२३ भदौ २०८१, आइतवार

बनिसक्नै लाग्यो हुलाकी सडकको विरिङ पुल

३ असार २०८०, आइतवार
Image

झापा, ३ असार । हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माणको काम ९८ प्रतिशत सकिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमागको विकल्पको रुपमा बनिरहेको सडकको सो पुल चालु आर्थिक बर्षको असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने योजनाका साथ काम गरिरहेको कार्यालयका इन्जिनियर प्रमोद खतिवडाले बताउनुभयो ।

वि.सं. २०६८ सालमै पुल निर्माण सुरु भएको हो । पुल निर्माण सुरुको १२ बर्षपछि बल्ल काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । सुरुमा ठेक्का लिएको ठेकेदार कम्पनीको लापारवाहीले पुल निर्माण ढिलो भएको उहाँको भनाई छ । उहाँका अनुसार दुईबर्ष अघि पुल निर्माणको काम पप्पु जेभीको पार्टनर महादेव खिम्तीले लिएको छ । 

उहाँले खोलामा पानीको वहाव छ महिनासम्म बढी हुने भएको कारण पुलको निर्माणमा ढिलाई भएको बताउनुभयो । “बर्षा सुरु हुने वित्तिकै खोलामा पानीको वहाब बढ्छ । नदीमा पानी बढी भएको बेला काम गर्न सकिदैन । बर्षमा छ महिनामात्र काम हुने हुँदा र ठेकेदारको ढिलासुस्तीले गर्दा झनै ढिलो भइरहेको छ ।”

इन्जिनियर खतिवडाले पुलको ९८ प्रतिशत काम सकिँदा भने वित्तीय प्रगति ७० प्रतिशत मात्र भएको बताउनुभयो ।  राष्ट्रिय गौरवको आयोजना भए तापनि आर्थिक स्रोतको सुनिश्चित नहुँदा वित्तीय प्रगति कम भएको हो । उहाँले रु. ३६ करोड बढीको लागतमा निर्माण भइरहेका पुलमाथि १९ वटा स्लाब लगाउनुपर्नेमा ११ वटा लगाइसकिएको र बाँकी आठ वटा लगाउने काम भइरहेको बताउनुभयो । 

“विगतको तुलनामा ठेकेदार कम्पनीको काम अलि स्लो भयो”, उहाँले भन्नुभयो, “सकेसम्म असारमसान्त नभए पनि भदौ असोजदेखि पुलमाथिबाटै सवारी कुद्ने वातावरण बन्छ ।” समयमै पुल नबन्दा प्रत्येक बर्ष बर्षातको समयमा स्थानीयवासीले बाँसको टाटीको अस्थायी पुल बनाएर खोलाबाट आवतजावत गर्र्दै आएका छन् । 

उहाँले सो सडकमा पर्ने कनकाई नदी र रतुवा खोलामा समेत पुल निर्माणको काम धमाधम भइरहेको बताउनुभयो ।  राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला साना नदी छन् । जसमध्ये कन्काई, विरिङ र रतुवा नदी बाहेक अन्यमा पुल निर्माणको कार्य सम्पन्न भइसकेको इन्जिनियर खतिवडाले जानकारी दिनुभयो ।