८ वैशाख २०८१, शनिवार

बंगलादेशसँग व्यापार

घाटैघाटामा बित्यो पारवहन मार्ग खुलेको पच्चिस वर्ष

३० वैशाख २०८०, शनिवार
Image

झापा, ३० वैशाख । नेपालको नजिकको तेस्रो मुलुक बंगलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध स्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बंगलादेशसँगको व्यापारमा रु. ४५ अर्ब घाटा व्यहोरेको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट ५४ किलोमिटरको दक्षिणपूर्वमा बंगलादेशको सीमा नाका बंगलाबन्ध रहेको छ । आजभन्दा २५ वर्ष अघि नेपाल र बंगलादेशले भारतको फुलबारी नाका हुँदै काँकडभिट्टालाई बंगलाबन्धसँग पारवहन मार्गले जोड्ने ऐतिहासिक सम्झौता गरेको थियो । जसलाई नेपाल बंगलादेश पारवहन मार्गको रुपमा चिनिन्छ ।

भूगोलका हिसाबले नेपालभन्दा सानो बंगलादेशको जनसंख्या भने नेपालको भन्दा चार गुणा ठूलो छ । बंगलादेशको अथाह बजारलाई भौगोलिक रुपमा नजिक भएर पनि नेपालले आफ्नो अनुकूल बनाउन सकेको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का नेपालसँग व्यापार सहजिकरणका लागि बंगलादेश निकै अग्रसर रहेको आफुले अनुभूति गरेको बताउनुहुन्छ । 

“पच्चिस वर्षे व्यापार अवधिमा घाटा धेरै भयो होला,” नेपाल अदुवा उत्पादक संघका संस्थापक अध्यक्ष समेत रहनु भएको खड्का भन्नुहुन्छ– “नेपालबाट बंगलादेशमा सजिलै बजार पाउन सक्ने थुप्रै उत्पादनहरु हामीसँग छन् । नेपालले त्यसको सही पहिचान गरेर निर्यातलाई प्रोत्साहित गर्ने ठोस कार्यक्रम ल्याउन सक्नुपर्छ ।”

बंगलादेशमा नेपालको कृषि उत्पादनहरुमध्ये अदुवा, अलैची र अम्लिसोको ठूलो बजार सम्भाव्यता छ । बंगलादेशका व्यवसायीहरु नेपाली उत्पादन आओस् भन्ने पक्षमा रहे तापनि तेस्र्रो मुलुकसम्म सामान लैजान नसकिएको खड्का बताउनुहुन्छ ।

नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन पारवहन मार्गमार्फत बिगत २५ वर्षमा दुबै देशले व्यापारिक सहकार्यको अनुपम अनुभव हासिल गरेको बताउनुहुन्छ ।

“यतिका बर्षसम्म के कस्ता सामान आयात र निर्यात भयो, त्यसमा बजारको प्रतिक्रिया कस्तो रह्यो भन्ने विषयमा अब समीक्षा जरुरी छ,” बंगलादेशसँगको व्यापार प्रवर्धनमा निजी क्षेत्रबाट ठूलो योगदान पुर्याउनु भएको जैनले भन्नुभयो–“काँकडभिट्टा फुलबारी बंगलाबन्ध पारवहन मार्गलाई अझ सुविधाजनक बनाउँदै व्यापारलाई दुबै देशका लागि लाभदायी बनाउन सरकार र निजी क्षेत्र दुबैले ध्यान दिन आवश्यक भइसकेको छ ।”

उहाँका अनुसार नेपालको अलैची, अदुवा, सुन्तला, जडिबुटी, चिया लगायतका कृषि बस्तुको बंगलादेश निर्यातको अथाह सम्भावना रहेको छ । अझ नेपालको ढुंगा र गिटी समेत बंगलादेश निर्यातको सम्भावना छ । हालसम्म बंगलादेशले भारत र भूटानबाट ढुंगा र गिटी आयात गर्दै आएको छ ।

यस्तो छ २५ वर्षे उतारचढाव

वि.सं. २०५४ भदौ १४ गते पूर्वीनाका काँकडभिट्टामा नेपाल र बंगलादेशका परराष्ट्र मन्त्रीहरुको उपस्थितिमा काँकडभिट्टा–फुलबारी–बंगलबन्ध पारवहन मार्गको विधिवत् उद्घाटन भएको थियो ।

