४ मंसिर २०८२, बुधवार

बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीत भण्डार बनाउने तयारी

४ मंसिर २०८२, बुधवार
Image

नमुना चित्र ।

झापा, ३ मङ्सिर । बुद्धशान्ति गाउँपालिकाले कृषि उपजको भण्डारणका लागि २० टन क्षमताको शीत भण्डार निर्माण प्रक्रिया अघि बढाइएको छ । 

गाउँपालिकाले वडा नं.४ को टिमाईस्थित सब्जी मण्डीमा रु. २२ लाखको लागतमा शीत भण्डार बनाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताउनुभयो ।

बुद्धशान्ति व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानको संख्या धेरै भएको पालिकाको रुपमा चिनिदै आएको छ । शीत भण्डारका लागि पालिकाले बजेट सुनिश्चित गरेर स्थानको छनौट गरिसकेको उहाँले जानकारी दिनुभयो ।

“शीत भण्डार निर्माण भएपछि किसानले उत्पादन गरेका कृषिजन्य सामग्री भण्डारण गरेर उचित मूल्यमा बेच्न सक्नेछन्,” उहाँले भन्नुभयो– “धेरै पहिलेदेखि किसानहरुले गरेको माग अब पूरा हुने भएको छ ।” 

यहाँको शीत भण्डारबाट छिमेकी रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाका किसानहरु पनि लाभान्वित हुनेछन् । शीत भण्डारसहितको आधुनिक कृषि मण्डी निर्माणमा रु. ६२ लाख खर्च लाग्ने भएको छ । जसका लागि कोशी प्रदेश सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लागत साझेदारी गर्ने भएका छन् । 

चालू आर्थिक वर्ष २०८२/०८३ मा उक्त निर्माणका लागि प्रदेश र पालिकाले आवश्यक बजेट विनियोजन गरिसकेका छन् । बुद्धशान्तिको वडा नं. ४ मा शीत भण्डार र वडा नं. ३ मा कृषि मण्डी निर्माण गरिने बताइएको छ ।

स्थानीय किसान बाबुलाल राजवंशीले शीत भण्डार निर्माण हुन लागेकामा खुशी व्यक्त गर्दै अब यहाँ उत्पादित तरकारी बजारमा तत्कालै विक्री नभएर कम मूल्यमा बेच्नुपर्ने बाध्यता अन्त्य हुने आशा व्यक्त गर्नुभयो ।