१५ वैशाख २०८१, शनिवार

मेचीनगरमा खुल्यो अत्याधुनिक सर्भिस सेन्टर

२६ वैशाख २०८०, मङ्गलवार
Image

मेचीनगर,  वैशाख । दुई चक्के र चार चक्के सवारी साधनको अत्याधुनिक प्रविधिबाट मर्मत सम्भार गर्ने लगायतको उद्देश्य राखेर मेचीनगरको इटाभट्टामा ‘माई वल्र्ड रिकन्डिसनर एन्ड सर्भिस सेन्टर’ सञ्चालनमा आएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले रिबन काटेर सो सर्भिस सेन्टर (ग्यारेज)को विधिवत उद्घाटन गर्नुभयो । विश्वसनीय मर्मत सम्भार र रिकन्डिसन सवारी साधनका लागि अब मेचीनगरका उपभोक्ताले विर्तामोड र भारतको सिलिगुढी धाउनु नपर्ने भएको छ ।

राजनीतिक क्षेत्रमा समर्पित व्यक्तिहरु सामाजिक सेवासँगै उद्यमशीलतामा लाग्नु स्वागतयोग्य भएको नगरप्रमुख बुढाथोकीले सो अवसरमा बताउनुभयो । उहाँले नेपालमा खुलेका उद्योगहरुमा समेत अधिकांश भारतीय कामदार हुनु दुःखद् भएको टिप्पणी समेत गर्नुभयो ।

मेचीनगर–७ इटाभट्टामा पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि रहेको ‘माई वल्र्ड रिकन्डिसनर एन्ड सर्भिस सेन्टर’मा रु. एक करोड लगानी रहेको र १५ जनाले प्रत्यक्ष रोजगारी पाएको सेन्टरका व्यवस्थापक ओमप्रकाश खापुङले जानकारी दिनुभयो ।

उहाँले चार चक्के, तनि चक्के र दुई चक्के सवारी साधनको मर्मत हुने सो ग्यारेजमा सेकेन्डहेन्ड गाडीहरु खरिद विक्री समेत हुने र यात्राका लागि आवश्यक गाडी भाडामा उपलब्ध हुने बताउनुभयो । गाडी धुने र पार्किङको समेत त्यहाँ उचित व्यवस्था रहेको छ ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष प्रल्हाद ओली र ललित तामाङ, आदिबासी जनजाति महासंघ मेचीनगरका अध्यक्ष बालजित राई, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, श्रमिक नेता बसन्त तिवारी, नेकपा माओबादी केन्द्रका नेता मात्रव अर्याल, नेपाली कांग्रेसका नेता सुरेन्द्र बुढाथोकी, नेकपा एमालेका नेता सुशिल आचार्य, नेपाली कांग्रेसका जिल्ला सदस्य हर्क फियाक, महिला नेतृ सुकमाया लिम्बु, अग्रज सामाजिक व्यक्तित्व जितबहादुर लाउती लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता सेन्टरका अध्यक्ष नारायण चोङवाङले गर्नुभएको थियो । कार्यक्रममा मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, युवा नेता राजु कार्की लगायत दर्जनौं सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।