२ कार्तिक २०८१, शुक्रवार

‘तारजाली वितरणको सबै रेकर्ड भेटियो’

२ असार २०८०, शनिवार
Image

मेचीनगर, २ असार । मेचीनगर नगरपालिकाले हराएको भनिएको तारजाली भेटिएको दावी गरेको छ ।

विपत व्यवस्थापनमा प्रयोग गर्ने उद्देश्यले नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा नगरको बजेटबाट रु. २० लाखमा ५०० थान तारजाली खरिद गरेको थियो ।

खरिद गरेको ५०० थान तारजालीमध्ये ४२० थान कहाँ प्रयोग भयो भनी अभिलेखमा नभेटिएपछि नगरको कार्यपालिकाले छानविन समिति गठन गरेको थियो ।

नगरपालिका स्रोतका अनुसार तारजाली कतै हराएको वा चोरी भएको थिएन । आपतकालीन अवस्थामा काममै प्रयोग भएको तारजालीको अभिलेख मूल खातामा नसारिएको कारण महालेखाको प्रतिवेदनले समेत तारजाली नभेटिएको जनाएको थियो ।

‘कुन तारजाली कहाँ कहाँ प्रयोग भएको हो भन्ने दुरुस्त विवरण भेटिएको छ, कुनै चोरी भएको वा अनियमितता भएको होइन,’ नगर स्रोतले भन्यो–‘वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गरिएको थियो । समितिले आइतवार यसको प्रतिवेदन बुझाएपछि नगरपालिकाले यथार्थ सार्वजनिक गर्छ ।’

तारजाली विषयमा प्रश्न उठेपछि नगरप्रमुख गोपाल बुढाथोकीले समेत फेसबुकमा प्रष्टिकरण दिनु भएको थियो । उहाँले आफुहरु निर्वाचित भएर आउनुभन्दा अगाडिको घटना भए तापनि वास्तविकता खोज्नु दायित्व भएको बताउनु भएको थियो ।

यो तारजाली खरिद कार्य यसअघिको नगरप्रमुख विमल आचार्यको पालामा भएको थियो । गत आवमा अहिलेका नगरप्रमुख बुढाथोकीले ४८ दिन मात्र जिम्मेवारी सम्हाल्न पाउनु भएको थियो ।

तारजालीको छानविन गर्न प्रशासन शाखाका प्रमुख अनन्तप्रकाश वस्तीको संयोजकत्वमा आन्तरिक लेखा परीक्षक राजनकुमार भेटवाल र एक जना प्राविधिक सदस्यलाई जिम्मेवारी दिइएको थियो ।

नगरपालिकाले यसवर्ष थप रु. ९ लाख बराबरको तारजाली खरिद गर्ने निर्णय गरेको छ ।