१२ साउन २०८१, शनिवार

पूर्वीनाकाबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भूटानी

२६ वैशाख २०८०, मङ्गलवार
Image

झापा, २ वैशाख । पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् ।

सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल एक हजार ९१४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताउनुभयो ।

जसमध्ये एक हजार ७१८ जना भूटानी नागरिक नै रहेका छन् । सोही अवधिमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञासहित नेपाल प्रवेश गर्ने भूटान बाहेक तेस्रो मुलुकका पर्यटक एक सय ९६ जना मात्र रहेका छन् ।

काँकडभिट्टा नाका पर्यटकका लागि नेपालको प्रमुख स्थल प्रवेशद्वार हो । भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्न प्रवेशाज्ञा लिनु पर्दैन । उनीहरु आधारकार्ड लगायतका परिचय खुल्ने सामान्य कागजातकै आधारमा नेपाल प्रवेश गर्न पाउँछन् । 

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख भट्टराईका अनुसार नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकमा भूटानपछि बंगलादेशले अग्रस्थान ओगटेको छ । संख्या भने ज्यादै थोरै रहेको छ ।

सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा कूल २७ जना बंगलादेशका पर्यटकले काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका छन् । 

अध्यागमन कार्यालय काँकडभिट्टाले अफगानिस्तान, घाना, जिम्बाबे, स्वजील्यान्ड, म्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्यालेस्टाइन र सिरिया गरी १२ मुलुकबाहेक अरु मुलुकका पर्यटकलाई ‘अनअराइबल भिसा’ उपलब्ध गराउँदै आएको छ ।

बढी संख्यामा तेस्रो मुलुकका पर्यटकहरु नेपाल आउन सहज होस् भनेर नेपालले १२ वटा अफ्रिकी र एसियाली मुलुक बाहेकका अरु विदेशी नागरिकलाई नाकामै अध्यागमन कार्यालयमार्फत प्रवेशाज्ञा प्रदान गर्ने खुकुलो नीति लिएको छ । 

बिगतमा यो खुकुलो नीतिको फाइदा छिमेकी बंगलादेशका नागरिकले बढी संख्यामा लिने गरेका थिए । हरेक वर्ष हजारौंको संख्यामा बंगलादेशी नागरिक काँकडभिट्टाबाट प्रवेशाज्ञा लिएर नेपाल प्रवेश गर्दथे । तर, केही वर्षदेखि बंगलादेशीहरुको आगमन ह्वात्तै घटेको छ ।

कोभिड १९ को भीषण महामारी पश्चात शून्यमा झरेको पर्यटक आगमन त्यसपछिको तीन वर्षमा लगातार सुधार भइरहेको देखिन्छ । तीन वर्षको तथ्यांक विश्लेषण गर्ने हो भने पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने बाह्य पर्यटकको संख्यामा बढोत्तरी हुँदै आएको छ ।

सन् २०२० मा ९६ जना मात्र तेस्रो मुलुकका पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । सन् २०२१ मा यो संख्या झन् घटेर ४० जनामा झर्यो । तर, सन् २०२२ मा यो संख्या बढेर ६२५ र सन् २०२३ को हालसम्ममा एक हजार २४१ जना पुगेको छ ।

नेपाल आउने सबैभन्दा ठूलो संख्या ओगटेको भूटानका पर्यटकहरु पनि वर्षेनी बढ्दै गएका छन् । सन् २०२० मा एक जना मात्र भूटानी पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । तर, सन् २०२१ मा या संख्या बढेर १५ पुग्यो भने सन् २०२२ मा ५१९ र सन् २०२३ को हालसम्ममा यो संख्या अझ बढेर एक हजार ११८ जना पुगिसकेको छ ।

भूटानी नागरिकहरु आफन्त भेटघाट र तीर्थयात्राका लागि नेपाल आउने गरेको पाइएको छ । काँकडभिट्टाबाट भारतको पश्चिम बंगाल हुँदै भूटानको सीमा फुन्चोलिङसम्म मोटर बाटोको दूरी मात्र १७२ किलोमिटर रहेको छ ।

भूटानमा रहेका नेपाली भाषीहरुको आफन्त नेपालका विभिन्न जिल्लामा रहेका छन् । पारिवारिक भेटघाटका लागि समेत नेपालीभाषी भूटानी नागरिकहरु नेपाल आउने गरेको पाइन्छ । तर, भूटानी पर्यटकको अधिकांश संख्या भने धार्मिक तीर्थाटनका लागि रहेको पाइएको छ ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दर्शनका लागि भूटानीहरु आउने गर्छन् । त्यसबाहेक पर्यटकीय स्थल पोखरामा घुमफिरका लागि समेत भूटानीहरु नेपाल आउने गरेका छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।