२३ भदौ २०८१, आइतवार

टोलटोलका महिलालाई शिप सिकाइँदै

३२ जेठ २०८०, बिहिवार
Image

मेचीनगर, ३२ जेठ । परनिर्भरता न्यूनीकरण गर्ने उद्देश्यले मेचीनगरको वडा नं. ८ ले स्थानीय आवश्यकताको पहिचान गरेर शिपमूलक तालिम दिन सुरु गरेको छ ।

बुधवारदेखि एक सातासम्म वडा कार्यालयले ३९ टोलका महिलालाई घरायसी मालसामान बनाउने शिप विकास तालिम सञ्चालन गरिरहेको छ ।

वडा सचिव पवित्रा सुब्बाका अनुसार तालिममा विहेको बरबधु माला, ठेकी लगायतका सामान बनाउने सिकाउने गरिएको छ । 

तालिममा जडीमाला, साइपाटा, किस्ती निर्माण तथा श्रृंगार सम्बन्धि शिप समेत प्रदान गरिएको छ । तालिमको उद्घाटन मेचीनगर वडा नं. ८ का अध्यक्ष गिरीराज धमलाले गर्नुभयो । 

हातमा शिप भए कोही पनि बेरोजगार बस्नु नपर्ने हुँदा लगनशील भएर तालिम लिन वडाध्यक्ष धमलाले आग्रह गर्नुभएको छ । 

धेरै महिलाहरू अहिले काम केही नभएको भन्दै घरमा खाली बसिरहेको पाइएको जनाउँदै वडा सदस्य कुन्दन निरौलाले शिप सिकेर आफ्नो घरायसी आवश्यकता पूरा गर्न र आयआर्जन गर्न सकिने बताउनु भयो । 

तालिमको सहजिकरण आस्था डेकोरेशन उद्योग मेचीनगर–८ ले गरिरहेको छ ।

सियोदेखि हवाइजहाजसम्म र नुनदेखि सुनसम्म विदेशी उत्पादनमा भर परेका कारण मुलुकको अर्थतन्त्र पराधिन हुँदै आएको बेला वडाहरुमा हुने यस्ता शिपमूलक तालिमले मुलुकलाई आत्मनिर्भर बनाउन अवश्यक योगदान पुर्याउने छ ।