१२ साउन २०८१, शनिवार

जन्मकैद भोगिरहेका रेशमलाई राष्ट्रपतिले दिए आममाफी

१५ जेठ २०८०, सोमवार
Image

झापा, १५ जेठ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरीले आममाफी पाउनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी दिनुभयो ।

मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस बमोजिम टोपबहादुर बुढा सहित १९ जनालाई संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।

डिल्लीबजार कारागारका जेलर खड्गराज शर्माका अनुसार रेशम आज विहान १० बजेपछि जेलबाट मुक्त हुनुहुनेछ ।

रेशमको राजनीतिक उतारचढाव

विद्यार्थी जीवनकालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु सदस्य समेत भएका रेशम गीत संगीतमा लागेपछि सक्रिय राजनीतिबाट लगभग अलग भएका थिए ।

राजनीतिबाट अलग भएपछि उनी मार्सल आर्ट प्रशिक्षक भए, रेडियो कार्यक्रम चलाउन थाले । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि प्रधानमन्त्रीका लागि निवेदन माग गर्दा रेशमले पनि निवेदन दिएर चर्चामा आए । २०६२÷६३ को आन्दोलन सफल भएपछि रेशम कैलालीको टीकापुर फर्किए ।

टीकापुरमा फूलबारी एफएम चलाउन थाले, टीकापुर महोत्सव गर्न थाले । महोत्सवमा प्रमुख दलका नेताहरुलाई प्रमुख अतिथि बनाएर लैजाने गरेका उनले नेता बन्ने चाह लुकाएका थिएनन् ।

दोस्रो संविधानसभामा प्रदेशहरुको संख्या र सीमाबारे बहस चर्किरहेका बेला देशका विभिन्न भागमा आन्दोलन उठ्यो । सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नारा लाग्यो । रेशम बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरको थारु बहुल क्षेत्रलाई छुट्टै प्रदेश बनाउनुपर्छ भन्ने आन्दोलनमा लागे ।

त्यसक्रममा ७ भदौ २०७२ मा टीकापुरमा हिंसात्मक घटना भयो । तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भयो । त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले आफूसहित ८८ जनाविरुद्ध मुद्दा चलाएपछि रेशम फरार भए । भूमिगत रहेकै अवस्थामा कहिले जंगल त कहिले खेतबारीमा भिडियो रेकर्ड गराएर आफू निर्दोष भएको सन्देश प्रवाह गरिरहे । २०७३ असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेका बेला रेशम एक रात्रिभोजमा उनलाई भेट्न सफल समेत भए ।

२०७४ मंसिरमा आमचुनाव भयो, रेशमले भूमिगत स्थितिमै तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिए । अनि, वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई २१ हजारको फराकिलो अन्तरले हराउँदै सांसद चुनिए । वारेसमार्फत उम्मेदवारी दिएर चुनाव त जिते, सांसद निर्वाचित भएको प्रमाणपत्र बुझ्न आफैं आउनुपर्ने भयो ।

त्यसरी आउँदा पक्राउ पर्ने पक्का थियो, त्यसले वारेसमार्फत प्रमाणपत्र बुझ्न पाउनुपर्ने माग गर्दै वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दिए । सर्वोच्चले आफ्ना माग अस्वीकार गरेपछि रेशमले १५ फागुन २०७४ मा आफूविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत, कैलालीमा आत्मसमर्पण गरे ।

पुर्पक्षका लागि थुनामा रहेकै बेलामा १९ पुस २०७५ मा सांसदको शपथ लिए । त्यसको दुई महिनापछि जिल्ला अदालत, कैलालीले जन्मकैदको सजाय सुनायो भने ३ पुस २०७७ मा उच्च अदालत, दिपालयले राजकुमार कठरियासहित तीन जनाको जन्मकैद उल्टी गर्दा पनि रेशमको सजायलाई सदर र्गयो ।

दुई पटकको संसद विघटनपछि उनी आवद्ध दल राजपासँग एकतापछि जनता समाजवादी पार्टी (जसपा) शेरबहादुर देउवा नेतृत्वको सरकारमा गयो, तर न उनको मुद्दा फिर्ता भयो, न उनी रिहा भए । एक पटक पनि संसद बैठकमा सहभागी हुन नपाई उनको ५ वर्षे कार्यकाल सकियो ।

जेलमा बसेर भएपनि राजनीतिलाई नियालिरहेका रेशमले अर्को निर्वाचनको पूर्वसन्ध्यामा अर्को कदम चाले, श्रीमती रञ्जिताको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन । पुस २०७९ मा गठन भएको नाउपाले रेशम चौधरीकै तस्वीर राखेर चुनावमा नारा लियो, ‘ढकियामा मतदान, जीवनदान ।’

वैशाख २०७९ को स्थानीय चुनावमा नाउपाले टीकापुरसाथै भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा प्रमुख नै जित्यो । त्यही नाराका साथ मंसिरको चुनाव लडेको नाउपाले प्रतिनिधिसभामा चार सांसद जित्यो ।

कैलाली १ मा रञ्जिता आफैं जित्दा २ मा अरुण चौधरी र ३ मा गंगाराम चौधरी विजयी भए । रेशम आफैं बर्दिया २ मा उम्मेदवार भएका थिए, उनको उम्मेदवार खारेज भएपछि स्वतन्त्र उम्मेदवारका रुपमा उनका बुबा लालवीरले चुनाव जिते । समानुपातिकतर्फ थारु बहुल क्षेत्रमा राम्रै मत पाएको थियो । यद्यपि कुल सदर मतको ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन ।

प्रदेशसभामा भने सुदूरपश्चिममा नाउपा सत्ता समीकरणमा निर्णायक रह्यो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नाउपाको ७ सिट रह्यो र नाउपाले मत नदिएकै कारण एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री भएका राजेन्द्र रावल पदमुक्त भए । अहिले कांग्रेस–माओवादी गठबन्धनको सरकार छ, र नाउपा निर्णायक नै छ ।

यस्तै ८७ सदस्यीय प्रदेशसभा भएको लुम्बिनीमा ४ र १०७ सदस्यीय मधेश प्रदेशमा १ सिट छ ।

केन्द्रमा एमाले–माओवादी गठबन्धन हुँदा सरकारको समर्थक बनेको नाउपा अहिले कांग्रेस–माओवादी गठबन्धनमा सत्ता सहयात्री बनेको छ । नाउपा अध्यक्ष रञ्जिता आफैं १७ चैतमा भूमि व्यवस्थामन्त्री भएकी छन् ।

सत्ता सहयात्रासँगै रेशमको मुद्दाले पनि गति लियो । सरकारले रेशमको मुद्दा फिर्ता लिन मिल्ने गरी विधेयक ल्यायो । उक्त विधेयक संसदमा विचाराधीन रहेकै बेला सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन पुनरावेदनमा सुनुवाइ भयो र २ जेठमा उनको जन्मकैद सदर भयो । लक्ष्मण थारुको कैद उल्टी हुनुका साथै जन्मकैदको सजाय काटिरहेका सीताराम र गंगाराम चौधरीको सफाइ पाउँदा रेशमको हकमा उच्च अदालत, दिपायलको फैसला सदर भएको थियो ।

तर त्यसको दुई साता बित्न नपाउँदै सरकारको प्रस्तावमा राष्ट्रपतिले रेशमले बाँकी कैद सजाय माफी दिएका छन् ।