झापा, ३ मङ्सिर । अर्जुनधारा जलेश्वर धाम, शताक्षीधामसहित झापाका विभिन्न मठमन्दिरमा आज शतबीज छर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
बालाचतुर्दशी पर्वको अवसरमा पितृ उद्धारका लागि शतबीज छर्ने चलन छ । शतबीज छर्नका लागि नेपालको पूर्वी पहाडी जिल्लाका भक्तजनका साथै भारतको सिक्किम, आसाम र बंगालदेखि हिन्दू धर्मावलम्बीहरु अर्जुनधारा जलेश्वर धाममा आउनु भएको धाम समितिका कोषाध्यष मनोज जोशीले बताउनुभयो ।
भक्तजनहरु त्रयोदशी साँझमा अखण्ड दीप प्रज्ज्वलन गरी रातभर जाग्राम बसेका थिए । आज विहान सबेरैदेखि धाम परिक्रमा गरी शतबीज छर्नेहरुको भीड लागेका उनीहरुको व्यवस्थापन गर्न प्रहरी, स्वयम्सेवक र स्काउटका विद्यार्थीलाई हम्मे हम्मे परिरहेको छ । धाममा कात्तिक २७ गते सुरु भएको वायु महापुराण आज समापन हुँदैछ ।
शिवसताक्षीको शताक्षीधाम, मेचीनगरको श्रीकृष्ण थुम्की लगायतका मन्दिरहरुमा समेत शतबीज छर्ने भक्तजनको घुइँचो लागेको छ ।