४ जेठ २०८१, शुक्रवार

हस्तान्तरण लगत्तै अस्पताल भवनमा चुहियो पानी

८ असार २०८०, शुक्रवार
Image

झापा, ८ असार । प्रादेशिक अस्पताल भद्रपुरको रु. २७ करोडको लागतमा नवनिर्मित भवन हस्तान्तरण भएको एक सातापछि नै छतबाट सघन उपचार कक्ष (आइसीयु)मा बर्खाको पानी चुहिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले वि.सं. २०८० जेठ २२ गते सो भवन प्रादेशिक अस्पताललाई विधिवत् हस्तान्तरण गरेको थियो । हस्तान्तरण लगत्तै बर्खाको पहिलो झरीमै भवनको आइसीयु कक्षमा पानी चुहिएको अस्पतालका कामु मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु खड्काले बताउनुभयो ।

अस्पतालका तर्फबाट कामु मेडिकल सुपरिन्टेन्डेन्ट डा. खड्का र अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले संयुक्त विज्ञप्ति जारी गर्दै आइसीयु कक्षमा पानी चुहिएको र भवनको निर्माणमा थुप्रै प्राविधिक त्रुटी भेटिएको सार्वजनिक गर्नुभएको छ ।

“असारको पहिलो हप्ता परेको अबिरल वर्षाको बेला उक्त भवनबाट पानी रसाएर चुहिएको, आइसीयु कक्षमै छतबाट पानी चुहिएको देखिन आएको, छानाको फाइबर कमसल देखिएको, तीन वटा सेक्सनको छानाको जडानमा पानी चुहिएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ–“भवनको निर्माण क्रममा देखिएका त्रुटीहरु र प्राविधिकहरुको संलग्नता सम्बन्धमा छानविन गरी किन र कसरी यस्तो परिस्थिति सिर्जना भयो ? अबिलम्ब जाँच गर्न नेपाल सरकारको सहरी विकास मन्त्रालय र सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।”

हस्तान्तरणपछि सो भवनको उद्घाटन गर्ने तयारी भइरहेको थियो । तर, प्राविधिक त्रुटीको निवारण नभएसम्म भवनमा सेवा सञ्चालन गर्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । भवनको उद्घाटन पनि अनिश्चित भएको छ ।

भवनको निर्माण कार्यको प्रत्यक्ष रेखदेख र गुणस्तर निगरानी कार्यको जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले गरेको थियो । आयोजनाका प्रमुख ई. रुपक आचार्यले अस्पतालको भवनमा प्राविधिक त्रुटी भेटिएको स्वीकार गर्दै त्यसको निवारणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

उहाँका अनुसार गुनासो आएलगत्तै भवनको अनुगमन गर्दा आईसीयु ब्लक र अर्को एउटा ब्लकमा समेत पानी रसाएर चुहिएको पाइएको बताउनुभयो । पानी चुहिएको ब्लकको निर्माण दुई वर्ष अघि नै सकिएको र बिगतका दुई बर्खामा त्यहाँबाट पानी नचुहिएको उहाँले दावी गर्नुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका तर्फबाट निर्माण कम्पनीलाई प्राविधिक त्रुटी भेटिएको बारे लिखित प्रष्टिकरण सोध्ने कार्य भइसकेको र त्रुटी निवारण नभएसम्म भुक्तानी रोक्ने निर्णय गरिएको आयोजना प्रमुख आचार्यले जानकारी दिनुभयो । आयोजनाले निर्माण कम्पनीलाई १५ दिनभित्र स्टक्चरल इन्जिनियरिङ प्रतिवेदनसहित जवाफ पेश गर्न भनेको छ ।

“पोहोर र परार नचुहिएको ब्लकमा यसपाली बर्खामा पानी चुहिएको रहेछ,” ई. आचार्यले समस्या देखिएको साँचो भएको बताउँदै भन्नुभयो–“आइसीयु ब्लक, अर्को ब्लकमा पानी रसाएको हो । सामग्री कमसल बारे ल्याब टेस्ट नगरी भन्न सकिन्न । निर्माण कम्पनीलाई किन कार्वाही नगर्ने भन्ने प्रश्न गरेर पत्राचार गरिसकेका छौं ।” 

भवनको केही झ्याल ढोका कमजोर देखिएको, जालीखापा उप्किएको, ट्वाइलेटका धारा र सेपरेटरहरु हल्लिएको पाइएको उहाँले जानकारी दिनुभयो । उहाँले निर्माण कम्पनीलाई लेखेको स्पष्टिकरण बारे जानकारी दिदै भन्नुभयो–“भवनको आयु अवधिभरि कुनै डिफेक्ट नआउने ग्यारेन्टी चाहियो भनेर पत्र लेखेका छौं । अब त्रुटी नआउने गरी मर्मत सम्भार कसरी गर्नुहुन्छ भने सोधेका छौं ।”

