७ वैशाख २०८१, शुक्रवार

विद्यालय कर्मचारीद्वारा शिक्षा कार्यालयमा धर्ना

२२ जेठ २०८०, सोमवार
Image

झापा, २२ जेठ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले सोमबार जिल्ला शिक्षा कार्यालय झापामा धर्ना दिएका छन् । 

उनीहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवासुविधा सम्बोधन नगरेको भन्दै कार्यालयमा धर्ना दिएका हुन् । 

उनीहरुले ‘संघीय शिक्षा ऐन तत्काल जारी गर, तत्काल बजेट संशोधन गरी कर्मचारीको माग सम्बोधन गर’ विविध नारासहितका प्ले कार्डसहित धर्ना दिएका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले आर्थिक वर्ष २०८०/०८१ बजेटमा विद्यालयका कर्मचारीलाई सम्बोधन नगरेपछि चरणबद्ध आन्दोलन घोषणा गरेको छ । 

जेठ २१ गतेबाट आन्दोलनमा होमिएको परिषदले सोही दिन देशभरका शिक्षा विकास तथा समन्वय इकाइहरुमा धर्ना दिएको छ ।

विद्यालयको तालाचावी बुझाएर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएको कर्मचारी परिषद्का मेचीनगर अध्यक्ष हरि कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा ४९० जना विद्यालय कर्मचारी कार्यरत छन् । 

आन्दोलनको कार्यक्रम अन्तरगत जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाण्डौको भद्रकालीमा रिले अनशन बस्ने तालिका छ ।  असार २ गतेदेखि माग सम्बोधन नहुन्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरिने परिषदका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।