७ वैशाख २०८१, शुक्रवार

एमालेभित्र अनुशासनहीनता र मठाधीश प्रवृत्ति बढ्यो : अध्यक्ष कार्की

२२ वैशाख २०८०, शुक्रवार
Image

झापा, २२ वैशाख । नेकपा एमाले झाापका अध्यक्ष दिपक कार्कीले पार्टीभित्र अल्छे, अनुशासनहीनता र मठाधीश प्रवृत्ति बढेको बताउनु भएको छ ।

पार्टीको केन्द्रीय कमिटीको बैठक ३५ वर्षपछि झापामा हुन लागेको सन्दर्भमा विहीवार विर्तामोडमा आयोजित जनसंगठनको भेलामा बोल्दै उहाँले अहिले एमालेप्रति चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको समेत बताउनुभयो ।

“भएका दलहरुमध्ये सबैभन्दा राम्रो नेकपा एमालेलाई बनाउने हाम्रो अभियान हो,” उहाँले भन्नुभयो–“पार्टीभित्र समस्या लुकाउनु पर्ने अवस्था छैन । कतिपयले सिद्धिने कि सच्चिने पनि भन्ने गर्छन् । नेकपा एमाले सच्चिए पुग्छ ।” 

नेताहरु मठाधीश, जनप्रतिनिधिहरु अटेरी र कार्यकर्ताहरु अनुशासनहीन बन्ने गरेको उहाँले गुनासो गर्नुभयो । कतिपय जनप्रतिनिधिहरु समस्या लिएर आएका जनतासँग बोल्दा झर्किने र ‘कामको ठेक्का लिएको हो र’ भन्दै थर्काउने गरेको उहाँले बताउनुभयोे ।

समुदायमा रहेका समस्याको समाधान गर्ने पार्टीको रुपमा एमालेलाई लोकप्रिय बनाउनु पर्ने धारणा राख्दै उहाँले मिसन ग्रासरुटको एउटा उद्देश्य त्यो पनि भएको बताउनुभयो ।

पहिचानबादीको आन्दोलन बारे टिप्पणी गर्दै उहाँले सत्तामा नरहेको अवस्थामा समेत नेकपा एमाले र पार्टीका नेताहरुमाथि निरन्तर प्रहार गरिनु सुनियोजित भएको आफुलाई लागेको बताउनुभयो । संसद्मा दुई तिहाई बहुमत जुटाएर प्रदेशको नाम अर्कै राख्दा पनि हुने विकल्प हुँदाहुँदै नेकपा एमालेमाथि आक्रमण हुनु निन्दनीय भएको बताउनुभयो ।

उहाँले वैशाख २८, २९ र ३० गते दमकमा आयोजना हुने पार्टीको केन्द्रीय कमिटीको बैठकलाई भब्य र सफल बनाउनु सबै जनसंगठनलाई जुट्न आह्वान गर्नुभयो ।