१४ वैशाख २०८१, शुक्रवार

नक्कली नम्बरप्लेट टाँसिएको वेवारिसे गाडी बरामद

२६ जेठ २०८०, शुक्रवार
Image

झापा, २ जेठ । कचनकबल गाउँपालिका वडा नं. ६ को बनियानी बजारमा नक्कली नम्बर प्लेट लगाइएको बोलेरो जीप वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ ।

मे१च ७९४६ नम्बर लेखिएको महिन्द्रा बोलेरो जीप मेची राजमार्गस्थित एउटा कल्भर्ट छेउमा भेटिएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

झापा जिल्ला प्रहरी कार्यालयले रु. १२ लाख मूल्य पर्ने सो गाडीलाई आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालयमा आज बुझाएको छ ।

कल्भर्ट छेउमा पार्किङ गरिएको गाडी लिन कोही नआएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले गाडीको नम्बर जाँच गर्दा यातायात व्यवस्था कार्यालयमा नम्बर नै नरहेको पत्ता लागेको थियो ।

यसैगरी, झापा जिल्ला प्रहरी कार्यालयले डाका र खोटा चलान.अभियोगमा दुई जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको जनाएको छ । 

पक्राउ पर्नेहरुमा इलामको माई नगरपालिका वडा न. २ दानाबारी घर भएका ३६ वर्षीय वीरबल राई र झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ बस्ने ५२ वर्षीय बुद्धिकुमार केरुङ रहेका छन् ।

झापा जिल्ला अदालतले राईलाई २०७४ मा ६ बर्ष कैद र रु. तीन लाख जरिवाना तोकेको थियो भने केरुङलाई २०७६ मा ३ वर्ष कैद र रु. १० लाख जरिवाना तोकेको थियो । अभियक्तहरु अदालतको फैसलाको अवज्ञा गरी फरार रहँदै आएका थिए । 

पक्राउ परेका दुबै अभियुक्तलाई आज जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि झापा जिल्ला कारागारमा चलान गरिएको सूचना अधिकारी रिजालले बताउनुभयो ।