२३ भदौ २०८१, आइतवार

यसरी फेरियो असहाय नानीबाबुको भाग्य

३१ जेठ २०८०, बुधवार
Image

विर्तामोड, ३१ जेठ । आमाको परलोक भयो । वुवा कुलतका कारण सुधारगृह पुगे । यता घरमा नावालक तीन सन्तानको विचल्ली ।

विर्तामोड नगरपालिका वडा नं. ४ सूर्योदय टोलको एक साता अघिको कथा हो यो । तर, अहिले सञ्चारकर्मी भाग्य नेउपाने र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीको पहलमा ती नावालकहरुको भाग्य नै फेरिएको छ ।

आमाको निधन र वावुको सुधारगृहको बासपछि असहाय बनेका निर्दिका, निर्विका र दुर्गेस दाहाललाई सहारा नेपालले अभिभावकत्व ग्रहण गरेको छ । उनीहरुको शिक्षा, स्वास्थ्य, भरणपोषण र सुरक्षाको जिम्मेवारी सहाराले लिएको घोषणा गरिसकेको छ । सुधारगृहमा रहेका उनीहरुका बाबुको उपचार समेत सहारा साकोसले गरिदिने भएको छ ।

अहिले ती नानी बाबुहरु सहारा साकोसले नै सञ्चालन गर्दै आएको विद्यालयमा पढ्न जान थालिसकेका छन् ।

भाग्यले गरे उद्धार

झापा शिवसताक्षी घर भएका सञ्चारकर्मी भाग्य नेउपानेले आफ्नो युट्युब च्यानल र फेसबुक पेज मार्फत तीन बालबालिकाको विचल्ली भएको समाचार ‘यस्तो कसैलाई नपरोस्’ प्रकाशमा ल्याउनु भएको हो ।

उहाँको फेसबुक पेजमा (जेठ ३१ गतेसम्ममा) तीन लाख बढीले हेरेको, एघार हजारले भावुक कमेन्ट गरेको र दुई लाखभन्दा बढीले मन पराएको पाइएको छ ।

उहाँको समाचार सार्वजनिक भइसकेपछि लाखौं दर्शक भावुक भए । दाहाल परिवारको यो मार्मिक व्यथा हेरेपछि सामाजिक अभियन्ता महेन्द्र गिरीले पनि फेसबुकमा लेख्नुभयो–‘भाग्य नेउपानेले हिजो पोस्ट गर्नुभएको भिडियोले हामीलाई भावुक बनायो । सहारा नेपाल साकोसले अब सम्पूर्ण संरक्षणको जिम्मा लिनेछ ।’

आपतविपत परेकाहरुको उद्धार, राहत र पुनस्र्थापनामा विगतदेखि नै उदाहरणीय कार्य गर्दै आउनु भएका अभियन्ता गिरीले यो समाचार प्रकाशमा ल्याउने सञ्चारकर्मी भाग्य नेउपानेलाई कार्यकक्षमै आमन्त्रण गरेर सम्मान व्यक्त गर्नुभयो ।

लगत्तै गिरीले फेसबुकबाटै नानीबाबुहरुका लागि सहारा साकोसका तर्फबाट सात बुँदे संरक्षण कार्यक्रम घोषणा गर्नुभयो ।

जसमा उनीहरुको घर पुनर्निमाणदेखि, शिक्षा, स्वास्थ्य, लालनपालन र भविष्यमा रोजगारीको समेत बाचा गरिएको छ ।

अहिले ती बालबालिकहरु सहारा साकोसकै विद्यालयमा स्कुले पहिरनमा रमाउँदै पढ्न गइरहेका छन् । आम मानिसलाई खुशी तुल्याउने एउटा भिडियो सहकारीकर्मी गिरीले नै आफ्नो फेसबुकमा राख्नु भएको छ । जसमा तीनै जना बालबालिका गिरीको कार्यकक्षमा मुड्की जुधाएर खुशी साटिरहेका देखिन्छन् ।

सहाराको के के छन् बाचा ?

सहारा नेपाल साकोसले निर्दिका, निर्विका र दुर्गेस दाहालको सरक्षणको बाचा गरेको छ ।

१. नानीहरुको उच्च शिक्षासम्मको सहयोग पुर्याउने ।

२. नानीहरु अहिले बसिरहेको घरलाई पुनः निर्माण गर्ने ।

३. घरभित्र चाहिने आधारभूत आवश्यकताका सामग्रीहरुको व्यवस्थापन मिलाउने ।

४. सानो छोरा र बाबुको उपचारमा सहयोग पुर्याउने ।

५. नानीहरुको संरक्षणका लागि केयर टेकरको व्यवस्था गर्ने ।

६. अध्ययन पछि इच्छुक भएमा एक जनालाई योग्यता अनुसारको रोजगारी दिने ।

७. माथि उल्लेखित सबै व्यवस्थाहरु मिलाउनका लागि स्थानीय निकाय तथा सरोकारवालाहरुसँग समन्वय गर्दै कानूनी प्रावधान मिलाउने ।   

सहारा बन्दैछ सहारा

सहारा नेपाल साकोस नेपालकै सबैभन्दा ठूलो एवम् प्रतिष्ठित सहकारी हो । जसका सदस्यहरु लाख नाघिसकेका छन् भने आफ्ना सदस्य र समुदायको सेवा सेवामा यो सहकारीले पुर्याउँदै आएको योगदान अतुलनीय छ । सहाराले सदस्यको स्वास्थ्य उपचारका लागि रु. १० लाखसम्मको उपचार सुविधा दिदै आएको छ । 

त्यसो त सहारा साकोसका कार्यकारी प्रमुख गिरीको नेतृत्वमा भएको अभियानले कनकाईमा समर्पण भवन र सर्पदंश उपचार केन्द्र नै सञ्चालनमा आयो ।

कोरोनाकालमा उहाँकै नेतृत्वमा पीसीआर मेसिन सञ्चालन गरिएको थियो । विपन्न र दलित समुदायको आवास निर्माण अभियानमा उहाँको नेतृत्वदायी भूमिका प्रशंसनीय छ ।