उसबेला नेपालको व्यापारले बंगलादेशमा राम्रो नाफा गर्छ भन्ने आँकलन समेत थियो । तर, सुरुकै वर्ष परिणाम निराशाजन निस्कियो । 

आव २०५४/०५५ मा नेपालले रु. ११ लाख ५७ हजार ७६० मूल्य बराबरको मात्र मालसामान बंगलादेश निर्यात गर्न सक्यो । जबकि, पहिलै वर्ष बंगलादेशले रु. एक करोड ३१ लाख २६ हजार २७४ मूल्य बराबरको मालसामान नेपालमा पठायो ।

बंगलादेशसँगको व्यापार पहिलो वर्षदेखि नै घाटामा गयो । पछिल्ला वर्षहरुमा नेपालले व्यापारमा उल्लेखनीय सन्तुलन ल्याउने प्रयास गरेको थियो । जसका कारण आव २०७५/०७६ मा आइपुग्दा नेपालले १७ प्रकारका मालसामान बंगलादेशमा निर्यात गर्न थालिसकेको थियो ।

उसबेला बंगलादेश निर्यात हुने प्रमुख वस्तुहरुमा मुसुरो दाल, अम्लिसो, कुचो, कत्था, प्लाइउड, पिना, टमाटर, फलफुल, हजमोला, गहुँको ब्रान, चिराइतो, ग्लुकोज लगायत थिए । 

नेपालले १७ प्रकारका मालसामान बंगलादेश निर्यात गर्दा उसले भने नेपाल पठाउने मालसामानको संख्या १५१ पुर्याइसकेको थियो । जसमध्ये सबैभन्दा बढी मात्रामा बंगलादेशले हलुका पेय पदार्थ नेपालमा पठाएको देखिन्छ ।

नेपालमा आयात हुने त्यस्ता मालसामानहरुमा सोलार उपकरण, रनर मोटरसाइकल, कागज, तयारी कपडा, जुट, मकै, आलुचिप्स, चकलेट, नेप्किन, पानीका बोतल, व्याट्री, औषधि, केमिकल, स्पेयर पार्टस्, नरिबल तेल लगायत थिए ।

दोस्रो दशकमा आइपुग्दा नेपालले बंगलादेशमा निर्यात गर्ने मालसामानको सूची निकै साँघुरो बन्दै गयो । व्यापार पनि खुम्चिएर आकारमा निकै सानो भइसकेको छ ।

अहिलेसम्ममा ४५ अर्ब घाटा

पारवहन मार्ग सञ्चालन भएयताको २५ वर्षमा नेपालले बंगलादेशसँगको व्यापारमा रु. ४५ अर्ब घाटा व्यहोरेको देखिन्छ ।

मेची भन्सार कार्यालयको तथ्यांक विश्लेषण गर्दा यस अवधिमा नेपालले रु. ३६ अर्ब मूल्य बराबरको नेपाली उत्पादन बंगलादेशमा निर्यात गरेको छ ।

सोही अवधिमा नेपालले रु. ८१ अर्बभन्दा बढी मूल्यको बंगलादेशी सामान आयात गरेको देखिन्छ । उक्त अवधिमा बंगलादेशसँगको व्यापार घाटामा सुधार ल्याउन सकेन ।

आव २०७५÷०७६ देखि बंगलादेशसँगको व्यापार घाटा निकै फराकिलो हुँदै गएको छ । आव २०७९/०८० को चैत मसान्तसम्मको तथ्यांक हेर्दा बिगत पाँच आर्थिक वर्षमा नेपालले बंगलादेशसँग रु. २८ अर्ब व्यापार घाटा गरेको छ ।

जबकि, त्यस अघिको २० वर्षमा कूल व्यापार घाटा रु. १७ अर्ब मात्र रहेको थियो । पछिल्ला वर्षहरुमा बंगलादेशमा नेपालको निर्यात व्यापार निकै रफ्तारमा ओरालो लाग्दै गएको छ ।

मुसुरो दालले धानेको निर्यात

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार नेपालबाट बंगलादेशमा धेरै निर्यात हुने सामानमा मुसुरो दाल रहेको छ ।

त्यसपछि पशु आहारको कच्चा पदार्थ, तयारी खाद्य पदार्थहरु, अदुवा र जडिबुटी बंगलादेश निर्यात हुन्छ । दालको निर्यात घट्नासाथ व्यापार घाटा फराकिलो बन्न थालेको हो ।

