१२ पुष २०८१, शुक्रवार

भारतमा दुई हजार भारुको नोटबन्दी, सीमावर्ती नेपालमा पनि असर

६ जेठ २०८०, शनिवार
Image

झापा, ६ जेठ । भारतको केन्द्रीय बैंकले दुई हजार भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेपछि यसको असर सीमावर्ती नेपालमा पनि पर्ने भएको छ ।

भारतीय रिजर्ब बैंकका अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ । सेप्टेम्बर ३० पछि नोटको अवस्था के हुनेछ वा कस्तो नयाँ व्यवस्था आउने छ भन्ने बैंकले केही बताएको छैन ।

अहिले बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ । नोट बदल्दा अतिरिक्त शुल्क लाग्ने छैन ।

अब भारतले नयाँ २००० भारुको नोट जारी नगर्ने भनिएको छ ।

धेरै भारु सञ्चित गर्ने र अबैध आर्जन गरेकाहरु नयाँ व्यवस्थाले अप्ठेरोमा पर्नेछन् । बैंकले एकपटकमा २० हजार मात्र साट्ने भएकाले धेरै नोट थुपारेका कालो धनवालाहरु अप्ठेरोमा पर्ने भएका हुन् । 

भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २००० भारुको नोट जारी भएको थियो । त्यो बेला ५०० र १००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २००० भारुको नोट ल्याइएको थियो ।

जब बजारमा साना नोटको उपलब्धता बढ्यो, त्यसपछि २०१८–१९ मा २००० भारुको नोट छाप्न रोकिएको थियो । समाचारहरुमा जनाइअनुसार ३१ मार्च २०२३ मा ३।६२ लाख करोड मुल्यको २ हजारको भारु नोट बजारमा चलन चल्तीमा थियो । यो नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा ६।७३ लाख करोड भारु थियो, जुन कुल नोटको करिव १० प्रतिशत हो ।