१ असोज २०८१, मङ्गलवार

एसियन प्लाइउड उद्योगमा भारतीय मजदुर मृत फेला

१० असार २०८०, आइतवार
Image

चन्द्रगढी, १० असार । भद्रपुर–८ स्थित जनता चोक छेउ रहेको एसियन प्लाइउड उद्योग (अन्नपूर्ण प्लाई) मा एक भारतीय मजदुर मृत अवस्थामा फेला परेका छन्। भारत किसनगञ्ज जिल्ला गलगलिया– ३ भादगाउँ निवासी ५३ वर्षीय मोहम्मद हफिज उदीन मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी विगत पाँच वर्षदेखि एसियन प्लाइउड उद्योगमा कार्यरत थिए। शुक्रबार राती अबेरसम्म काम गरेर उद्योगभित्र रहेको कोठामा उनी सुत्न गएका थिए।

शनिबार दिउँसो ३ बजेसम्म घर नगएपछि उनका छोरा मोहम्मद सबिर बुबालाई खोज्न उद्योग पुगेका थिए। उद्योगको कोठामा गएर हेर्दा ओछ्यानमा सुतेको अवस्थामा बुबा मृत देखेपछि उनले तत्काल सबैलाई जानकारी गराएका थिए।

त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीसहितको टोली तत्काल घटनास्थल पुगेका थिए। शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

उद्योगको कोठाभित्र मजदुर मृत भेटिए पनि उद्योग सञ्चालक र व्यवस्थापन पक्षले थाहा नपाउनु घटनाले मजदुर पक्षका आफन्तजन आक्रोशित बनेका थिए। उद्योग सञ्चालक र व्यवस्थापन पक्षको लापरबाहीका कारण मजदुर उदीनको मृत्यु भएको आफन्तजनहरूको भनाई छ। घटनाको बारेमा छानबिन गर्न उनीहरूले प्रहरीसँग माग समेत गरेका छन्।