बंगलादेशबाट जुट तथा जुटबाट बनेका सामान, भटमासको पिना, कपडाहरु, फलफुलका जुसहरु, कस्मेटिकका सामान र चकलेट नै भारी मात्रामा आयात हुने गरेको छ ।

बंगलादेशसँगको व्यापार सहजिकरणका लागि नेपाल सरकारले काँकडभिट्टामा नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लि.को कार्यालय नै सञ्चालन गरिरहेको छ ।

आयात र निर्यात हुने दुबै प्रकृतिका मालसामान ल्याउन र पठाउन कम्पनीको कार्यालयले काँकडभिट्टाबाट ५४ किलोमिटर टाढा भारतको फुलबारी नाकासम्म कर्मचारी खटाउने गरेको कम्पनीको काँकडभिट्टा शाखा कार्यालयका प्रमुख रोमनकुमार श्रेष्ठले बताउनुभयो ।

“नेपालबाट बंगलादेशमा सामान निर्यात गर्नुपर्यो भने हाम्रा कर्मचारी सामान लोड गरिएको गाडीसँगै पारवहन मार्ग पहिल्याउँदै बंगलादेशको बोर्डर बंगलाबन्धसम्म पुग्ने गर्नुहुन्छ,” उहाँले भन्नुभयो–“त्यसैगरी आयातित सामान सुरक्षित रुपमा नेपाल भित्राउन हाम्रा कर्मचारी डकुमेन्ट मिलाउन फुलबारी र बंगलाबन्ध नाका नै पुग्ने गरेका छन् ।”

बंगलादेशसँगको व्यापार विस्तार हुने अपेक्षाका साथ काँकडभिट्टामा अत्याधुनिक सुख्खा बन्दरगाह निर्माण गरिएको छ । जसको सम्पूर्ण व्यवस्थापन ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले हेर्दै आएको छ ।

सुरुमा नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको व्यवस्थापन हेर्ने गरेको भए तापनि केही वर्षदेखि ठेक्का सम्झौताका आधारमा निजी क्षेत्रको कम्पनीले  बन्दरगाहको व्यवस्थापकीय जिम्मेवारी पाएको हो ।

कम्पनीका शाखा प्रबन्धक राजेश तिवारीले बिगतमा बंगलादेशको व्यापारमा संलग्न गाडीहरु बाक्लै आउने जाने गरेको भए तापनि हाल निकै घटेको बताउनुभयो । कम्पनीले बन्दरगाहभित्र राखिएका मालवाहक यातायातका साधनको पार्किङ शुल्क समेत उठाउने गरेको छ । पाँच वर्षका लागि रु. १३ करोड २३ लाखमा सुख्खा बन्दरगाह ठेक्कामा सञ्चालन गर्ने अनुमति पाएको उहाँले जानकारी दिनुभयो ।

इन्टरमोडल यातायात विकास समितिको काँकडभिट्टा कार्यालयकी प्रमुख अम्बिका सुबेदीले भन्सार परिसरभित्र रहेका मालसामान र यातायातका साधनको सुरक्षा गर्ने र गोदाममा राखिएका सामानको जिम्मेवारी समितिको हुने बताउनुभयो ।

पछिल्लो समय नेपालले बंगलादेशसँग विद्युतीय ऊर्जाको व्यापारमा सहकार्य प्रस्ताव गरेको छ । यही जेठको पहिलो साता बंगलादेशको राजधानी ढाकामा आयोजना हुने द्विदेशीय संयुक्त बैठकमा दुबै देशका ऊर्जा सचिवले आपसी हितका विषयमा सम्बाद अघि बढाउँदैछन् ।

जलविद्युतमा प्रगति गर्दै आएको नेपालले बंगलादेशसम्म विद्युत निर्यात गर्न थाल्ने हो भने व्यापारमा सन्तुलन मात्र आउँदैन, यसले मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयाम नै थपिदिनेछ ।

बंगलादेशसँगको व्यापार सन्तुलित ढंगले अघि बढाउने हो भने नेपालले बंगलादेशसँग निर्यातयोग्य बस्तुको सूची बनाएर भन्सार छुटको सुविधा माग गर्नु पर्ने नेपाल बंगलादेश चेम्बर एन्ड ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–“नेपालमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनहरुलाई भन्सार छुट दिने बित्तिकै बंगलादेशसँगको हाम्रो व्यापारले गति लिन्छ ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।