२७ वैशाख २०८१, बिहिवार

साहित्यकार रसिक ‘सांसक पुरस्कार’बाट सम्मानित

२ असार २०८०, शनिवार
Image

झापा, २ असार । अग्रज साहित्यकार तथा संगीतकार गणेश रसिकलाई झापामा आज साहित्य, संस्कृति तथा कला (सासंक) पुरस्कारबाट सम्मानित गरिएको छ ।

सासंक प्रतिष्ठान झापाले नेपाली साहित्य, संगीत र कलाको उत्थानमा अतुलनीय योगदान पुर्याएवापत उहाँलाई रु. २५ हजार नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरेको छ ।

बिगतको जीवनका अनुभूति र समयको महिमा नै साहित्य भएको धारणा व्यक्त गर्दै सम्मानित साहित्यकार रसिकले अहिले लोकसंगीत खस्किदै गएकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले नयाँ पुस्ताका कलाकारलाई ध्रैर्य, खोज र गम्भीरताका साथ लोक भाका, लोक नृत्य र लोक बाजाहरुको संरक्षणमा जुट्न आह्वान गर्नुभयो ।

साहित्यकार एवम् इतिहासकार युद्धप्रसाद बैद्यले सम्मानित सर्जक गणेश रसिक बहुआयामिक व्यक्तित्वका धनी र मुलुकको भाषा, संस्कृति र साहित्यलाई अति माया गर्ने योद्धा भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा धुलाबारी माविको सभाहलमा भएको कार्यक्रममा अग्रज पत्रकार चन्द्र भण्डारीले पुरस्कृत व्यक्तित्वको कृतित्व र जीवनी प्रस्तुत गर्नुभएको थियो ।

भाषाविद् केदार शर्मा, साहित्यकार केशव आचार्य, प्राज्ञ सुभद्रा अर्याल, प्राज्ञ पवन राजबंशी, साहित्यकार मुनाराज शेर्मा, गायन आइडल सोनु खड्का लगायतका अतिथिहरुको सो अवसरमा उपस्थिति थियो । 

को हुन् रसिक 

इलामको सूर्योदयस्थित फिक्कल निवासी ७६ वर्षीय साहित्यकार गणेश रसिकको पूरा नाम गणेशकुमार राई हो । उहाँको जन्म वि.सं. २००४ असोज ४ गते भोजपुरको छिनामखु–५ नौला गाउँमा भएको थियो । पछि बसाई सरेर उहाँ इलाम आउनु भएको हो ।

इलाममा आएपछि विष्णु नविन लगायतका साहित्यकारको संगतमा रहेर उहाँ साहित्य र संगीतको साधनामा लाग्नु भएको अग्रज पत्रकार चन्द्र भण्डारी बताउनुहुन्छ । 

उहाँका दशगजामा उभिएर, छपक्कै मनमा बसेकाहरु, ताराभन्दा सपना धेरै, मुनिया र उसको छोरो, आकाशगंगाको ओतमुनि, पेरुंगो लगायतका कृतिहरु प्रकाशित छन् ।

संगीत क्षेत्रमा उहाँको योगदान रहेको छ । रत्न रेकर्डिङ, सांस्कृतिक संस्थान, साझा प्रकाशन लगायतका संस्थामा अध्यक्ष रहेर उहाँले मुलुकको संगीत र साहित्य क्षेत्रको जगेर्नामा योगदान पुर्याउनुभयो ।

वि.सं. २०३२ सालमा रेडियो नेपालबाट उत्कृष्ट गीतकारको रुपमा सम्मानित उहाँका ३०० भन्दा बढी आधुनिक, लोक, स्वदेश गान लगायतका गीतहरु रेकर्डिङ भइसकेको संगीतकार टिका भण्डारी बताउनुहुन्छ ।