१२ साउन २०८१, शनिवार

विश्वप्रकाश भन्छन्–‘फाइल बोकेर सिंहदरबार चहार्न तयार छु’

११ असार २०८०, सोमवार
Image

मेचीनगर, ११ असार । प्रतिनिधिसभा सदस्य तथा नेपाली काँंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगरको विकासका लागि आफु फाइल बोकेर सिंहदरबार चहार्न तयार रहेको बताउनुभएको  छ ।

आइतवार मेचीनगर नगरपालिकाको नगरसभा अधिवेशनको उद्घाटन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।

चुनाव जित्ने र हार्ने खेल, राजनीतिक प्रतिष्पर्धा र मतभेदभन्दा माथि उठेर हरेक जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो–‘यसले र उसले गर्छ भनेर काम पन्छाउने प्रवृत्ति राम्रो होइन । संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मिलेर मेचीनगरको विकास सम्भव हुन्छ । फुटेर र एकले अर्कोलाई देखाएर हुँदैन ।’

मेचीनगर नगरपालिकाले यसपाली ल्याएको वार्षिक नीति तथा कार्यक्रम राम्रो भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो । स्थानीय तहमा पाँच वर्ष कोही पनि जनप्रतिनिधि नफेरिने भएको हुँदा दलहरुले खोट देखाएर पन्छिन नहुने सुझाव राख्दै उहाँले सबै मिलेर नगरको विकास समयमै गर्न पर्ने बताउनुभयो ।

विकासका लागि २०८४ को निर्वाचन पर्खिने सोच गलत भएको उल्लेख गर्दै अहिलेकै जनप्रतिनिधिलाई सघाएर बेलैमा विकास नगरे जनताले दण्डित गर्ने उहाँको धारणा थियो ।

चुनावका बेला यो पार्टी र त्यो पार्टी भनेर विभाजित हुनु स्वाभाविक भए तापनि चुनावपछि सबै दल र नगरबासी नगरको विकासका लागि नगरका निर्वाचित जनप्रतिनिधिसँगै हातेमालो गरेर अघि बढ्नु पर्ने उहाँले सुझाव राख्नु भयो ।

आफुले वडाध्यक्षदेखि नगरको मेयर र उपमेयर मात्र नभएर प्रदेशका सांसद्हरुलाई समेत एकजुट गराएर बजेट आउनु अघि काठमाडौंमा विभिन्न मन्त्रालयमा बैठक गराएकोे स्मरण गर्दै सांसद् शर्माले भन्नुभयो–‘विकासका लागि सबै हातेमालो गरौं । म फाइल बोकेर सिंहदरबारको कोठा कोठा चहार्न तयार छु ।’

नगरसभाको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य गोपाल तामाङ र सबिना बजगाईले पनि विकासका हातेमालो आवश्यक रहेको बताउनु भएको थियो । उहाँहरु दुबैले नगर नेतृत्वले प्रदेश सांसदहरुसँग विकास निर्माणका विषयमा सल्लाह नगरेको गुनासो व्यक्त गर्नु भएको थियो ।