२ कार्तिक २०८१, शुक्रवार

एनएमसीले ल्यायो आफ्नै ब्रान्डको सीटीसी चिया

२९ जेठ २०८०, सोमवार
Image

मेचीनगर, २ जेठ । झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्नै ब्रान्डको सीटीसी चिया बजारमा ल्याएको छ । 

एनएमसीले आइतवार विर्तामोडस्थित आफ्नै सभाहलमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको सो सहकारीले हाल चियासहित पाँचवटा व्यवसाय बचत तथा ऋण, डेरी उद्योग, कृषि फार्म र सहकारी पसल सञ्चालन गरिरहेको छ । 

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीका अनुसार चिया व्यवसाय अन्तर्गत संस्थाले पहिलेदेखि नै अर्थोडक्स चिया अन्तर्गत ग्रीन टी र ब्ल्याक टी बजारमा ल्याएको थियो भने हालै सीटीसी चिया प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएको हो । 

एनएमसी टी ब्रान्डमा ५०० ग्राम र २०० ग्रामका प्याकेट बजारमा ल्याइएको छ । एनएमसीका अर्थोडक्स चियाका पारखीहरुको माग अनुसार नै उद्योगले सीटीसी चिया बजारमा ल्याएको र यसलाई चियाका आम पारखी उपभोक्ताले मन पराइदिने अपेक्षा राखिएको उहाँले बताउनुभयो । 

एनएमसीका चियाहरु नेपाली बगानबाट उत्पादित, उत्कृष्ट, गुणस्तरीय र ताजा रहेको जनाउँदै अध्यक्ष उप्रेतीले यसको उत्पादन र प्रशोधनमा चिया विज्ञको परामर्श लिइएको र प्रयोगशाला परीक्षण गरिएको जानकारी दिनुभयो । 

संस्थाले २०५२ सालदेखि बचत तथा ऋणको व्यवसाय, २०७२ सालदेखि बहुव्यवसाय, २०७२ साल वैशाखबाट एनएमसी डेरी उद्योग र २०७५ साल माघबाट एनएमसी कृषि फार्म सुरु गरेको उहाँले बताउनुभयो । मेचीनगर–१४ दुहागढीमा १६ बिगाहा जमिन खरिद गरेर र १० बिगाहा जमिन भाडामा लिएर कृषि व्यवसाय भइरहेको उहाँले जानकारी दिनुभयो । 

२०७६ साल बैशाखबाट एनएमसी सहकारी पसल सुरु गरी हाल १६ स्थानमा यस्ता पसल सञ्चालनमा रहेको र पछिल्लो व्यवसायको रूपमा २०७८ असारदेखि झापाको मेचीनगर–५ स्थित सुरेन्द्रनगरमा एनएमसी चिया उद्योग सुरु गरिएको उहाँले बताउनुभयो । 

चिया व्यवसाय विस्तारका व्रmममा आर्थिक वर्ष २०७८/०७९ मा इलामका तीनवटा चिया सहकारी संस्थाहरु (साँघुबेँसी, सिद्धपोखरी र इलामेली)सँग एकीकरण गरी सोही आर्थिक वर्षदेखि किसानद्वारा उत्पादित हरियो चिया पत्ति खरिद र प्रशोधन गर्ने गरिएको उप्रेतीले बताउनुभयो । 

आर्थिक वर्ष २०७८/०७९ मा ७५ हजार केजी तयारी अर्थोडक्स (ग्रीन टी र ब्ल्याक टी) चिया उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा बिक्री गरिएको जनाउँदै उहाँले आउँदो आवमा त्यसलाई बढाएर दुई लाख केजी पुर्याउने लक्ष्य लिइएको बताउनुभयो । 

कार्यक्रममा एनएमसी सञ्चालक समितिकी उपाध्यक्ष भगवती मैनाली र चिया उद्योगमा कार्यरत चियाविज्ञ कमल भारतीले समेत आफ्ना धारणा राख्नु भएको थियो ।