९ मंसिर २०८१, आइतवार

'आफुखुशी शुद्धिकरण'को विरोधमा प्रेस चौतारी आन्दोलित

३२ जेठ २०८०, बिहिवार
Image

बिर्तामोड, ३२ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाले मापदण्ड मिचेर सदस्यहरुको शुद्धिकरण सिफारिस गरेकोमा आपत्ति जनाउँदै प्रेस चौतारी झापा आन्दोलित भएको छ।

पहिलो चरणको आन्दोलन अन्तरगत चौतारीले विहीबारदेखि हातमा कालोपट्टी बाँधेर धर्ना कार्यक्रम सुरु गरेको छ ।

महासंघले  शुद्धिकरणका नाममा मापदण्ड विपरित आफूखुशी सदस्यहरुको नाम प्रदेशमा नाम सिफारिस गरेपछि चौतारी आन्दोलनमा उत्रिएको हो ।

आग्रह, पूर्वाग्रह र राजनीतिक आस्थाका आधारमा सक्रिय पत्रकारको समेत नाम सिफारिस गर्ने महासंघलाई तत्काल गल्ती सच्याउन माग गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्यले बताउनुभयो ।

उहाँले महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुँदे मापदण्ड हुबहु पालना नगरेसम्म चौतारीले चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो । धर्ना कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अम्बिका भण्डारी, भीमा शिवाकोटी, टीकाराम उप्रेती, निर्वाचन समिति सदस्य सावित्रा दाहाल, पूर्व केन्द्रीय सदस्य माधव विद्रोहीलगायतको उपस्थिति रहेको थियो ।

महासंघ कार्यालयमा शुक्रवार १ बजेदेखि पुन: धर्ना कार्यक्रम सुरु हुनेछ ।