८ वैशाख २०८१, शनिवार

पहिचान आन्दोलन चलेकै बेला लिङ्देनको मञ्च फुट्यो

१८ वैशाख २०८०, सोमवार
Image

झापा, १८ वैशाख । पहिचान पक्षधर सशक्त राजनीतिक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा विभाजन आएको छ ।

मञ्चका अध्यक्ष कुमार लिङ्देन र वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ नेतृत्वको दुई खेमाबीच विवाद बढेर पार्टी नै विभाजित बन्न पुगेको हो ।

विवादको क्रममा गुरुङ नेतृत्वको समूहले अध्यक्ष लिङ्देनलाई पदबाट बर्खास्त गरेको छ भने लिङ्देनले गुरुङको समूहलाई सानो चोइटो उप्किएर गएको टिप्पणी गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ नेतृत्वको समूहले वैशाख १२ गते मञ्चको अध्यक्षबाट लिङ्देनलाई पदमुक्तको निर्णय गरेको दावी गरेको छ । उनले लिङ्देनलाई पदमुक्त गरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई नागरिक उन्मुक्ति पार्टीसँग एकता गराएको घोषणा गरेका छन् । 

मञ्चको गुरुङ समूह र नागरिक उन्मुक्ति पार्टीबीच सोमबार विराटनगरमा एकता घोषणा गरिएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय कमिटी २८६ सदस्यीय छ । बहुमत सदस्यले लिङ्देनलाई पदमुक्त गरेको गुरुङ नेतृत्वको मञ्चमा रहेका नेता धनबहादुर पङधाकले दावी गरेका छन् ।

यता लिङ्देनले भने १२–१३ जनाको असन्तुष्ट समूह मञ्चबाट चोइटिएर गएको दाबी गरेका छन् । लिङ्देनले आफू पार्टीको आधिकारिक अध्यक्ष भएको बताए । 

गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम भूगोलका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र जातीय संस्थाहरु पहिचानका आधारमा नाम राख्नुपर्ने माग गर्दै आन्दोलनमा छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको विवादका कारण वैशाख दोस्रो साताबाट गर्ने भनिएको निर्णयक आन्दोलन प्रभावित भएको छ ।