८ वैशाख २०८१, शनिवार

दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरु सहमत

१ जेठ २०८०, सोमवार
Image

झापा, १ जेठ । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरु मर्मत सम्भार गर्न दुबै देशका सीमावर्ती जिल्लाका प्रशासकहरु सहमत भएका छन् ।

नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बीडीसीसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा उक्त सहमति भएको हो । दशगजा क्षेत्रमा रहेका खेतीपाती र घर टहरा हटाउने सहमति भएको हो ।

बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व विहार प्रान्तको किसनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गर्नुभएको थियो ।

बैठक पश्चात जानकारी दिदै किसनगञ्जका जिल्ला मजिस्ट्रेट श्रीकान्त शास्त्रीले दुबै देशको सीमाको दशगजा क्षेत्र अतिक्रमणमुक्त गराउने विषयमा सहमति भएको बताउनुभयो । उहाँले नदीले बगाएका, पुरेका र हराएका सीमास्तम्भहरुको खोजी गरी यथास्थानमा पुनःस्थापना गर्ने समेत सहमति भएको जानकारी दिनुभयो ।

भारतसँग झापाको ११८ किलोमिटर र मोरङको ५३ किलोमिटर सीमा क्षेत्र रहेको छ । उहाँले भन्नुभयो–“दशगजा क्षेत्र खाली गराउने र क्षतिग्रस्त सीमा स्तम्भहरुको मर्मत गर्न हामी दुबै देशका जिल्ला प्रशासकहरु सहमत भयौं ।”

यसैगरी, बैठकमा नेपाली टोलीको नेतृत्व गर्नुहुने मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले दुबै देशका सीमा क्षेत्रका अधिकारीहरुबीच १४ वटा विषयमा सौहार्द रुपमा छलफल भएको बताउनुभयो ।

उहाँले हात्ती आतंक, लागू औषधको कारोवार, मानव तस्करी, चोरी निकासी लगायतका महत्वपूर्ण विषयमा नियन्त्रणका लागि भारतीय पक्षलाई नेपालका तर्फबाट आग्रह गरिएको जानकारी दिनुभयो । 

“सीमा क्षेत्रमा भइरहेका समस्याका बारेमा हामीले भारतीय पक्षको ध्यानाकर्षण गरायौं,” प्रजिअ यादवले बैठकका विषयमा भन्नुभयो–“हात्ती आतंक, लागू औषधको कारोवार, मानव बेचबिखन, चोरी निकासी जस्ता आपराधिक घटना नियन्त्रणमा सहकार्य गर्न उहाँहरु सहमत हुनुभयो ।”

बैठकमा भारतीय पक्षबाट सीमा क्षेत्रमा हुनसक्ने आतंककारी गतिविधि, हतियार तस्करी, नक्कली नोट, मदिरा र गाईबस्तु तस्करी लगायतका समस्याको समाधानका लागि नेपाली पक्षको ध्यानाकर्षण गराइएको थियो । सीमा क्षेत्रमा सवारी साधनको नियमित चेकजाँच, अपराधी पक्राउका लागि सूचनाको आदानप्रदान गर्ने विषयमा समेत बैठकमा छलफल भएको झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।

सशस्त्र सीमा वल (एसएसबी)को १९ औं बटालियनको ठाकुरगञ्जस्थित कार्यालयमा उक्त बैठक भएको थियो । बैठकमा नेपाली पक्षबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, सशस्त्र प्रहरी वलको २ नम्बर गणका गणपति देबराज अर्याल, झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेल, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख तुलसी गौतम लगायतको सहभागिता रहेको थियो ।

भारतीय पक्षबाट बैठकमा किसनगञ्जका सहायक डिस्ट्रिक मेजिस्ट्रेट एके गुप्ता, एसएसबीको ४१ औं बटालियन कमान्डर एससी नागी, १९ औं बटालियन कमान्डर मधुकर अमिताभ, अररियाका बन विभागका अधिकारी नरेश प्रसाद लगायतको सहभागिता रहेको थियो ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।