झापा, ५ असार । झापाको मेचीनगर–१२ धाइजनमा रहेको रितिका डेरी उद्योगले दुध उत्पादन गर्दै आएका झापा र इलामका किसानहरुलाई रु. ४७ लाख १८ हजार अनुदान रकम वितरण गरेको छ ।
दुध उत्पादन गरी डेरीलाई विक्री गर्दै आएका किसानलाई व्यावसायिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रति लिटर चार रुपैयाँका दरले तीन हजार ६०० घरधुरीलाई छ महिनाको अनुदान वितरण गरिएको उद्योगका सञ्चालक राजन चिमरियाले बताउनुभयो ।
उद्योगले चालू आर्थिक वर्ष २०७९/०८० को साउनदेखि पुससम्मको अवधिमा ग्रामीण किसान, सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म र दुग्ध उत्पादन समूहबाट २४ लाख लिटर दुध संकलन गरेको जनाएको छ ।
कोशी प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानका लागि प्रति लिटर दुई रुपैयाँ अनुदान उपलब्ध गराएको र त्यसमा उद्योगका तर्फबाट दुई रुपैयाँ थप गरी किसानको हातमा प्रति लिटर चार रुपैयाँ अनुदान पुर्याएको उद्योगका सञ्चालक चिमरियाले जानकारी दिनुभयो ।
“चालू आवको साउनदेखि पुससम्म छ महिनाको अनुदान वितरण गरेका छौं,” उहाँले अनुदान कार्यक्रम बारे जानकारी दिदै भन्नुभयो–“जेठ महिनाको दुध संकलन अभिलेख अद्यावधिक कार्य सकिनासाथ यसै महिनामा थप छ महिनाको अनुदान समेत किसानको हातमा पुर्याउँछौं ।”
दैनिक ३० हजार लिटरसम्म दुध संकलन गर्दै आएको रितिका डेरी उद्योगले झापा र इलामका किसानबाट दुध खरिद गर्दछ । संकलित दुधलाई अत्याधुनिक प्रविधिमार्फत प्रशोधन गरी झापा, इलाम, सुनसरी, मोरङ लगायत कोशी प्रदेशका विभिन्न जिल्लामा विक्री वितरण गर्दै आएको छ ।
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले किसानले उत्पादन गर्ने दुधको आधारमा अनुदान दिइँदा वास्तविक किसान लाभान्वित भएको धारणा व्यक्त गर्दै किसानको हितमा कुनै कार्यक्रम नआएको बेला गोठगोठमै पुगेर साना किसानलाई अनुदान वितरण हुनु उदाहरणीय कार्य भएको बताउनुभयो ।
दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहन स्वरुप कोशी प्रदेश सरकारले चालू आवमा यो कार्यक्रम ल्याएको हो । प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापामार्फत दुध उत्पादक किसानहरुको विवरण प्रमाणित गरेपछि अनुदान रकम निकासा गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईले जानकारी दिनुभयो ।
झापामा धेरै डेरी उद्योग सञ्चालनमा भए तापनि रितिका डेरी उद्योगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा र कोशी प्रदेश सरकारसँग समन्वय गरेर किसानलाई अनुदान वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।
दुध उत्पादक किसान योगेन्द्र खनालले गाई पालेर दुध बेच्दा पनि यसरी अनुदान पाइन्छ भन्ने कुरा किसानहरुको कल्पना बाहिरको विषय भएको जनाउँदै निर्वाहमुखी पशुपालन गर्दै आएका आम किसानहरु हातहातै अनुदान पाउँदा व्यावसायिकतातर्फ अग्रसर बन्ने धारणा व्यक्त गर्नुभयो ।