१४ वैशाख २०८१, शुक्रवार

एसियाली राजमार्गमा जोडियो नेपाल

१३ जेठ २०८०, शनिवार
Image

झापा, १३ जेठ (रासस) : चार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ ठाउँमा संकेत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकरभिट्टासम्म एक वर्ष अघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो यो ।

कोरोना कहरका बेला सारा संसार कोठामा बन्दी भएका बेला काँकरभिट्टामा एसियाली राजमार्ग निर्माणको काम धमाधम भइरहेको थियो । कोरोना महामारीको बन्दाबन्दीको दुई वर्षे अन्तरालपछि काँकरभिट्टा आइपुग्नेका लागि यो राजमार्गको झल्को अकल्पनीय थियो । 

टाढादेखि आन्तरिक पर्यटकहरु काँकरभिट्टाको एसियाली राजमार्ग हेर्नै भनेर पनि आउने गरेका छन् । सफा र फराकिलो चार लेनको सडक मात्र होइन, मेची नदीमा निर्मित चार लेनकै अत्याधुनिक पुलको सौन्दर्यले पर्यटक र यात्रुलाई उत्तिकै आकर्षित गरेको छ । 

पुल र सडकमा उभिएर खिचिएका तस्वीर र भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्नेहरुको ताँतीले एसियाली राजमार्ग आफैमा पर्यटकीय स्थल बन्न पुगेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले बताउनुभयो । उहाँले एसियाली राजमार्गका कारण तेस्रो मुलुकबाट पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई आकर्षण गर्ने, यात्रा छिटो र छरितो हुने बताउनुभयो । 

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मात्र यसको संरचना पूर्णरुपमा निर्माण भएको छ । बंगलादेशबाट भारतको बागडोग्रा हुँदै पानीटंकी नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं. २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्ग स्तरकै पक्की चार लेनको पुल निर्माण गर्दा नेपालतिरको करीव डेढ किलोमिटर भागसम्म पहुँच सडक विस्तार गरेको हो । यही पहुँच सडक र पुल नेपालभित्र निर्मित एसियाली राजमार्गको पहिलो संरचना मानिन्छ ।

नेपाल भारत सीमास्थित मेची नदीमा बनेको पक्की चार लेनको पुल ७९० मिटर लामो रहेको छ । चार लेनको ५०० मिटर पहुँच मार्गले काँकरभिट्टाको मुख्य बजारलाई जोडेको छ ।

के हो एसियाली राजमार्ग 

एसियाका ३२ मुलुकलाई स्थलमार्गले जोड्ने एसियाली राजमार्गको कूल लम्बाई एक लाख ४१ हजार किलोमिटर रहने बताइएको छ ।

सबै मुलुकमा एउटै स्तर र मापदण्डमा आधारित भएर निर्माण हुने यो राजमार्गले एसियाली देशहरुबीचको सम्बन्ध र सम्पर्कलाई अझ नजिक तुल्याउने अपेक्षा गरिएको छ ।

स्थलमार्गबाट एसियाका देशहरुलाई जोडेर व्यापार र पर्यटक प्रवर्धन गर्ने मूल उद्देश्य बोकेको एसियाली राजमार्गको अवधारणा पुरानै हो ।

सन् १९९२ मै एसियालाई यूरोपसँग जोड्नका लागि एसियाली राजमार्गको अवधारणा ल्याइएको थियो । ‘युनाइटेड नेसन्स इकोनोमिक्स एन्ड सोसल कमिसन फर एसिया एन्ड द प्यासिफिक’ नामक संयुक्त राष्ट्र संघको निकायले यसका लागि एसियाली मुलुकहरुसँग प्रस्ताव गरेपछि ३२ मुलुकले यसलाई स्वीकार गरे ।

एसियाली राजमार्ग आफैमा अलग राजमार्ग होइन । चालू अवस्थाकै विभिन्न मुलुकमा रहेका अन्तरदेशीय राजमार्गहरुको सञ्जालको रुपमा यसको पुन:निर्माण भइरहेको हो । पुराना राजमार्गलाई नै नयाँ नक्सांकन गरेर राजमार्गलाई ‘क’ श्रेणीमा पुन:निर्माण गरिने कार्य हाल तीब्र रुपमा भइरहेको छ । 

एसियाली विकास बैंक (एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) को लगानी र चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका सम्पन्न देशहरुको ठूलो लगानीमा एसियाली राजमार्गको विस्तार भइरहेको छ ।

नेपालमा दुईवटा रुट

एसियाली राजमार्गको स्वीकृत रुटमा नेपाल चारै दिशाबाट समेटिएको छ । पूर्वमा काँकरभिट्टा, पश्चिममा बनबासा, उत्तरमा तातोपानी र दक्षिणमा वीरगञ्जबाट उक्त राजमार्ग नेपाल भित्रिनेछन् ।

थाइल्यान्डको बैंककबाट सुरु हुने रुट–२ अन्तर्गत म्यान्मार, बंगलादेश र भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्गमा मिसिन्छ । यो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको बनबासा हुँदै भारतको दिल्लीतर्फ सोझिनेछ । 

