१३ वैशाख २०८१, बिहिवार

कारागारका पोखरेल र थेबेको कविता संग्रह ‘बन्द पर्खालबाट’ प्रकाशित

३ जेठ २०८०, बुधवार
Image

झापा, ३ जेठ । झापा कारागारमा रहनु भएको रमेश पोखरेल र राजेन्द्र थेबेले ‘बन्द पर्खालबाट’ नामक कविता संग्रह प्रकाशित गर्नुभएको छ ।

प्रतिक्षित नयन साहित्यिक समाज प्रकाशक रहेको उक्त संयुक्त कृतिमा कवि पोखरेलका १५ वटा र कवि थेबेका २६ वटा गद्य कविता समेटिएका छन् । कवि पोखरेल पूर्व पत्रकार हुनुहुन्छ भने अर्का कवि थेबे कारावास पुग्नु अघि सामाजिक अभियन्ता हुनुहुन्थ्यो ।

कृतिको भूमिका लेख्दै अग्रज पत्रकार चन्द्र भण्डारीले बन्दीगृहको भीडभाड र अप्ठेरो बसाईबीच दुई कविले कविता संग्रह प्रकाशित गरेर सिर्जनशील मान्छेको उडानलाई कुनै पर्खालले पनि छेकेर राख्न सक्दैन भन्ने प्रमाणित गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले कारागारको जीवन बिताइरहेका व्यक्तिभित्र देशप्रेम, समृद्धि र मुक्त आकाशको आकांक्षासँगै समग्र समाजलाई प्रगतिमार्गमा डोहोर्याउने तीब्र हुटहुटी हुन्छ भन्ने कुरा कृतिमा समेटिएका कविताहरुले सन्देश प्रवाहित गरेको बताउनु भएको छ ।

कविद्वयको कविता संग्रहले कारागारको पर्खालभित्र प्रतिभा कैद हुन सक्दैन भन्ने उदाहरण दिएको झापा कारागारमा सञ्चालित बन्दी विकास पुस्तकालयका अध्यक्ष लयप्रसाद शिवाकोटीले बताउनुभयो ।

कारागारभित्र कैदीबन्दीलाई अध्ययनको अवसर दिलाउन वि.सं. २०५४ मै बन्दी विकास पुस्तकालय स्थापना भएको जनाउँदै उहाँले कारागार एउटा सुधारगृह भएको हँुदा त्यहाँ बस्ने कैदीबन्दीले आफ्नो साहित्यिक प्रतिभा र जीवनपयोगी शीपहरु देखाउने अवसर पाउने बताउनुभयो ।

झापा कारागारका प्रमुख मोहन पनेरुले असजिलो बसाइका क्रममा समेत आफ्नो साहित्यिक प्रतिभालाई मर्न नदिएर कवि पोखरेल र थेबेले प्रशंसनीय कार्य गर्नुभएको बताउनुभयो ।

कृतिको प्रकाशक प्रतिक्षित नयन साहित्यिक समाज कारागारभित्रै रहेका साहित्यमा रुचि राख्नेहरुले स्थापना गरेको संस्था भएको जनाउँदै समाजका अध्यक्ष मनोज लावतीले कारागारभित्र नियमित रुपमा साहित्यिक कार्यक्रमहरु आयोजना भइरहेको बताउनुभयो ।

कृतिका सर्जक रमेश पोखरेलले बन्दी जीवन विश्वविद्यालय जस्तो अनुभूति भइरहेको जनाउँदै कारागार बसाइका अनुभूतिहरु कवितामा अभिव्यक्त गरेको बताउनुभयो । अर्का सर्जक राजेन्द्र थेबेले कारागारभित्र लेख्ने र पढ्ने वातावरण भएको बताउनुभयो ।