१५ वैशाख २०८१, शनिवार

पूर्वीनाकामा थपिदै सीसी क्यामेरा

२६ वैशाख २०८०, मङ्गलवार
Image

झापा,  वैशाख । पूर्वीनाका काँकडभिट्टामा चार वर्ष अघि जडान गरिएका सीसी क्यामेराहरु बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भूटान तथा बंगलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले सम्बेदनशील क्षेत्र मानिन्छ ।

सहरका सबै सीसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकहरुमा २६ वटा नयाँ सीसी क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक भारतीले बताउनुभयो ।

सीमा नाकामा आवश्यक निगरानी र अपराध न्यूनीकरणका लागि सीसी क्यामेरा अति आवश्यक रहेको र बजार क्षेत्रमा अझै अपर्याप्त भएको उहाँको भनाई छ । मेची भन्सार कार्यालय र इप्रका कार्यालय अगाडि जडान गरिएका १६ वटा क्यामेरा भने पहिल्यैदेखि चालू अवस्थामा छन् ।

पूर्वीनाका काँकडभिट्टामा चार वर्ष अघि मेचीनगर नगरपालिकाको सहयोग र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा रु. १८ लाखको लागतमा २३ वटा सीसी क्यामेरा बजारको महत्वपूर्ण स्थानमा जडान गरिएका थिए । ती सबै क्यामेरा एक वर्ष अघि नै कि त बिग्रिए, कि त तस्करले फुटाइदिए ।

“पूर्वी नाका अत्यन्त महत्वपूर्ण र सम्वेदनशील भएका कारण यहाँ हरेक गौडा–गौडामा सीसी क्यामेराको आवश्यकता छ,” उहाँले भन्नुभयो–“पहिलेका सबै बिग्रिइसकेका रहेछन् । सीमातिरका १६ वटा चलिरहेका थिए । भर्खरै २६ वटा क्यामेरा बजारमा जडान गरिएको छ । यतिले पुग्दैन ।”

अहिले जडान गरिएका सबै सीसी क्यामेराको कन्ट्रोल रुम प्रहरी कार्यालयमै रहेको छ । काँकडभिट्टा क्षेत्रमा अपर्याप्त भएका कारण संघीय सरकारसँग थप बजेट मागेर सहरमा सीसी क्यामेराको जालो बिछ्याउने मेची सामुदायिक सेवा केन्द्रको योजना छ ।

प्रहरी नायव उपरीक्षक भारतीले हरेक टोलका विकास समितिहरुले आफ्नै पहलमा सीसी क्यामेरा जडान गर्नसके र बैंक तथा वित्तीय संस्थाहरुले बजार र सडकहरुमा सार्वजनिक सीसी क्यामेरा राख्न अग्रसरता देखाउने हो भने सहरमा अपराध न्यूनीकरण, नियनत्रण र अपराधीको पहिचानमा सहजता हुने बताउनुभयो । 

मेचीनगरको अन्य सहरमा पनि पर्याप्त मात्रामा सीसी क्यामेरा जडान गरिएका छैनन् । मेचीनगरको वडा नं. ६ मा रहेको काँकडभिट्टा पूर्वीनाका हो भने वडा नं. १० को धुलाबारी, वडा नं. ७ को इटाभट्टा र वडा नं. १३ को चारआली पूर्वपश्चिम राजमार्गमा रहेका ठूला सहर हुन् । यी चारवटै सहरको अधिकांश स्थानमा कि त सीसी क्यामेरा जडान गरिएका छैनन् कि त जडान भइसकेका पनि बिग्रिइसकेका छन् । 

दुई वर्ष अघि धुलाबारी चोकमा स्थानीय नगरपालिका र बजार व्यवस्थापन समितिको सहकार्यमा सीसी क्यामेरा जडान गरिएका थिए । अहिले ती क्यामेरा थोत्रो बनेका छन् । धुलाबारी चोकमा रहेको प्रहरीको ट्राफिक बिटमा थन्काइएको कन्ट्रोल रुममा राखिएको टीभी स्क्रीनमा माकुराले जालो लगाएको छ ।

धुलाबारी, इटाभट्टा र चारआली बजार क्षेत्रमा नयाँ सीसी क्यामेरा जडानको पहल भइरहेको छ । मेचीनगरको वडा नं. ९ र १० ले सीसी क्यामेरा जडानका लागि बजेट छुट्याएका छन् । तर, जनसहभागिताको कुन अवधारणाबाट योजना अघि बढाउने भन्नेमा एकमत हुन नसक्दा वडाको बजेट खर्च भएको छैन ।

सहर र सडकहरुमा जडान गरिएका सीसी क्यामेराको नियमित हेरचाह र मर्मत सम्भार नहुँदा समस्या भएको धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रविन बस्नेत बताउनुहुन्छ । नगरपालिका, वडा कार्यालय, वाणिज्य संघहरु र बजार व्यवस्थापन समिति मिलेर सहरलाई प्रविधियुक्त सुरक्षित सहर बनाउन सकिने उहाँले बताउनुभयो ।

उहाँले स्थानीय बैंक तथा वित्तीय संस्थाहरु र ठूला उद्योगीले आफ्ना लागि जडान गरिएका सीसी क्यामेरामध्ये केही थान सार्वजनिक हितका लागि सडकतिर लक्षित गराउनु पर्ने सुझाव दिनुभएको छ । ठूला बैंकहरुले जडान गरेका सीसी क्यामेरा आफ्नो निजी ढोका र कोठाभित्र मात्र सीमित तुल्याउने गरेको उहाँको दावी छ ।

पूर्वीनाका अन्तर्राष्ट्रिय सुरक्षाका दृष्टिले समेत सम्बेदनशील भएकाले राज्यले सडक, बजार र सीमावर्ती चोकहरुमा शक्तिशाली सीसी क्यामेरा जडान गर्ने कार्यलाई प्राथमिकतामा राख्नु पर्ने देखिएको छ ।