१५ वैशाख २०८१, शनिवार

बाहुनडाँगीमा जंगली हात्ती रोक्न संयुक्त गस्ती

३१ वैशाख २०८०, आइतवार
Image

झापा, ३१ बैशाख । दैनिक भारतबाट ८० को संख्यामा हुल बाँधेर आउने जंगली हात्ती रोक्न मेचीनगर नगरपालिका-४ बाहुनडागीमा संयुक्त गस्ती सुरु गरिएको छ ।

डिभिजन वन कार्यालयका कार्मचारी, सशस्त्र प्रहरी, स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेको वडा नम्बर ४ का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । 

उहाँले दैनिक भारततर्फबाट बाहुनडाँगीको विभिन्न गौडा प्रयोग गरेर नेपाल प्रवेश गर्ने हात्तीले पाकेको मकै, सुपारी र बाँसमा समेत क्षति पुर्याउन थालेपछि गस्ती गर्न थालेको बताउनुभयो । बाहुनडाँगीमा आठ बर्षअघि गरिएको विद्युतीय घेराबार तोडेर हात्ती गाउँ पस्ने गर्छन् । 

“घेराबाराको मर्मत पनि गरिरहेका छौं” उहाँले भन्नुभयो, “तर हात्ती अभ्यस्त भइसकेछन् दिनभरी मर्मत गर्यो साँझ परेपछि भत्काएर वस्ती छिर्छन् । क्षति हुन दिनु भएन । रोक्नका लागि भए पनि गस्ती गरिरहेका छौं ।” उहाँले विद्युतीय घेराबारा भएको सबै क्षेत्रमा बाटो नहुँदा भने गस्ती गर्न समस्या भइरहेको बताउनुभयो । 

प्रकृति संरक्षण कोषले बाहुनडाँगीमा मानव हात्ती द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले वि.सं. २०७२ सालमा तिरिङदेखि नकलबन्दासम्मको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण गरेको थियो । हाल सोही तारवार मेचीनगर नगरपालिकाको रु. १८ लाख र डिभिजन वन कार्यालयको रु. पाँच लाख गरी रु. २३ लाखको लागतमा मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिमार्फत मर्मत भइरहेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले दैनिक साँझपरेपछि साइरनसहितको गाडी बाहुनडाँगी हात्ती धपाउन पठाउने गरेको बताउनुभयो । “जिल्लाका अन्य क्षेत्र भन्दा बढी हात्ती बाहुनडाँगीमै आइरहेका छन्”, उहाँले भन्नुभयो, “धनजनको सुरक्षाका लागि स्थानीयवासी र प्रहरीसँगको साझेदारीमा गस्ती गरिरहेका छौं ।” गस्ती टोलीले भारतबाट आउने हात्तीलाई उतै फर्काउने गरेको उहाँको भनाई छ ।