१३ कार्तिक २०८३, बिहिवार

हवाइफायर गरेर लागू औषधसहित दुई व्यक्ति पक्राउ

१३ कार्तिक २०८३, बिहिवार
Image

झापा, १२  कात्तिक । दक्षिणी झापाको सीमावर्ती क्षेत्रमा बुधवार हवाइफायर गरी दुई व्यक्तिलाई लागू औषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय कुमरखोद र लागू औषध ब्यूरो नियन्त्रण शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले झापा गाउँपालिका वडा नं. १ सालमाराका वर्ष ३६ का नसिम अख्तर मिया र वर्ष ३० का सलमान मियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी मुन्नाकुमार अधिकारीले बताउनुभयो ।

सीमा क्षेत्रमा लागू औषधको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीको टोली बुधवार दिउँसो १२ः३० बजेको समयमा सालमारामा पुगेको थियो । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर३७एए ५३८० र मे७प ३३६ नम्बरको मोटरसाइकलमा सवार दुबै जना आरोपी प्रहरीले चेकजाँच गर्दा भाग्न खोजेका थिए ।

त्यसपश्चात पिस्तोलबाट दुई राउन्ड हवाई फायर गरी दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको खानतलासी गर्दा सेतो प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसैलो पदार्थ बरामद भएको अधिकारीले जानकारी दिनुभयो । 

घटनामा प्रयोग भएका मोटरसाइकलसहित नियन्त्रणमा लिई उनीहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।