१६ चैत २०८०, शुक्रवार

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग

२ जेठ २०८०, मङ्गलवार
Image

दमक, २ जेठ (रासस) :

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्षाँैदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई हालैका घटनाले गम्भीर असर पु¥याएको भन्दै यसको निष्पक्ष छानबिनको माग गर्नुभएको हो । “यस्तो कार्यले गैर भुटानीलाई भुटानी र सक्कली भुटानीलाई गैर भुटानी बनाउनसक्ने गम्भीर आशङ्का पैदा गरेको छ । गैर भुटानीलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो गिरोह संलग्न भएको र यसमा केही नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीसमेत गिरफ्तार भइसकेको घटनाप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “नक्कली भुटानी शरणार्थी प्रकरणले हामी शिविरमा बस्दैआएका सक्कली भुटानी अत्यन्तै दुःखित भएका छौँ ।” स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका करिब छ हजार पाँच सयको हाराहारीमा रहेका भुटानी शरणार्थी र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यान दिनसमेत समितिले माग गरेको छ । शरणार्थी परिचयपत्र नवीकरण गरेको आठ महिनाभन्दा बढी भइसक्दा पनि उनीहरूले नयाँ परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र वितरणमा ढिलासुस्ती हुँदा सक्कली भुटानी परिचयविहीन हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।