मेचीनगर, १७ वैशाख । कपनको सरस्वती नगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न रहेको आशंकामा मेचीनगरका एक युवा पक्राउ परेका छन् ।
प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले धुलाबारीका विनोद विकलाई पक्राउ गरेको समितिको उच्च स्रोतले बताएको छ ।
श्रोतका अनुसार शनिबार राति बिर्तामोडबाट पक्राउ परेका अन्दाजी ३५ वर्षीय विक मेचीनगर–१० स्थित धुलाबारी निवासी रहेको बुझिएको छ ।
एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकारात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।
वैशाख ७ गते पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो । प्रहरी प्रभाग, कपनको टोली घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
तर, चिकित्सकहरुले मृत घोषित गरेका थिए । पोष्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार निरुको शरीरमा कम्तीमा १९ पटक छुरा प्रहार गरिएको थियो ।
हत्या भएको एक साताभन्दा बढी समय भइसक्दा पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै प्रशासनविरुद्ध आन्दोलन भइरहेको थियो । त्यहीबीच प्रहरीले शनिबार राति झापाबाट एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
पाण्डे झण्डै १० वर्षदेखि ‘निरु किचन’ चलाउँदै आएकी थिइन् । व्यवसाय राम्रो हुँदै गएपछि करिब तीन वर्षअघि उनी र श्रीमान् योगेन्द्र आचार्यले अर्को पसल पनि खोलेका थिए । अर्को पसल एक सय मिटरको दूरीमा थियो ।
(अनलाइन खवर)