भारतको दिल्लीबाट पाकिस्तानको कराँचीसम्म यो रुटले थाइल्यान्ड, म्यान्मार, बंगलादेश, भारत, नेपाल र पाकिस्तान गरी ६ वटा मुलुकलाई जोड्नेछ । यसले नेपालको पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा रुपान्तरण गर्ने निश्चित छ ।

रुट–४२ अन्तर्गत भारतबाट नेपाल प्रवेश गर्ने एसियाली राजमार्गको अर्को रुट चीनको तिब्बत प्रान्तको राजधानी ल्हासा पुग्नेछ । यसले अरनिको राजमार्गलाई एसियाली राजमार्गमा रुपान्तरण गर्नेछ ।

अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–सूर्यविनायकको काम सकिएको छ । सूर्यविनायकदेखि धुलिखेल हुँदै यो सडक चीनतिर जानेछ ।  भारतको रक्सौलबाट नेपाल प्रवेश गर्ने यस रुटमा वीरगञ्ज, नारायणगढ, काठमाडौँ, धुलिखेल, बाह्रबिसे र तातोपानी जोडिनेछन् । 

लामो सडक भारतमा बन्ने

एसियाका ३२ मुलुकमा एसियाली राजमार्ग निर्माण हुनेछन् । जसमध्ये सबैभन्दा लामो खण्ड भारतमा निर्माण हुने बताइएको छ ।

छिमेकी मुलुक भारतमा उक्त राजमार्गको २७ हजार ९८७ किलोमिटर खण्ड निर्माण हुनेछ । दोस्रो लामो सडक चीनमा बन्नेछ । चीनमा एसियाली राजमार्गको २५ हजार ५७९ किलोमिटर खण्ड निर्माण हुने भएको छ ।

नेपालमा पूर्व काँकडभिट्टादेखि पश्चिम बनबासा र उत्तर तातोपानीदेखि दक्षिण वीरगञ्जसम्मको एक हजार ३२१ किलोमिटर लामो सडक निर्माण हुनेछ ।

यसैगरी, बंगलादेशमा एक हजार ८०४ किमि, श्रीलंकामा ६५० किमि, पाकिस्तानमा पाँच हजार ३७७ किमि र भूटानमा २७६ किमि सडक बन्ने भएको छ । भूटानको थिम्पुबाट भारत–बंगलादेश सीमा च्यांग्राबन्धसम्म एसियाली राजमार्गले जोडिने छ ।

पूर्वमा असारदेखि काम सुरु हुने

पूर्वतिर काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५.५ किलोमिटर सडक खण्डमा एसियाली राजमार्ग अन्तर्गत सडक तथा पुल निर्माण कार्य सुरु गरिने भएको छ ।

एसियाली विकास बैंकले सो सडक निर्माणका लागि ३० करोड अमेरिकी डलर ( रु. ३८ अर्ब) बराबरको ऋण स्वीकृत गरेको छ । नेपालले आन्तरिक स्रोतबाट रु. सात अर्ब लगानी जुटाउनु पर्नेछ ।

यो सडक बनाउनका लागि एसियाली विकास बैंकको आयोजना निर्देशनालयले ठेक्का प्रक्रिया अघि बढाइसकेको छ । विभिन्न खण्डमा गरेर सडक निर्माण गरिने भएको छ । सहरी क्षेत्रमा छ लेन र अन्य स्थानमा चार लेन मात्र सडक निर्माण गरिने बताइएको छ ।

एसियाली विकास बैंक आयोजना निर्देशनालयका उपआयोजना निर्देशक प्रदीप शाक्यले झापादेखि सुनसरीको लौकहीसम्मको एसियाली राजमार्गमा छ वटा आधुनिक आर्कब्रिज, चारआली, बिर्तामोड र इटहरीमा अन्डर–पास निर्माण गरिने बताउनुभयो । अहिलेका पुराना सबै पुललाई विस्थापित गरी नयाँ र फराकिला पुलको निर्माण गरिने बताउनुभयो । 

उहाँले अनुसार कोशी नदी पश्चिमको लहान खण्डमा निर्माण कार्य धमाधम भइरहेको छ भने नारायणगढ–हेटौँडा–पथलैया–कमला खण्डमा पनि काम अघि बढाइने भएको छ ।

नेपालको पूर्वपश्चिम राजमार्गलाई ‘सी–ग्रेड’को मानिन्छ । अब पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरेर एसियाली राजमार्ग मापदण्ड अनुरुप ‘ए–ग्रेड’को बनाउनु पर्ने छ । उहाँले बजार क्षेत्र भने छ लेनको सडक बनाइने बताउनुभयो ।

मेची उद्योग बाणिज्य संघ मेचीनगरका पूर्व अध्यक्ष विजय डालमियाले भारत, चीन, बंगलादेश, भूटान जस्ता भौगोलिक तथा व्यापारिक निकटता भएका देशहरुलाई सुविधाजनक सडकमार्गबाट जोड्ने एसियाली राजमार्गको स्थापनाबाट नेपालले व्यापारिक र पर्यटकीय चहलपहल बढ्ने बताउनुभयो । 

उहाँले फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वी नाकाबाट स्थल मार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने बताउनुभयो । –––


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।