१५ वैशाख २०८१, शनिवार

झापामा फरार प्रतिवादीहरु धमाधम पक्राउ

१० जेठ २०८०, बुधवार
Image

झापा, १० जेठ । जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार चालू आर्थिक बर्षको पाँच महिनाको अवधिमा मात्र १३२ जनालाई पक्राउ गरिएको छ । 

पक्राउ परेका प्रतिवादीहरुलाई अदालतको आदेश अनुसार कतिपयलाई जरिवना लिएर छाडिदिएको छ भने कतिपयलाई कैद भुक्तानका लागि जिल्ला कारागार झापामा पठाइएको उहाँले जानकारी दिनुभयो । 

उहाँले पक्राउ गरिएका मध्ये ११८ जना पुरुष र १४ जना महिला भएको बताउनुभयो । अपराधका २६ वटा शीर्षकमा पक्राउ परेका मध्ये सबैभन्दा बढी चोरी घटनामा संलग्न रहेको पाइएको छ । आर्थिक बर्ष २०७९/८० को पुसदेखि बैशाखसम्ममा चोरी घटना २१ जना, लागूऔषधमा २० जना, कीर्ते जालसाजमा ११ जना, वनसम्बन्धी मुद्दामा ११, सवारी ज्यानमध्येका १० जनालगायत छन् ।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।  विभिन्न अपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भइसक्दासम्म फरार रहेकालाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको उहाँको भनाई छ । 

हाल फौजदारी र देवानी मुद्दामा दोषी ठहर भइसकेका अपराधीलाई दैनिक जसो पक्राउ गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रहरीले प्रतिवादीलाई पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तान र जरिवानाका लागि कारागार चलान गर्ने गरेको बताउनुभयो । 

जिल्लामा गोरु मारेका, चिठ्ठा सम्बन्धी कसुर, जवजस्ती करणी उद्योग, जुवा सम्बन्धी कसुर, ठगी, बालयौन दुरुपयोग, विदेशी विनिमय, सम्बन्ध विच्छेद, लेनदेन, बहुविवाह, अपराधिक उपद्रव, हिसाब एकीन गरी पाउ, नाता कायम, डाँका, गाली बेइजतिलगायतका मुद्दाका प्रतिवादीहरु पक्राउ परिरहेको उहाँले बताउनुभयो । 

“कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकाहरुलाई धमाधम पक्राउ गरिरहेका छौं”, उहाँले भन्नुभयो, “अपराधमा संलग्न भएर फरार हुनेलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेर कानुनको दायरामा ल्याई पीडितलाई न्यायको अनुभति दिलाउँछौ ।”