१५ वैशाख २०८१, शनिवार

स्वास्थ्य बिमाको मोडल फेर्नुपर्छ : डा. तोसिमा कार्की

७ जेठ २०८०, आइतवार
Image

धुलाबारी, ७ जेठ । पूर्व स्वास्थ्य राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले स्वास्थ्य बिमाको पुरानो मोडेलबाट आम नागरिकले सहज उपचार सुविधा पाउन नसकेको बताउनुभएको छ ।

शनिवार धुलाबारीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशनमा बोल्दै उहाँले स्वास्थ्य बिमाको मोडल परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

“पुरानो मोडलबाट न नागरिकले सहज उपचार पाउन सकेका छन्, न स्वास्थ्य उपचार केन्द्रहरुले बिमाको सदुपयोग नै गरेका छन्,” उहाँले भन्नुभयो–“राज्यको नियमन पनि फितलो छ । बिमा अवधि सकिन लाग्यो भनेपछि हस्पिटलहरुले अनावश्यक जाँच र औषधि सिफारिस गरेर रकम सिध्याउने बेथिति मौलाइरहेको छ ।”

नेपालमा उपचार सेवा अति महँगो हुँदै गएको र राज्यले स्वास्थ्य बिमालाई प्रभावकारी तुल्याउन नसकेको कारण गरीवीको रेखामुनि रहेका लाखौं नागरिक उपचार पाउने नैसर्गिक हकबाट बञ्चित रहेको उहाँको दावी थियो । मृगौला, मुटु, क्यान्सर लगायत गम्भीर रोग लागेका बिरामीलाई पनि स्वास्थ्य बिमाको एकद्वार प्रणालीबाट यथेष्ट उपचार सुविधा पाउने व्यवास्था मिलाउन आवश्यक रहेका उहाँको भनाई थियो ।

राजनीतिक प्रसंगमा बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकमा सङ्लो राजनीति गर्न आएको बताउनुयो । मुलुकमा व्यवस्था परिवर्तनका लागि पुराना दलहरुले भूमिका खेलेको भए तापनि नागरिकको अवस्था परिवर्तनका लागि कुनै योगदान दिन नसकेको आरोप लगाउनुभयो ।

“हिजो उहाँहरुले मुलुकमा राजनीतिक व्यवस्था फेर्नुभयो, अब त्यतिले मात्र पुग्दैन,” डा. कार्कीले भन्नुभयो–“आम नागरिक आफ्नो जीवनकालमै मुलुकको अवस्था फेरिएको हेर्न चाहन्छन् । जनताको यो आकांक्षा पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ ।”

पार्टीको मेचीनगर भेला धुलाबारीस्थित अतिथि सदनमा भएको थियो । कार्यक्रमका अर्का वक्ता पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईले वि.सं. २०८४ को आम चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएर एकल सरकार गठन गर्ने जिकीर गर्नुभयो ।

उहाँले पुराना राजनीतिक दलहरु भ्रष्टाचारको दलदलमा फँसेको र परिवर्तनप्रतिको निष्ठाबाट च्युत भएको आरोप लगाउँदै नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीमाथि कार्वाही चलाउन पुराना दलहरुले खुट्टा कमाइरहेको टिप्पणी गर्नुभयो ।

नगर अध्यक्ष भीम कुँवरको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा सांसद् मनिष झा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।