१३ वैशाख २०८१, बिहिवार

पत्रकार महासंघ र ठूला मिडियालाई प्रेस मञ्चको प्रश्नै प्रश्न

२० वैशाख २०८०, बुधवार
Image

झापा, २० वैशाख । प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघ र ठूला मिडिया आवाजविहीनहरुको आवाज बन्न नसकेको हो कि भनेर प्रश्न गरेको छ ।

तीसौं प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज मञ्चका केन्द्रीय अध्यक्ष कमन देवानले प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त प्रश्न गर्नुभएको हो ।

उहाँले विज्ञप्तिमार्फत प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका सन्दर्भमा छ वटा प्रश्न गर्नुभएको छ ।

उहाँको पहिलो प्रश्न छ–के साँच्चै मूल नारामा भनिए झैं अधिकारका लागि अभिब्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा भइरहेको छ त ?

दोस्रो प्रश्नमा भनिएको छ–हाम्रो राज्य, व्यवस्था र सरकारहरु, सरकारका संयन्त्रहरु अभिव्यक्ति स्वतन्त्रताका लागि साँच्चै इमान्दार छन् त ?

त्यसैगरी अर्को प्रश्न छ–नेपाली सन्दर्भमा सामाजिक  न्यायका लागि लडिएका लडाई र आन्दोलनहरुमा के साँच्चै मानव अधिकारको रक्षा भएको छ त ?

चौथो प्रश्न छ–साझा र स्वतन्त्र भनिएको नेपाल पत्रकार महासंघ के उत्पीडित समुदायका मागहरुका सन्दर्भमा पैरवी गर्न तयार छ ?

पाँचौं प्रश्न छ–नेपालका ठूला भनिएका मिडियाहरुले सीमान्तहरुको पहिचान र अधिकारको माग बोक्ने साहस गरेका छन् त ?

अन्त्यमा छैठौं प्रश्न छ–आवाजविहीनहरुको आवाज भएर ती साँच्चै मुखर भएका छन् त ?

विज्ञप्तिमा यी र यस्ता प्रश्नहरुको माझ विश्व प्रैस स्वतन्त्रता दिवस मनाइनुको औचित्य पुष्टि गर्नुपर्ने चुनौति हाम्रा सामू रहेको उल्लेख छ ।