२२ वैशाख २०८१, शनिवार

अब मेचीनगरलाई ‘लागूऔषध प्रयोग मुक्त’ बनाइने

२८ जेठ २०८०, आइतवार
Image

काँकरभिट्टा, २८ जेठ । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले कार्यक्रमका निम्ती कार्यक्रम गरेर, भाषण गरेर मात्र लागूऔषध नियन्त्रण नहुने बताएका छन् ।

शनिबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा नगरपालिकाले आयोजना गरेको लागूऔषध प्रयोग मुक्त नगरपालिका प्रारम्भिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मेयर बुढाथोकीले कालोपिच बनाएर विकास गर्नु भन्दा लागूऔषधमा फसेकालाई स्वास्थ र असल नागरिक बनाउनु उचित रहेको बताए । सबैको सहकार्य भए ८० प्रतिशत लागूऔषध न्युनिकरण हुने उनको भनाई छ ।

उनका अनुसार मान्छे बचाँउ, जीवन बचाँउ, समाज बचाँउ अभियानमा सबैले साथ दिए लागूऔषध नियन्त्रण हुनेछ । उनले सीमा नाकामा लागूऔषध बिक्री वितरण तथा ओसारप्रसार नियन्त्रण गर्न भारतसँग नेपाल सरकारले पहल गर्नुपर्ने बताए ।

‘मेचीनगरमा लागूऔषधमा फसेका युवा–युवतीहरुको घरपरिवारको अवस्था दहनिय छ’, मेयर बुढाथोकीले भने–‘उनीहरुका अभिभावक सधैँ छोराछोरीको पिरले घुक्क घुक्क रोइरहेका छन् । त्यसैले आमाको काँखको बच्चादेखि विद्यालयसम्म यसका विरुद्ध अभियान चलाउन आवश्यक छ । त्यो अभियान अब चाँडै सुरु हुन्छ ।’

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले मेचीनगरमा लागूऔषधले महामारीको रुपलिएको बताए । बालबच्चादेखि वृद्वसम्म यसको कुलतमा फसेको उनको भनाई छ । लागूऔषध मुक्त नगर स्थापना गर्न सबै एकजुट हुनु पर्ने सांसद तामाङको जोड थियो ।

कार्यक्रमको स्वागत गरेकी उपमेयर मीना पोखरेल उप्रेतीले खुल्ला सीमाना यसको मुख्य चुनौती रहेको बताइन् । यहाँका अधिकांश युवाहरु लागूऔषधमा फसेका कारण समाजमा अपराधिक घटनाहरु बढ्दै गएको दावी गरिन् ।

नारकोनन् नेपालका अध्यक्ष एवम् पूर्व प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूपदार्थ एउटा घरको मात्र समस्या होइन, यो देशको, विश्वको समस्या रहेको बताए ।

मुख्य प्रशिक्षक समेत रहेका कुँवरले लागूऔषधमा फसेका, समस्या र समाधानका विषयमा प्रष्ट पारेका थिए । उनले लागूऔषधका सम्बन्धमा मेचीनगर नेपालकै रेडजोनमा रहेको दावी गरे । उनले टोलटोल, वडा वडा र विद्यालयमा लागूऔषधका विषयमा इजरायल मोडलको कार्यक्रमहरु सञ्चालन गर्न नगरपालिकालाई सुझाव दिएका थिए ।

विद्यालयमा ड्रग्स नियन्त्रण शिक्षक, टाक्स फोर्स, एन्टी ड्रग्स क्लब, आमा समूह, दवाव समूह लगायतका समूह बनाएर लागूऔषध न्युनिकरण गर्न सकिने कुँवरको भनाई छ । 

उनले लागूऔषध नखाएकालाई खान नदिने, खाएकालाई चिन्ने, चिनेकालाई उपचार र व्यवस्थापन गर्ने, उपचारबाट फर्किएकालाई फेरि खान नदिने र बेचविखन गर्नेलाई कारवाही गर्ने नीति अपनाउन सके न्युनिकरण हुनसक्ने बताए ।

प्रशिक्षण कार्यक्रममा नगरका सबै संघ–संस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।