१२ साउन २०८१, शनिवार

प्रश्नहरुले घेरिएपछि प्रतिबादमा उत्रिए मेचीनगरका मेयर

१ असार २०८०, शुक्रवार
Image

मेचीनगर, १ असार । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले नगरपालिकाका क्रियाकलापहरुका बारेमा उठेका प्रश्नहरुको प्रतिबाद गर्दै फेसबुकबाटै जवाफ फर्काउनु भएको छ ।

आज सामाजिक सञ्जालमार्फत उहाँले सामाजिक सुरक्षा भत्ता, बेरुजु, तारजाली र खानेपानीको बिलका विषयमा धारणा व्यक्त गर्नुभएको हो ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा मेचीनगरमा एउटै व्यक्तिलाई दोहोर्याई तेहेर्याई भत्ता वितरण गरिएको लगायतका विषय उठान गरिएको थियो । छानविन गरेर यकिन गर्न महालेखाले सुझाव पनि दिएको थियो ।

यस बारेमा फेसबुकमा जवाफ दिदै नगरप्रमुख बुढाथोकीले यस्तो लेख्नु भएको छ ।

आदरणीय नगरबासी महानुभावहरु,

केही दिन देखि मेचीनगर नगरपालिकाका केही समाचारहरुको बारेमा केही यथार्थ सार्वजनिक गर्नै पर्ने भएकाले केही बिषय स्पष्ट पार्न चाहन्छु ।          

(१.) सामाजिक सुरक्षा भत्ताको बिषयमा मलाई गत कार्तिक महिनामा नै कोलेनिकाले रेकर्ड मिलेको छैन जस्तो छ, समस्या पहिचान गरेर समाधान गर्न सुझाब दिएको र  तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराएँ । सम्बन्धित कर्मचारीलाई समेत पटक पटक समस्या पहिचान र समाधान गर्न आदेश गरियो  । यहि बिचमा महालेखा परीक्षकले परीक्षण गर्दा लामो समयदेखिको नपाको र बैंकको हिसाब विवरणमा ठूलो रकम फरक परेको देखिए पछि समस्या पहिचान भई समाधान गरिएको छ । तर के ५/६ वर्षदेखिको समस्या हामीले हाम्रो कार्यकालमा सिर्जना गरेको हो कि हामीले समाधान चै गरेको ?

महालेखाकै प्रतिवेदनमा नगरपालिकाको बेरुजु रु. १७ करोड पुगेको उल्लेख छ । यसलाई नगरपालिकाको आर्थिक सुशासनको पाटो कमजोर भएको रुपमा बुझ्न सकिन्छ । यही विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रश्नहरु गरिएका थिए । उहाँको जवाफ यस्तो छ ।

(२.) बेरुजु विवरण ः सवै सरकारी कार्यलयको कारोवार प्रत्येक आर्थिक वर्षको अन्त्य पछिअर्को आर्थिक बर्षमा अघिल्लो वर्षको कारोवार कानुन बमोजिम भए नभएको महालेखा परीक्षकको कार्यालयले परीक्षण गर्छ । 

बेरुजु भनेको कानुन बमोजिम सबै प्रकृया पूरा नगरी गरिएको भुक्तानी लगायतका कार्य पर्छन् । प्रचार गरिएको १७ करोड बेरुजु कुन आ.ब.को हो भनेर उल्लेख नगरी चालू आ.ब.को बेरुजु हो जस्तो बुझिने गरी प्रचार गरिएको छ । यो बेरुजु  आ.ब.२०७८/०७९ को हो । सो वर्ष हाम्रो कार्य जम्मा ४८ दिन हो । त्यो पनि आ.ब. को अन्त्य समय । तर हाम्रै कार्यकालमा सखाप पारेको भन्ने कुप्रचार गरिएको छ ।

यसैबीच, नगरपालिकाको तारजाली हराएको विषयमा समेत मिडियामा समाचार आएका छन् । यस बारेमा नगरप्रमुख बुढाथोकीको जवाफ यस्तो छ ।

