२३ भदौ २०८१, आइतवार

स्पीड स्लो भए पैसा फिर्ता दिने वल्र्डलिंकको घोषणा

७ असार २०८०, बिहिवार
Image

झापा, ७ असार । वल्र्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले इन्टरनेटको गति कम भए पैसा फिर्ता गर्नेसम्मको सुविधा ल्याएको हो ।

आफ्ना ग्राहकहरूलाई अब इन्टरनेटको गति स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार अहिले वल्र्डलिंकका ७ लाख ८० हजार ग्राहक छन् । ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताले कुनै थप शुल्कविना नै यो सेवा पाउने जानकारी गराइन्छ । 

हाललाई यीबाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरूलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुने छैन भने यदि उनीहरूले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकको इन्टरनेट गति कम हुनेवित्तिकै रकम फिर्ता पाइहाल्ने नभई स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पीड स्लो भएको फोन मार्फत, शाखा कार्यालय, वा अनलाइन सेवाबाट जानकारी गराउनु पर्नेछ ।

वल्र्डलिंकले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहकको ठेगानामा इन्टरनेट स्पीड चेक गर्न पठाउनेछ, कारण पत्ता लगाइ समाधान गर्नेछ । तर, समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधाअन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ ।

रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकममात्र फिर्ता पाउने व्यवस्था गरेको छ । उदाहरणको लागि ९० दिनको प्याकेज लिएका ग्राहकले २५ दिन उपभोग गरिसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछन् ।

इन्टरनेट स्पीड स्लो भएको ग्राहकहरूले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधाअन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन् । यदि इन्टरनेट स्पीड स्लो हुँदा वल्र्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागु हुनेछ ।

वल्र्डलिंकले देशभरका मुख्य शहरहरूमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागू हुने जनाएको छ । जसमध्ये ५१ वटा शाखाका ग्राहकहरूले यो सुविधाको फाइदा लिन सक्नेछन् । २७ वर्षदेखि आफ्नो उपस्थिति जनाएको वल्र्डलिंकको पहुँच ७४ जिल्ला पुगेको कम्पनीले बताएको छ ।