१३ वैशाख २०८१, बिहिवार

बाहुनडाँगीमा घाइते छावाको उद्धार

२२ वैशाख २०८०, शुक्रवार
Image

मेचीनगर २२ वैशाख । झापाको बाहुनडाँगीमा अलपत्र एउटा घाइते छावालाई स्थानीय संरक्षणकर्मीले उद्धार गरेर भारतीय बन विभागलाई बुझाएका छन् ।

बन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत शंकर लुइँटेलका अनुसार भारतबाट दर्जनौंको संख्यामा मेचीनगर नगरपालिका वडा नं. ४ पसेका हात्तीको बथानबाट छुट्टिएको सो छावा विहीवार विहान घाइते अवस्थामा बाहुनडाँगीको मिलनचोकमा अलपत्र फेला परेको थियो ।

“हुलबाट अलग्गिएको छावा घाइते अवस्थामा अलपत्र परेको भेटिएको थियो,” संरक्षण अभियन्ता लुइँटेलले भन्नुभयो–“खबर पाउने वित्तिकै हाम्रो टिमले छावाको उद्धार गरेर भारतीय बन कार्यालयमा बुझाएका हौं ।”

उद्धार गरिएको छावा करीव एक महिनाको हुनसक्ने उहाँले बताउनुभयो । सो छावालाई स्थानीयबासीले दुध खुवाएका थिए । स्थानीयको पहलमा ट्याक्टरमा राखेर छावालाई मेची पारि भारतीय बन कार्यालयका कर्मचारीलाई बुझाइएको थियो ।

मेची तरेर भारतीय जंगली क्षेत्रबाट नेपालको सीमावर्ती बाहुनडाँगीका वस्तीहरुमा हरेक दिन हात्तीको बथान आहारको खोजीका लागि आउने गरेको छ । बाली खाएर भारततिर फर्किने ती हात्तीहरुले कहिलेकाहिँ मानवीय क्षति समेत गर्दै आएका छन् ।