(३.) आज फेरि तारजाली (आएछ) । हामी गत वर्ष बैसाख ३० गतको निर्वाचनबाट निर्वाचित भई जेठ १२ गतेदेखि कार्यभार सम्हाल्दा जम्मा ६८/७० वटा मात्र तार जाली थियो । के हालत भयो होला, त्यो पनि जेठ असारमा । तत्काल नै खरिद गर्न सकिएन । लामो समयसम्म खरिद भएन । कारण बिगतका केही घटना क्रमको अनुमान गर्दा हुन्छ । अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृतले खरिद प्रक्रिया बढाउनु भएको छ । तर अघिल्लो वर्षको तार जाली वितरणको अभिलेख नभएको हामीले खोज्यौं । यथार्थ थाहा पाउन छानबिन गरिदैछ । तर समाचार र प्रतिक्रियाहरु यहीँ वर्षको तार जाली हिनामिना गरेको जस्तो गरी प्रशारित छ । 

नगरपालिका कार्यालयको खानेपानीको बिल नतिरेर धाराको लाइन काटिएको छ । यस विषयमा सञ्चारमाध्यमहरुमा समाचार आएका थिए । नगरपालिका निकम्मा भएको र बिल समेत तिर्न छाडेको भनेर टिप्पणी भएका थिए । यसमा नगरप्रमुख बुढाथोकी यसरी जवाफ लेख्नुहुन्छ । 

(४.) पानीको बिल मात्रै होइन, नपा अन्तर्गतका पानी, बिजुली लगायत धेरै विषयका ५/६ वर्षदेखिको बिल वक्यौता रहेछन् । भुक्तानी दायित्व रेकर्डमा नदेखिदा भुक्तानीमा पनि समस्या हुने यस्ता समस्या धरै रहेछन् । जुन बिषय जनप्रतिनिधिलाई थाहा हँुदैन, समस्या आएपछि मात्र थाहा हुन्छ । गत घटनाको पानीको विल वैशाखमै भुक्तानीका लागि निर्णय गरेको तर भुक्तानी भएनछ ।

उपरोक्त प्रकृतिका र अन्य पनि थुप्रै व्यवस्थापकीय समस्याहरु थाहा हँुदैछन र क्रमशः समाधान गरिने छ । नगरपालिका अविच्छिन्न उत्तराधिकारी संस्था हो काम गर्ने क्रममा कमजोरीहरु हुन्छन् । तर कमजोरीहरु कुन प्रकृतिका हुन्, नियतपूर्वक हुन् होइनन् निक्र्योल गर्नु पर्छ । जिम्मेवारीमा आएपछि जुनसुकै कालको होस् कसैलाई लान्छना लगाएर पन्छिनु हँुदैन । समस्या समाधानमा सबैको सहयोग लिएर लाग्नु पर्छ र लागिरहेका छौ । तर निरन्तर प्रहार भएकाले केही स्पस्ट पार्न चाहे । अन्यथा हँुदैन होला । 

केही भन्दैन, यथार्थ थाहा पाउँ भन्ने अपेक्षा धेरैको छ । केही दिन पछि सन्दर्भ मिलाएर नपाको तर्फबाट अन्य बिषय समेत सार्वजनिक गर्नेछु । धन्यवाद ।

नगरप्रमुख बुढाथोकीको जवाफ पढेर विभिन्न क्षेत्रबाट टिकाटिप्पणी हुन थालेका छन् । कतिले कर्मचारीबीच तालमेल मिलाउन नसकेको, समस्याको सही पहिचान गर्न नसकेको, काम गर्ने क्षमता नभएको आदि नकारात्मक टिप्पणी गरेका छन् भने कतिपयले जवाफप्रति सन्तुष्टि जनाएका छन् । केहीले यसरी फेसबुकबाटै जवाफ लेख्नुभन्दा पत्रकार सम्मेलन गरेर जनस्तर र मिडियाबाट उठेका सवालहरुको सम्बोधन गर्नु उचित हुने सुझाव पनि दिएका छन् ।