डेसन बर्हिगमन भइसकेको र सरकार आफैले कार्यक्रम चलाइरहेको छ । 

झापा, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लामा त्रिपक्षीय सम्झौता अनुसार गत बर्षदेखि अपाङ्गता पुनस्र्थापनाका लागि कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाई छ । उहाँले अघिल्लो बर्ष निःशुल्क स्वास्थ्य परीक्षणपछि पालिकामा एमआइएस प्रणालीमार्फत अपाङ्गता भएकाहरुको तथ्याङ्क सङ्कलन गरिरहेको बताउनुभयो । 

संयोजक घिमिरेले फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार गर्न स्वास्थ्य, शिक्षा, सशक्तिरकण, जीविकोपार्जन र समावेशीकरणमा काम गरिरहेको बताउनुभयो । 

जिल्लामा अटिजम भएका करिब सय जनालाई विर्तामोडको गरामनीस्थित महेन्द्ररत्न मावि र दमकको एक विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ ।  यी दुवै स्कूलमा अटिजम भएका बालबालिकाले पालिका स्तरबाटै निःशुल्क थेरापीसहितको सेवा पाइरहेका छन् । 

भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाले बजेट व्यवस्थापन गरेर अटिजम केयर सेन्टर सञ्चालनको तयारी गरिरहेका छन् भने अन्य पालिकाहरुले समेत समुदायमा छलफल सुरु गरेका छन् । यस्ता सेन्टर स्थापना भएमा अटिजम भएका बालबालिकालाई सेवा प्रदान गर्ने सजिलो हुने उहाँको विश्वास छ ।