निर्माणका कम्पनीले भवन निर्माणको ठेक्का बमोजिमको भुक्तानी भने लगिसकेको छ । कम्पनीले धरौटी वापत राखेको रु. डेढ करोड र परफरमेन्स बन्डवापत जम्मा गरेको रु. डेढ करोड गरी कूल रु. तीन करोड रकम आयोजनाको बैंक खातामा रहेको छ । आयोजनाले सो रकमको भुक्तानी रोक्काका लागि बैंकसँग पत्राचार गरिसकेको छ ।  

काठमाडौंको कन्टेन्ट प्रालिले रु. २२ करोडको लागतमा अस्पताल भवन निर्माण गर्नेगरी वि.सं. २०७४ मंसिर १० गते ठेक्का सम्झौता गरेको थियो । कोरोना महामारीका कारण लागत बढेर निर्धारित अवधिभन्दा केही ढिलोगरी वि.सं. २०७९ असोजमा रु. २७ करोडमा भवनको निर्माण कार्य सम्पन्न भएको थियो । 

वि.सं. २०१५ सालमा बनेको २५ शैयाको अस्पतालको पुरानो भवन जीर्ण र साँघुरो भएपछि आधुनिक र सुविधासम्पन्न भवन निर्माणको कार्य अघि बढाइएको हो । यसको पहिलेको नाम मेची अञ्चल अस्पताल थियो । अहिले यसको नाम फेरिएर प्रादेशिक अस्पताल बनेको छ ।

वि.सं. २०३४ सालमै यो यसको शैया ५० थियो भने अहिले ११८ शैया पुगिसकेको छ । कोशी प्रदेशको दोस्रो ठूलो सरकारी स्वास्थ्य सेवाप्रदायक अस्पतालको रुपमा परिचित यो अस्पताल भद्रपुर नगरपालिका वडा नं. ८ को १२ बिगाहा सात कठ्ठामा फैलिएको छ । प्रदेश सरकारले शैया बढाएर २०० पुर्याउने घोषणा गरिसकेको छ । अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नति गर्ने प्रस्ताव समेत गरिएको छ ।

नवनिर्मित अस्पताल भवन दुई तलाको छ । जसमा छ वटा ब्लक, दुई वटा लिफ्ट, चारवटा सार्वजनिक शौचालय, ५०० केभीएको ब्याकअप जेनेरेटर र पाँच वटा अपरेसन थिएटर छन् ।

नयाँ भवनको हरेक शैया र अपरेसन थिएटरमा पाइपलाइनबाट अक्सिजन आपूर्तिको व्यवस्था मिलाइएको छ । यसअघि पुरानो भवनमा पाइपलाइन नहुँदा सिलिन्डरबाट अक्सिजन आपूर्ति गरिन्थ्यो ।

अस्पतालको कर्मचारी संरचना अन्तर्गत हाल सरकारी, गैरसरकारी र विकास समिति अन्तर्गत २३९ जना कर्मचारीको दरबन्दी देखिन्छ । जसमा मेडिकल सुपरिन्टेन्डेन्टसहित २४ जना कन्सल्टेन्ट चिकित्सक, १५ जना मेडिकल अफिसर, ७७ जना नर्सिङ तथा पारामेडिक्स, २० जना ल्याब कर्मचारी, ५ जना रेडियोलोजिस्ट, १५ जना स्वीपर, १५ जना सुरक्षा गार्ड, ४१ जना कार्यालय सहयोगीलगायत रहेका छन् ।

अस्पतालका सूचना अधिकारी मनोज पोखरेलका अनुसार दैनिक औसत ९०० जना विरामीले अस्पतालको ओपीडी सेवा लिने र इमर्जेन्सीमा ५० जना भन्दा धेरै भर्ना हुने गरेको बताउनुभयो । अस्पतालमा आएका सेवाग्राहीमध्ये ७० प्रतिशतले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार गराउँदै आएका छन् ।

अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट, १३ वटा मिर्गौला डायलासिस मेसिन, तीन वटा आइसीयु र २५ जटा एचडीयु मेसिन सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । सीटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपीलगायतका सेवा अस्पतालमा उपलब्ध रहेको छ । नयाँ भवनमा आइसीयुको १५ वटा शैया, अपरेसन थिएटर चार वटा र २५ वटा पोस्ट अपरेटिभ शैया रहने उहाँले बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।