१६ चैत २०८०, शुक्रवार

जलथल जंगललाई पर्यटकीय गन्तब्य बनाउने तयारी

१० जेठ २०८०, बुधवार
Image

हल्दिबारी, १० जेठ । विश्व जैविक विविधता दिवसको अवसर पारेर पाथीभरा कालिका सामुदायक वनले पत्रकारलगायतको टोलीलाई जंगल सफारी गराएको छ । 

दक्षिण एसियामै जैविक विविधताले भरिपूर्ण मानिएको जलथल जंगल चोरी तस्करीसँगै वनमारा झारको समस्या झेलिरहेको छ । जंगल जोगाउन प्रयासरतहरु तस्करीका कारण हैरान छन् । जंगलभित्र व्यापक रुपमा फैलिरहेको वनमारा (माइकेनिया) झारको उपद्रो नियन्त्रण बाहिर छ ।

वनले आयोजना गरेको जंगल सफारी कार्यक्रममा जंगल संरक्षणमा जुटेकाहरुले जंगल जोगाउन समस्या भइरहेको सुनाए । जंगल क्षेत्र वनमारा झारबाट जोगाउन समस्या भइरहेको छ, उनीहरु भन्छन् – जंगललाई मानवबाटै पनि जोगाउन कठिन भइसक्यो ।

२२ वटा सामुदायिक वन रहेको जलथल जंगल ४ वटा स्थानीय तहमा फैलिएको छ । ६१ सय हेक्टर क्षेत्रफलमा फैलिएको जंगलभित्र वनमाराले वनलाई दुख दिइरहेको छ भने बाहिरबाट मान्छेहरुले तस्करी रोक्न सकिरहेका छैनन् । जलथल जंगल अन्य जंगलहरुभन्दा पृथक रहेको फरेष्ट एक्सन नेपालका लीलानाथ शर्मा बताउँछन् । उनका अनुसार जलथल जंगलमा पाइने वनस्पति, जीवजन्तु अन्य जंगलमा कमै पाइन्छ । कतिपय वनस्पति र जीवजन्तु जलथल जंगल बाहिर पाइदैन पनि । उनले तराईमा लटर जलथल जंगलमा मात्रै रहेको दावी गरे । उक्त वनस्पति अहिले संकटमा परेको सुनाए । जंगल धनी छ, संकटमा पनि छ – शर्माले थपे ।

वनस्पति विद् शर्माले समुदायको एकल प्रयासबाट मात्रै जलथल जंगलको जैविक विविधता संरक्षण गर्न नसकिने बताए । उनले सबै क्षेत्रको सहयोग नभएसम्म जलथल जंगल जोगाउन मुस्किल हुने सन्देश दिएका छन् । जलथल जंगल जोगाउन सर्वप्रथम राजनीतिक दलहरुको मुद्धा बन्नुपर्ने शर्माको धारणा थियो ।

पाथीभरा कालिकाका अध्यक्ष सागर पोर्तेलसहितको उपभोक्ता समूह र पत्रकारले मंगलवार विहान जंगलको सफारी गरेका हुन् । सोही क्रममा जंगलको विशेषताका बारेमा वनस्पति विद् शर्मा र वनविज्ञानबारे जानकार मुना भट्टराईले जानकारी गराएका थिए ।

पाथीभरा कालिकाका अध्यक्ष पोर्तेलले मानवबाट जंगलको संरक्षण चुनौति बन्दै गइरहेको जानकारी दिए । उनले चोरी तस्करी नियन्त्रणका लागि समुदायको तहबाट अधिकतम प्रयास भइरहेपनि घटनाहरु नरोकिएको बताए ।

चोरी तस्करी नियन्त्रणसँगै माइकेनिया झारको उपद्रो रोक्न उपभोक्ता समिति क्रियाशिल भएको जानकारी दिएका छन् । उनले जलथल जंगललाई पर्यटकीय गन्तब्य बनाउने गरी लाग्ने प्रतिक्रिया दिए । उनले जंगलभित्र सिमसार बनाइहाल्ने प्रचलन बढेको छ, पोर्तेलले भने – हामी वनस्पतिको अवलोकन गराउन चहान्छौं, जीवजन्तु देखाउन चहान्छौं । कहिकतै नपाइने वनस्पति हेर्न जलथल जानुपर्छ भन्ने सन्देश दिन चाहेका छौं ।

पाथीभरा कालिका धार्मिक पर्यटकीय स्थलका अध्यक्ष जयप्रसाद पोखरेलले जलथल जैविक विविधताले भरिपूर्ण भएको बताउदै त्यसको संरक्षण नगरे जैविक क्षयको शिकार हुने धारणा राखे । उनले जंगलमा चोरी तस्करी रोक्न सबैले प्रतिवद्ध हुनुपर्ने जिकिर गरेका छन् ।