१५ चैत २०८०, बिहिवार

न्यायिक लडाई लड्न नारी सञ्चार गृहको सुझाव

१९ वैशाख २०८०, मङ्गलवार
Image

बिर्तामोड, १९ वैशाख । नारी सञ्चार गृहले सम्पादकबाट यौन दूर्व्यवहारमा परेको खुलासा गरेकी सञ्चारकर्मीलाई अन्याय सहेर नबस्न सुझाव दिदै न्यायिक लडाई लड्न आग्रह गरेको छ ।

गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा आज बसेको कार्य समितिको बैठकले उक्त आग्रह गरेको हो । 

विर्तामोडको सूर्योदय टेलिभिजनमा कार्यरत एक सञ्चारकर्मीले दूर्व्यवहारमा परेको भन्दै हालै सामाजिक सञ्जालमार्फत न्याय मागेकी थिइन् । उनले नेपाल पत्रकार महासंघ झापामा समेत निवेदन दिएकी छन् ।

कार्यरत मिडियामा पुनःवहाली नहुने पीडित सञ्चारकर्मीको माग आएपछि नारी सञ्चार गृह समेतको पहलमा उनलाई टेलिभिजन व्यवस्थापनबाट पारिश्रमिक राहत दिलाइएको गृहका तर्फबाट जनाइएको छ । 

महिला पत्रकार तथा समग्र महिलाहरुमाथि हुने हिंसाजन्य घटनाविरुद्ध र हक अधिकारका लागि छुट्टै ढंगबाट सदैव आवाज उठाउँदै आएको नारी सञ्चार गृहले पीडितको माग अनुसार न्यायको अनुभूति दिलाउन नेपाल पत्रकार महासंघसँग आग्रह गरेको छ ।

नयाँ पिंढीका पत्रकारहरुलाई हिंसाको अनुभूति हुने वित्तिकै घटना लुकाएर नबस्न समेत नारी सञ्चार गृहले आग्रह गरेको छ ।